विश्वव्यापी माहामारी कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध भएको शैक्षिक गतिविधि चलायमान भएको छ । शिक्षा मन्त्रालयले यस वर्षको शैक्षिक सत्र जोगाउने र क्षति न्यूनीकरण गर्ने भन्दै सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । यसले शैक्षिक सत्र जोगाउने बाटो खुल्ला गरेसँगै असोज एक गतेदेखि औपचारिक रुपमै सिकाइ प्रक्रिया शुरु भएको हो । गत असोज १९ गते जारी भएको निर्देशिकाले बालकक्षादेखि कक्षा १० सम्मको विद्यालयीय शिक्षालाई निरन्तरता दिएको छ । निर्देशिकाले पूर्णरुपमा विद्यालय खोलेर सिकाइ गर्ने अनुमति नदिए पनि सिकाइका वैकल्पिक माध्यम उपयोग गर्दै लामो समयदेखि निदाएको सिकाइ गतिविधिलाई ब्यूँताएको छ ।
मानसिकरुपमाा अन्योलमा रहेको शैक्षणिक क्रियाकलाप रचनात्मक रुपले सक्रिय नभए पनि निर्देशिकाले शिक्षक विद्यार्थी र अभिभावकलाई केही हदसम्म घच्घच्याउने काम गरेको छ । छोटो समयमा बिना तयारी जारी गरिएको सिकाइ सहजीकरण निर्देशिकाभित्र भएका थुप्रै निर्देशन व्यवहारीक रुपमा लागू हुने अवस्था देखिँदैन । सिकाइ निरन्तरतामा धेरै विकल्प सुझाइएका छन् । परम्परागत सिकाइ भइरहेको अवस्थामा ती विकल्प कति प्रभावकारी हुन्छन् भन्ने चाहिँ व्यवहारिक रुपमा हेर्न बाँकी नै छ । हुन त विज्ञान र प्रविधिको युग भनेर हिजोसम्म अक्षर मात्र रट्ने बानी परेका हामी सरोकारवाला आज झट्ट त्यसभित्र छिनै चाहँदा चाहँदै पनि धेरै कठीनाइ महसुस गरिरहेका छौं ।
अनलाइन प्रविधिपमार्फत सिकाइ गर्ने प्रयास भइरहेको छ । शहरी क्षेत्र र इन्टरनेट, विद्युत लगायतका विद्युतीय यन्त्र उपकरणको उपलब्धता भएका क्षेत्र र परिवारमा समेत इन्टरनेट मार्फत शिक्षण गर्ने प्रयास गरिन थालेको छ । यो अभ्यास अन्यन्त राम्रो कदम हो । अहिलेको प्रयासले तत्काल प्रतिफल दिन नसके पनि भावी दिनमा शिक्षण सिकाइमा व्यवहारिक हुनेमा दुईमत छैन । तर, मौजुद परिस्थितिमा यसले शिक्षक र विद्यार्थी दुबैलाई अन्योल बनाइ दिएको छ । छ महिनाअघिसम्म प्रयोग नै नगरिएको प्रविधि एकाएक प्रयोग गरिँदा त्यसभित्र थुप्रै प्राविधिक कठिनाइ आएका गुनासा समेत सुनिन थालेका छन् । यसमा प्रविधिको पहुँच भए पनि शिक्षक विद्यार्थी दुवैमा धेरै प्राविधिक कठिनाइ देखिनु स्वभाविकै हो ।
त्यसैले प्रविधिको माध्यमवाट पूर्णरुपमा शिक्षण हुन नसक्ने र यसले करिब ४० प्रतिशत विद्यार्थीसम्म मात्र उपयुक्त शिक्षण हुने विभिन्न तथ्याङ्कले आँकलन गरेका छन् । यद्यपि प्रविधि मार्फत गरिने शिक्षणको शुरुवातले आगामी दिनमा सकारात्मक र प्रभावकारी प्रतिफल दिनेमा शंका गर्ने ठाउँ छैन । वैकल्पिक सिकाइको अर्को विकल्प साक्षात्कार शिक्षण नै धेरैतिर प्रयोग हुने सम्भावना देखिन्छ । किनकि ग्रामीण क्षेत्र जहाँ प्रविधिको पहुँच कमजोर छ, गरिबी र अभावले जेलिएको ग्रामीण समाजका अभिभावक र बालबालिका, प्रविधिका प्रयोगको पहुँच नभएका शिक्षकहरुबाट समेत साक्षात्कार विधिलाई नै अपनाउने प्रयास गरिँदैछ । यस विधिबाट सिकाइ गर्दा थुप्रै चुनौति शिक्षकले व्यहोर्नुपर्ने देखिन्छ । स्वास्थ्य अवस्था कमजोर भएका शिक्षक, यातायातको असुविधा भएका ग्रामीण क्षेत्र, भौगोलिक विकटता भएका क्षेत्र, पातलो बस्तीमा छरिएर रहेका विद्यार्थीसँग दैनिक र विषयगत रुपमा कसरी साक्षात्कार गर्ने सिकाइ सहजीकरण, मूल्याङ्कन कसरी गर्ने भन्ने समस्या सिर्जना भएको छ ।
त्यस्तै समुदायमै गएर सहजीकरण गर्न पनि धेरै समस्या हुन सक्छन् । विद्यार्थीको पारिवारिक वातावरण, स–साना समूह बनाउन पनि आवश्यक पर्ने आधारभूत भौतिक व्यवस्थापन, शिक्षण र सिकाइ सामग्रीको उपलब्धता, कार्यतालिका, अनुसारको व्यवस्थापन, समयतालिकाका समस्या जस्ता धेरै जटिलता देखिएको छन् । त्यस्तै शारीरिक अशक्तता र अपाङ्गता भएका भएका सहजकर्ता सिकारु दुबैलाई शारीरिक र मानसिक समस्या सिर्जना हुन सक्छन् । त्यस्तै निर्देशिकाले निर्देशित गरेका कतिपय निर्देशन र नियम अनुसारको पद्धतिमा जान नै कठिन देखिन्छ । निर्देशिकाले भने जस्तो सबै सरोकारवालाको भूमिका कार्यान्वयन हुनै कठिन छ । विद्यालय, समुदायबीच हिजोसम्म देखिएको दूरीलाई कम गर्न यो अभियानले पूर्णता दिनुभन्दा पनि आउँदा दिनको लागि पुलको काम गर्न सक्छ ।
सहजीकरण र सिकाइबीच धेरै व्यवधान भए पनि सहजीकरण गर्नुको विकल्प देखिँदैन । यो चुनौति नितान्त व्यक्तिगत, र क्षेत्रगत मात्रै होइन, राष्ट्रिय समस्या मात्र पनि होइन, विश्व नै कोराना माहामारीले आक्रान्त भएको अवस्था भएकोले नैे जतिसुकै समस्या झेल्नु परे पनि सरोकारवालाले आ–आफ्नो ठाउँबाट गरिने योगदान र समर्पण उत्तिकै महत्वपूर्ण छ । हुन त परिस्थितिले विद्यार्थीलाई सिक्न बाध्यात्मक अवस्था सिर्जना गरी दिएको छैन । ऊ सिकाइ अभ्यास र नियन्त्रणभन्दा बाहिर छ । हिजोको दिन १० बजेदेखि ४ बजेसम्म विद्यालयको निश्चित आचारणको घेराभित्र रहेका पठनपाठन र शिक्षण सिकाइ हुँदा पनि पाठ्यक्रमले निर्दिष्ट गरेका उपलब्धि हासिल गर्न कठिन हुन्थ्यो, आजको त्यो अवस्था छैन ।
खुुल्ला समाजमा रहेको विद्यार्थीलाई उपयुक्त बाटोमा हिँडाएर उपलब्धि हासिल गर्न उत्तिकै कठिन छ । विद्यालयको सिकाइ वातावरण, अतिरिक्त क्रियाकलापको सहभागिताबाट प्राप्त हुने सामाजिक भावना, सामुहिकताबाट प्राप्त हुने सकारात्मक मनोविज्ञानबाट विद्यार्थी अलग्गिएको अवस्था छ । त्यस्तो अवस्थामा दूरशिक्षा, होस् वा प्रविधिको प्रयोगबाट हुने सिकाइ होस्, पूर्ण उपलव्ब्धि हुन कठिनै देखिन्छ । अहिले विद्यार्थी घर–घरमा छन् । औपचारिक सिकाइको अवसरबाट वञ्चित छन् । यसको अर्थ केही सिकेकै छैनन् भन्ने होइन, ऊ मुर्ख बनिरहेको छ भन्ने होइन । सिकाइ समाज र परिवारबाटै निरन्तर हुने अभ्यास भएकाले केही न केही सिकिरहेकै हुन्छ । तर, औपचारिक सिकाइको भूमिकामा कुरा गरिरहँदा मात्र त्यो परिवेशबाट विमूख रहेको अवस्था हो । औपचारिक सिकाइको वातावरणलाई निरन्तरता दिन नै हामी लागीपरेका छौं ।
औपचारिक सिकाइबाट बाहिर रहेको बालबालिकाको मनोविज्ञानलाई सही बाटोमा ल्याउने अभ्यासमा हामी जुटिरहेका छौं । यसका लागि एकल प्रयास मात्र सम्भव छैन । शिक्षकले मात्र केही गर्न सक्दैन । त्यसैले भौगोलिक विकटता, प्रविधिसँग न्यून पहुँच, शिक्षक विद्यार्थी दुबैका अशक्तता र असमर्थताको अवस्था, सिकाइको वातावरणको चेन ब्रेक भएको अवस्था, प्रविधिमा दुबैको पहुँच नभएको परिवेश, पूर्ण सिकाइ हुन सक्ने अवस्था र वातावरण, सिकारुको सिक्ने बाध्यात्मक अवस्था नरहेको परिवेश, शारीरिक, मानसिक र मनोवैज्ञानिक सोच अन्यत्र मोडिएको अवस्था लगायतका सयौं अप्ठ्यारा चुनौति हाम्रा अघि रहेका छन् । यी चुनौतिलाइई चिर्न सबै सरोकारवालाको बराबर भूमिका छ । परिस्थिति असहज छ । सबैले बुझेको, महसुस गरेको र भोगेको यथार्थ हो । तर, पनि समस्या समाधान गर्न चुनौतिसँग पौठेजोरी खेल्दै अघि बढ्नुको विकल्प छैन ।
शैक्षिक सत्रको बचेको छ महिनाको समयमा औपचारिक शिक्षणको सबै उपलब्धि हासिल गर्न गराउन हामी सक्दैनौं । तर, सिकाइ निरन्तरता, सिक्ने वातावरण बनाउने अभियानमा जुटेर भविष्यमा आइपर्ने चुनौतिसँग मुकाबिला गर्नसक्ने वातावरण बनाउने अभियानमा छौं हामी । अहिले त्रासमय वातावरणमा हामीले अनुकूलन गर्न सिक्यौं । हिजोसम्म सिक्ने र सिकाउने रहर र बाध्यतामा थियौं । अहिलेको परिस्थितिले आफू पनि गर्न सिक र अरुको मात्र भर नपर भन्ने शिक्षा दियो समयले ।
यस महामारीले ठूलो क्षति पुर्याएको छ । मानवजीवनका हरेक क्षेत्रमा थुप्रै कठिनाइ र अभाव थपिदिएको छ । अझ हाम्रो सिक्ने र सिकाउने शैक्षिक क्षेत्रलाई निकै ठूलो नोक्सानी पुर्यायो । शैक्षिक क्षेत्रलाई क्षति पुर्याए पनि यो अपूरणीय क्षति भने होइन । यसले हाम्रो सिकाइको सत्रलाई छोट्याइ दियो, तर हामीलाई सामाजिकीकरण हुनेदेखि प्रविधिसँग साक्षात्कार हुने, प्रकृतिसँग नजिकिने अवसर पनि दियो । अहिले हरेक विद्यालयका शिक्षक, अभिभावकसँग नजिकिएका छन् । हिजोसम्म निश्चित ठाउँमा रहेका सिकाइ केन्द्र आज गाउँ–गाउँसम्म पुगेका छन् । शिक्षक गाउँ पुगेका छन् । अभिभावकसँग नजिकिएका छन् । अभिभावक पनि शिक्षकसँग साक्षात्कार गरिरहेको छ । शिक्षक अनलाइन मार्फत कसरी जीवनोपयोगी, वैज्ञानिक, आधुनिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा घोत्लिन थालेको छ । । प्रविधिसँग साक्षात्कार गर्दैछ । विद्यार्थी पनि सिकाइको अवसर लिने स्थान निश्चित स्टेशन मात्र हुँदोरहेनछ, सिक्ने विधि प्रविधि विकल्प धेरै हुँदा रहेछन् भन्ने विषयममा प्रवेश गर्न थालेको छ । त्यसैले शिक्षक विद्यार्थी तथा अभिभावक सबैलाई परिस्थितिले भविष्यको कर्तव्यबोध गराइदिएको छ । सिकाइ सहजीकरणभित्र देखिएको धेरै समस्या र चुनौतिको सामना गर्दै यसले प्रदान गरेका अवसरलाई समेत मनन् गर्न आवश्यक देखिन्छ ।