इतिहास पुरुषको अवसान

2
1530

बिर्तामोड।

झापा बिर्तामोडका पुरानावासिन्दा तथा सामाजिक कार्यकर्ता टुङ्गबहादुर बस्नेतको निधन भएको छ । बिगत तीन हप्तादेखि अस्वस्थ भई उपचाररत् बस्नेतको शुक्रवार विहानको राति १२ः५० बजे निधन भएको हो ।

इलाम जिल्ला साँखेजुङमा वि.सं. १९८० भदौ राधाअष्टमीमा धनमाया र धनराज बस्नेतका कान्छा पुत्ररत्नका रुपमा जन्मिएका बस्नेतले प्रारम्भिक शिक्षा नेत्रहीन विद्वान गुरु पण्डित ब्रम्हलाल पौडेलबाट ग्रहण गरेका थिए ।

ऐन स्रेस्ता राइटर हरिभक्त खत्रीबाट पढेका बस्नेतले भारतीय शिक्षकबाट अंंग्रेजी र गणितको अनौपचारिक पढाई गरेका थिए । उनले बुबाको प्रेरणाबाट गाउँका समकालीन साथीहरुसँग बसेर इलामको पाठशालामा र पछि पदमबहादुर देवानहरुल स्थापना गरेको निजी विद्यालयमा कक्षा ६ सम्म अध्ययन गरेका थिए ।

त्यही समय ११ वर्षको उमेरमा वि.सं. १९९१ मा पुवामझुवा इलामकी पूर्णकुमारी चम्लागाँई खत्रीसँग उनको विवाह भएको थियो । ६ जना दाजुभाइ र ६ जना दिदीबहिनी भएको उनको संयुक्त परिवारमा विवाह पछि पढाइ रोकियो । बुबाको रक्सेमा भएको पसलमा बसेर आर्थिक कारोबारको शिक्षा लिएका बस्नेतको राजनीतिक चेतना नरेन्द्रनाथ बाँस्तोलासँगको निकटताबाट जागृत भयो । त्यसकै परिणाम वि.सं. २००७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका बस्नेत राणा विरोधी र प्रजातान्त्रिक आन्दोलनमा होमिए । १६÷१७ वर्षकै उमेरमा कांग्रेसको सिपाही भएर पर्चा पम्प्लेट बाँड्ने र संगठन विस्तार गर्न सक्रिय भए उनी ।

राजनीतिक सहयात्री दलकृष्ण श्रेष्ठ, पूर्णलाल श्रेष्ठ पक्राउ परे पनि संगठनमा क्रियाशील उनी आफू पटकपटक पक्राउ परे । कठोर जेल यातना खपे तर पनि प्रजातन्त्रको पक्षमा किञ्चित सम्झौता गरेनन् । ००७ सालको सशस्त्र आन्दोलनदेखि भद्रअवज्ञा आन्दोलन सम्म र त्यसपछि वीपी कोइरालाको स्वदेश फिर्तीदेखि ०३६ र ०४६ सालको जनआन्दोलनमा समेत उनी समानरुपले संघर्षरत् रहे । ०१५ सालको पहिलो आमनिर्वाचनका समयमा पूर्वी पहाडी जिल्लाका ग्रामीण क्षेत्रहरुमा वीपीलाई परिचित गराएका बस्नेत २०१९ सालमा पक्राउ परे ।

सरकारको गाथगाधी ताकेको आरोप लागेका उनलाई ट्रिव्युनलमा उपस्थित गराइयो । उनीसँगै पक्राउ परेका उनका भतिज गंगाबहादु बस्नेत, ज्ञानीराम भट्टराई, बाजवर्ण कटुवाल मध्ये भट्टराई कागजपछि छुटे भने बाँकी जेल पठाइए । जेलमा पनि हतकडी लगाएका उनीहरुसँग झापाबाट पक्राउ परेका समेत ५० जनाभन्दा बढी क्रान्तिकारी युवाहरु थिए ।

वि.स. ०२८ सालको झापा काण्डमा निर्दोष, निहत्था मारिएका घटनालाई अत्यन्त दुःखद ठान्ने बस्नेत त्यसपछि पनि नेपाली कांग्रेसबाट कहिल्यै विरत् भएनन् । ०३२ सालको मेलमिलापको नीति अनुरुप वीपीको स्वदेश आगमन होस् वा ०३३ सालदेखि शुरु गरेको प्रजातान्त्रिक आन्दोलन उनी जनचेतना जागरणमै क्रियाशील रहे । त्यसैले २०३६ सालमा जनमत संग्रहसम्म पु¥यायो देशलाई र पराजयले कमजोर र छिन्नभिन्न पनि बनाएको नमीठो सम्झना थियो बस्नेतसँग ।

दाजुभाइका बीचको एकताका कारण परिवार संगठित भएको ठान्ने बस्नेत परिवार, मावली हजुरबुबा लप्टन खड्गबहादुर भट्टराईको प्रत्यक्ष निगरानीमा सुरक्षित रहेको बताउँथे ।

बाबुसँगै झापासँग जोडिन पुगेका उनी पछिल्लो समयम मूलतः झापालीका रुपमा चिनिए । झापाका अनेक सामाजिक संघसंस्थासँग जोडिएका बस्नेतले थुप्रै मठमन्दिर, देवालय, शिक्षालय र धार्मिक संस्थाहरुमा सहयोग गरेका छन् ।
सचेत र जागरुक परिवारको रुपमा पहिचान बनाएका उनका तीन छोरा बुहारीहरु गोपालकुमार–रमा बस्नेत, श्यामकुमार –लीलादेवी बस्नेत र जीतेन्द्र–सुलोचना बस्नेत रहेका छन् ।

त्यस्तै चार छोरीहरु शान्ता शिवाकोटी, पवित्रा खड्का, अमृता थापा र सरिता खत्री रहेका छन् । उनकै नाममा स्थापित बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटल र उनको संरक्षकत्वमा बाल्मीकि एजुकेशन फाउण्डेशन र ग्रिन फिल्ड स्कूल लगायत व्यापारिक प्रतिष्ठानहरु सञ्चालित छन् ।

वि.सं. २०६४ सालमा अर्धाङ्गिनी पूर्णकुमारीलाई गुमाएका उनको बिर्ता सिटी हस्पिटलमा उपचारका क्रममा ९७ वर्षको संघारमा निधन भएको हो । उनका ज्वाँइहरु संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, टेकबहादुर कार्की, धर्म खड्का र रमेश थापा रहेका छन् ।

त्यस्तै स्व. बस्नेतका २० नातिनातिना र १७ पनातिपनातिना रहेका छन् । इतिहास पुरुषका रुपमा रहेका स्व. बस्नेतको शुक्रवार नै पवित्र कनकाई नदीमा अन्त्येष्टी गरिएको थियो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here