मुखाले नेता, आक्रामक कार्यकर्ता र लोकतन्त्र

0
646

चिन्तामणि दाहाल,

शीर्षक पुष्टि :
लोकतान्त्रिक गणतन्त्रकालमा नेताहरु मुखाले हुन थालेका छन् । त्यसमाथि कम्युनिष्ट नामधारी केही नेताहरु भने औधी मुखाले भएका छन् । हुन त, पंक्तिकार पढ्दाताकाका बाम विद्यार्थी नेताहरु पनि मुखाले र छुच्चा कुरा गर्थे । विपक्षीलाई दुश्मन भन्थे र पाँडे गाली गर्थे । तिनैमध्ये अहिले कम्युनिष्टका ठूला नेता भएका हुन् ।

केही नेता मुखाले भएका छन् भने तिनै नेतालाई पछ्याउने कार्यकर्ता आक्रामक भएका छन् । कार्यकर्ताहरु भौतिक आक्रमणमै उत्रिएपछि भने पंक्तिकारलाई केही लेख्न मन लाग्यो । लोकतन्त्रमा केही मुखाले हुन र छुच्चो हुन छुट छ होला । तर, पाँडे गाली गलौज र भौतिक आक्रमण गर्न छुट हुँदैन । तर, आक्रमणकारीहरु कारवाहीमा नपरेको घटनाले लोकतन्त्र धरापमा पर्न थालेको आभाष भएको छ ।

मुखाले नेता :

मुखाले नेताका रुपमा पहिल्यैदेखि नाम कमाएका हुन् ओलीजी । उनी उखान टुक्काको प्रयोग गरेर विपक्षीलाई छुच्चा शब्दले रिस उठ्ने गरी खाडलमै भसाई दिने हिसाबले गाली गर्छन् । उनी आफैं भौतिक आक्रमण गर्दैनन् । तर, कार्यकर्तालाई आक्रमण गर्न उक्साउँछन् । संरक्षण हुने विश्वास पाएपछि कार्यकर्ता पनि आक्रामक हुन्छन् । कहिले अरिंगाल भएर जाइलाग्न उक्साउँछन् भने कहिले के ।

तिखो टिप्पणी छुच्चो बोलीले गर्दा कहिलेकाहीँ लाग्छ उनी प्रधानमन्त्री हुन् कि गाली र टुक्काका पुञ्ज हुन् भनी छुट्याउन पनि मुश्किल हुन्छ । हरेक भाषणमा उनको अहम् उद्घाटित भएको लाग्छ । दुईतिहाईको दम्भले त्यस्ता शब्द बाण उनको मुखारविन्दमा आएका होलान् ।

के बुझेका छैनन् जस्तो लाग्छ भने त्यसरी नै विपक्षीलाई खुलेआम हरुवाहरु, हरुवाको छेर्ने बानी भनेर गाली गरेकै कारण प्रचण्डले पहिलो संविधानसभामा ल्याएको धेरै सिट दोश्रो चुनावमा घटेर तेश्रो स्थानमा पुग्नु परेको थियो ।

त्यस्तै अर्का नेता प्रचण्डले दोश्रो संविधानसभामा पराजित भएर खुम्चिएपछि गालीका शब्द घटाउन थाले पनि ओलीजीको संगत बढेर उनी पनि विपक्षीलाई दुश्मन झैं गाली गरेर कार्यकर्ता उक्साउन थाले । पछिल्लो उनको भाषणमा उनले कार्यकर्तालाई सिंह झैं गर्जन लिएर मैदानमा उत्रन उक्साएका छन् ।

अर्का साना नेता सरकारका प्रबक्ता पनि भएका बास्कोटा, छुच्चा शब्द बाण प्रयोग गर्दा ठूलै नेता हुइन्छ भन्ने ठानेर हो कि हरेक भाषण र पत्रकार सम्मेलनमा छुच्चा कुरा गर्न थालेका छन् । अरु पनि केही नेता मुखाले हुन कोशिस गर्छन् । तर, उनीहरुको मुखालेपन अस्वभाविक लाग्छ । सायद मुखाले हुन र छुच्चोपन कतै पैदायशी त होइन ।

सधैं गाली खाएपछि होला हिजो आज कांग्रेसका युवा नेता गगन थापा पनि जस्तालाई त्यस्तै भनेर मुखाले हुन सिक्तैछन् । प्रचण्डले सिंह झैं गर्जन गर्न कार्यकर्तालाई उक्साएपछि जवाफमा गगन थापाले सिंहलाई शिकार गरेर ठेगान लगाउने भनेका छन् । त्यस्तै मुखाले जवाफ प्रवक्ता विश्वप्रकाश शर्माले पनि दिन्छन् । तर, उनीहरुको बोलीमा साच्चै गाली र ओठे जवाफमा हुनुपर्ने तागत देखिँदैन । अरु पनि केही मुखाले नेता छन् जसको वर्णन यस आलेखमा अटाउन सकिएन ।

आक्रामक कार्यकर्ता :

नेताहरु मुखाले र उक्साउने भएपछि विचरा नेताहरुको झोला बोकेर आफ्नो करियर बनाउन लागीपरेका कार्यकर्ताहरु उकासिने भइहाले । यसै पनि कार्यकर्ताहरु नेताहरुको संरक्षणमा ज्यान दिन पनि तयार हुने गर्छन् ।

यही मेसोमा एक महिनाभित्र अरिंगाल बनेका कार्यकर्ताहरुले गरेका आक्रमणका तीनवटा घटनाको सांकतिक चर्चा गरिन्छ । एक बाँकेको घटना । दोश्रो जनजागरण अभियान चलाई रेहेको कांग्रेसको कार्यक्रम बिथोल्ने गरी आक्रमण भयो, नेकपाका साँध लगाएर पाइन पनि हालेका कार्यकर्ताहरुबाट । त्यो आक्रमणबाट कांग्रेस बाँकेकी सभापतिको हातै भाँच्चियो । कांग्रेसले घटनाको विरोध ग¥यो । संसदसम्म अबरोध ग¥यो । कारवाहीको आश्वासन पाएपछि विरोध कार्यक्रम स्थगित भयो ।

दोश्रो चितवनको घटना । भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सांघातिक आक्रमण भयो । उनको टाउकोमा चोट लाग्यो । उनी भ्रष्टाचारविरुद्धको जागरण कार्यक्रमका लागि चितवन गएका थिए । होटलमा बसेका उनीमाथि होटलमै गएर उही सत्ताका मात लागेका कार्यकर्ताहरुले नै आक्रमण गरे । उनीहरु दिउँसो हुने विरोध कार्यक्रम रोक्न चाहन्थे ।

तेश्रो तनहुँको घटना । आइतबार तनहुँको एउटा गाउँपालिकाको भवन उद्घाटनका लागि गएका कांग्रेसका नेता डा.मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भयो । उनलाई भवन उद्घाटन गर्न नदिन उनीहरुले बाटो अबरुद्ध गर्न दुईचार रुख ढाले । हाहतियारसहित आक्रमण गर्न गए । तर, सकेनन् । गाउँपालिकाले सर्वसम्मत निर्णय गरेर रिजाललाई भवन उद्घाटन गर्न बोलाउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

लोकतन्त्रको कुरा :

लोकतन्त्रमा बिना हातहतियार भेला भएर शान्तिपूर्ण विरोध गर्न पाइन्छ । संविधानमै यस्तो अधिकार रहेको छ । तर, आप्mनोविरुद्ध जनतालाई उराल्न सक्छन् कि भन्ने आशंका र डरले नेकपाले विपक्षीहरुलाई निमिट्यान्न पार्न उद्यत् गरिरहेछ भन्ने यी माथिका तीनवटा उदाहरण हुन् ।

तर, लोकतन्त्रमा अराजकता ल्याउन मिल्दैन र पाइँदैन । हिंसा पनि गर्न पाइन्न । त्यसैले विप्लब समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको छ ।

लोकतन्त्र सबै तह, तप्का र दलका लागि हो । सरकार र उसका समर्थक वा कार्यकर्ताका लागि मात्र लोकतन्त्र ल्याइएको होइन । तर, सत्तासिन नेकपाका कार्यकर्ताहरुमा कम्युनिष्ट शैली गएको छैन । त्यसैले उनीहरु आफ्नो विरोध सहन सक्तैनन् । विरोध गर्नेलाई तह लगाउन र अरुलाई तर्साउन कम्युनिष्टहरु भौतिक कारवाहीमै उत्रन्छन् । उनीहरुले सिकेको पाठ र सिद्धान्त भनेकै विपक्षीलाई दुश्मन मान्ने र सकेसम्म निमिट्यान्न पार्ने हो ।

सत्ताधारीकै कार्यकर्ताहरुबाट यस्तो भएपछि उनीहरुबाट लोकतन्त्रलाई खतरा देखिएको छ । विरोध खप्न नसक्नेले जनताको पक्षम काम गर्देन । जनतामा बारम्बार जान पनि मन पराउँदैन । त्यसैले उसको शासकीय शैली एकतन्त्रीय हुन्छ । विवेकले काम गर्नु पर्ने भएपछि त्यहाँ सही निर्णय आउने सुनिश्चतता हुँदैन । त्यसैले शिशु लोकतन्त्र शैशव अवस्थामै निमोठिने आशंकाबीच चक्कर लगाइरहेछ ।

यसै पनि मुखाले नेता र आक्रामक सत्तासिन कार्यकर्ता भएपछि लोकतन्त्र कमजोर हुन्छ । अहिले नेपालमै त्यही भइरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here