भद्रपुर।
जग्गा कारोबारीको निजी स्वार्थले भद्रपुर नगरपालिका क्षेत्रमा ‘धान सुपर जोन’ कार्यक्रमलाई प्रभावित पार्ने चलखेल शुरु भएको छ ।
भद्रपुर नगरपालिकाले वडा नम्बर ४ र ६ लाई धान सुपर जोन क्षेत्र विस्तार गर्ने निर्णय गरेसँगै जग्गा कारोबारीले स्वार्थ पूरा गर्न केही समूहले जग्गाधनी र कृषकलाई उचालेर नगरको दुई वडामा धान सुपर जोन कार्यक्रम लागू हुन नदिने चलखेलमा लागीपारेको खुलेको हो ।
मेची पुल जोड्ने हुलाकी राजमार्ग र मेची राजमार्गको चारआली–केचना सडकखण्ड छोएको वडा नम्बर ४ र ६मा धान सुपर जोन कार्यक्रम लागू भएपछि लाखौँ मूल्यमा बिक्री हुने जमिन बेचबिखन गर्न नपाइने हल्ला फैलाएर जग्गाधनीलाई उचालेको स्थानीयवासी बताउँछन् । हुलाकी र मेची राजमार्ग जोडिएको झापा चोक वरिपरि भद्रपुरका ठूला उद्योगी र व्यापारीको जमिन छ । सो क्षेत्र धान सुपर जोन घोषित भएपछि आफ्नो जमिन प्लटिङ गरेर बेचबिखन गर्न नपाइने भएपछि त्यहींबाटै विरोध शुरु भएको हुनसक्ने स्रोतको दाबी छ ।
भद्रपुर–४का स्थानीय हेमलाल भट्टराईका अनुसार सयपत्री भूमिगत जल उपभोक्ता समिति भद्रपुरले वडा नम्बर–४मा धान सुपर जोन कार्यक्रम लागू गर्नुपर्छ भनी भदौ २३ गते ४ नम्बर वडा कार्यालयमा भएको बैठककै निर्णय अनुसार सिफारिस गरेको हो । समितिका कोषाध्यक्ष समेत रहेका भट्टराईले भने– ‘४ नम्बर वडामा धान सुपर जोन कार्यक्रम रोक्ने मेरो उद्देश्य होइन, यो कार्यक्रम यसै वडामा लागू हुनुपर्छ ।’
‘वडा कार्यालयले नगरपालिकालाई सिफारिस गर्नुअघि यस क्षेत्रका कृषक तथा जग्गाधनीसँग छलफल गरेर अघि बढेको भए न वडा कार्यालयमा उजुरी पथ्र्यो, न त अहिले यस्तो विवाद उत्पन्न हुन्थ्यो’– उनले थपे । व्यक्तिगत रिसइवी र केही समूहले जमिन बिक्री नहुने हल्ला फैलाएर धान सुपर जोन कार्यक्रम सार्न खोजिएको उनले बताए । ‘झापाचोकमा भद्रपुरकै ठूला उद्योगी र व्यापारीको सयौँ विगाह जमिन रहेकोले समस्या ल्याउन खोजिएको हो’– उनले भने– ‘यसले गर्दा जो किसान हो, त्यसले राज्यको सुविधा पाउनबाट बञ्चित हुनुपर्छ ।’
सुपरजोनमा असहमति जनाउदै वडा कार्यालयमा निवेदन
४ र ६ वडा नम्बरमा धान सुपर जोन कार्यक्रम लागू हुने भएपछि जग्गाधनीहरूले दुई वटै वडा कार्यालयमा कार्यक्रम रोक्न माग गर्दै निवेदन दिएका छन् । उनीहरुले सुपर कृषि जोन योजनामा सहमति नभएको भन्दै १२९ जनाले हस्ताक्षर गरेको निवेदन भदौ ३० गते वडा कार्यालयमा बुझाएका थिए ।
जग्गाधनीहरूको स्वीकृति बेगर वडा नं. ४का मेहरमान विष्टको अध्यक्षतामा सुपर कृषि जोन योजना बनाउने प्रपञ्च गरेको स्रोतले दावी गरेको छ । नगरवासीलाई औद्योगिक क्षेत्र वा नगर विकास योजना बनाउनुपर्नेमा पिछडिएको वर्ग बनाउने र अँध्यारोमा पार्ने नियत गरी पैसा कमाउने नियत गरेको स्रोतले आरोप लगाएको छ । वडा नम्बर ४ को वडा कार्यालय पूर्व उत्तर झापाचोकदेखि पश्चिम दक्षिण झिलमिलिया खोलादेखि पश्चिम बद्री वस्तीदेखि उत्तर वडा नम्बर ६को पुरै भागभित्र उक्त योजना नपरोस् भनी जग्गाधनीहरूले संयुक्त निवेदन दिएको बताइएको छ ।
यता उद्योगी यमबहादुर श्रेष्ठले मेची तथा हुलाकी राजमार्ग जोड्ने ४ र ६ नम्बर वडामा औद्योगिक तथा व्यापारिक क्षेत्र विस्तार गर्नुपर्ने भन्दै धान सुपर जोन कार्यक्रमको कुनै औचित्य नभएको बताएका छन् । नगरपालिकाले गरेको निर्णय खारेजीको माग राख्दै उनले भने– ‘धान सुपर जोन कार्यक्रम सरकारले लागू गरे पनि धान खरिद बिक्री केन्द्र सरकारले नबनाउञ्जेल कृषक र उद्योगी दुवै मारमा परेका छन् ।’
यस्तो छ नगरपालिकाको निर्णय
सरकार झापाको कचनकवल गाउँपालिकाबाट शुरु गरेको धान सुपर जोन क्षेत्रलाई यही चालू आर्थिक वर्ष २०७६÷०७७ देखि जिल्लाका १५ वटै स्थानीय तहमा विस्तार गर्ने योजनाका साथ अघि बढेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई झापाले धान सुपर जोनलाई जिल्ला व्यापी विस्तार गर्न सम्बन्धित पालिकाहरूलाई पकेट क्षेत्र निर्धारण गरिदिन पत्राचार गरिसकेको छ । परियोजना कार्यान्वयन इकाई झापाले पठाएको पत्रको आधारमा भद्रपुर नगरपालिकाले नगरको १० वटा वडामध्ये ४ र ६ नम्बर वडामा धान सुपर जोन क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो ।
आर्थिक विकास समितिका संयोजक विभाग पासवानको अध्यक्षतामा बसेको बैठकले यस्तो सो निर्णय गरेको थियो । परियोजना कार्यान्वयन इकाई झापाको पत्र अनुसार नगरपालिकाबाट पनि बढीमा २०० हेक्टर क्षेत्रफलको क्लस्टर निर्माण गरी पठाउने निर्णय गर्दै नगरपालिकाले चार किल्ला तोक्दै पूर्वतर्फ अपाङ्ग संघको कार्यालय, पोखरी डाँडादेखि श्रीजंगा हाटबजारसम्म, पश्चिमतर्फ माझी टोल, मावोचोक, करेला चोक, फागोचोक, मायालु वन हुँदै रंगियाडाँडासम्म, उत्तरतर्फ मन्त्रीचोकदेखि कैलाशेश्वर मन्दिर, मोतीयाबाडी, जगदम्बा, झापाचोकको पेट्रोल पम्पसम्म र दक्षिणतर्फ श्रीजंगा हाटबजारको उत्तरी भाग क्षेत्र कायम गरेको छ । साथै नगरपालिकाले मेची लोकमार्ग, हुलाकी राजमार्ग आसपासका आवास क्षेत्र बाहेक र राष्ट्रिय आवास कम्पनीको आवास क्षेत्र बाहेकका क्षेत्रलाई सुपर जोन बनाइने निर्णयमै उल्लेख छ ।
के भन्छन् जनप्रतिनिधि ?
नगरपालिकाले दुई वटा वडामा धान सुपर जोन कार्यक्रम लागू गर्ने भदौ २४ गते निर्णय गरेको ४ नम्बर वडाध्यक्ष हंशधर राजवंशीले बताए ।
उनका अनुसार सोही निर्णय बमोजिम वडा समितिको बैठकले भदौ २५ गते सयपत्री भूमिगत जल उपभोक्ता समिति अन्तर्गत खेती प्रणाली एवम् विकासका लागि धान सुपर जोन वा पकेट क्षेत्रको लागि धनीपूर्जा संकलन कार्य तथा सम्बन्धित निकायहरूमा विकास, सहभागिताका लागि समितिका कोषाध्यक्ष हेमलाल भट्टराईलाई प्रतिनिधित्व गर्न बैठकले भद्रपुर नगरपालिकालाई सिफारिस गरेको थियो । वडा कार्यालयले नगरपालिकालाई धनीपूर्जा सङ्कलनका लागि सिफारिस गरेसँगै स्थानीय जग्गाधनीले भदौ ३० गते वडा कार्यालयमा निवेदन दर्ता गराएकोले सुपर जोन कार्यक्रम विवादित बन्न पुगेको वडाध्यक्ष राजवंशीले बताए ।
यस विषयमा वडा कार्यालयले तोकेको प्रतिनिधिले समेत विरोध जनाएपछि विवाद बल्झिएको बताउँदै उनले भने– ‘धान सुपर जोनले जनप्रतिनिधि र स्थानीय जग्गाधनीबीच विवाद खडा गरेकोले यस विषयमा परियोजना कार्यान्वयन इकाई झापाकै प्रतिनिधि आएर नीति र नियमको बारेमा प्रष्ट्याउनु पर्छ ।’
‘सुपर जोन वडामा लागू भए यहाँकै कृषकलाई फाइदा पुग्ने बताउँदै उनले भने– ‘वडाबाट केही गल्ती भएको छैन, निर्णय नगरपालिकाले गरेको हो, यहाँका जग्गाधनी र जनप्रतिनिधिबीच असमझदारी हुँदा समस्या देखिएको हो ।’ विवाद उत्पन्न भए पनि तत्काललाई धान सुपर जोन कार्यक्रम वडामा सञ्चालन नगर्ने भनी वडाले असोज ५ गते निर्णय गरेको उनले बताए ।