जीवन रोज्ने कि !

0
1363

व्यवस्थापन कमजोर भयो भन्दाभन्दै कोरोना भाइरस बालुवाटार भित्रिएको छ । प्रधानमन्त्री निवासमा रहेको सचिवालयका सदस्य, सुरक्षाकर्मीहरु लगायत अधिकांश व्यक्ति नै कोरोना संक्रमित भएपछि आम जनताले कति सावधानी अपनाउनुपर्ला आफैंले सोच्ने विषय हो । त्यसो त कोरोना केही होइन भन्दै विश्व स्वास्थ्य संगठनले निर्माण गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड नमान्ने घोषणा गरेका अमेरिकी राष्ट्रपति स्वयम् संक्रमित भई अस्पताल भर्ना भएका छन् । पद, पैसा र पहुँच हुने संक्रमित हुँदा पनि उच्च सेवा र सुविधा पाउने भएकाले छिट्टै संक्रमणमुक्त हुन सक्लान् । तर, आम जनता कथंकदाचित संक्रमित भई हाले न स्वास्थ्य सेवाको पहुँचमा पुग्न सक्लान् न त अत्याधुनिक उपचार नै पाउने छन् । प्रधानमन्त्रीका सल्लाहकार, प्रेस सल्लाहकार लगायत साठ्ठी जनाभन्दा बढी संक्रमित भई आइसोलेसनमा बस्दा नयाँ व्यवस्था तत्काल हुन्छ, गरिन्छ । आम जनता भने थोरै अज्ञानता र धेरै लापरवाही कै कारण संक्रमित मात्र होइन मृत्युकै मुखमा पुग्छन्, पुगिरहेका छन् ।

दिनहुँ वृद्धि भइरहेको संक्रमणको संख्याले कोरोनाको भयावहताको तस्वीर देखाइ रहेको छ । अझै संक्रमणमुक्त भएको हप्ता दिन नबित्दै पुनः संक्रमित भएका घटनाहरु पनि प्रकाशमा आउन थालेका छन् । आफूलाई कोरोना संक्रमण भए÷नभएको छुट्याउने पीसीआर विधिको विश्वसनीयता मै सवाल उठ्ने गरेको सन्दर्भले पनि आश्वस्त हुने अवस्था छैन । यस्तोमा बुद्धिमानी हुन्छ– प्रतिरक्षाका उपायहरुको इमान्दार पालना । अर्थात् जनस्वास्थ्यका मापदण्डहरुको उचित तथा अनिवार्य पालनाले मात्र महामारीका रुपमा उपस्थित कोरोना भाइरसको आतंकबाट जोगाउन सक्छ । त्यो पनि एउटा घर, एक व्यक्ति, एउटा ठाउँ वा एउटा कुनै क्षेत्रको सचेतनाबाट मात्रै सम्भव छैन ।

संक्रमणको जोखिम सरकारकै तर्फबाट सर्वाधिक रहेको सरकारी संयन्त्रले नै बोलेको छ । कार्यालयहरु खुल्ला गरेर आतंकलाई मलजल गर्ने काम सरकारले नै गरिरहेको छ । विद्यालयहरु खुल्न थालेका छन्, निषेध गरिएका व्यवसाय अघोषित रुपमै खुल्ला गरेर संक्रमण निम्त्याइ रहेका छन् । समुदाय नै महामारीको चपेटामा पर्दै गएको छ । सरकार यस्तो बेला पनि सत्ता, पद, आफ्ना मान्छेभन्दा पर जान सकेको छैन । सबै पक्ष, दल तथा समूहको सामुहिक प्रयासतर्फ सरकार गम्भीर भएकै छैन । यस्तो अवस्थाले भौतिक सुविधा, आधुनिक उपचार, औषधि र वैकल्पिक उपाय नभेटेरै मर्नुपर्ने बाध्यताकै संकेत गर्छ । यसर्थ आम जनताको स्वतःस्फूर्त जागरुकता आजको पहिलो आवश्यकता हो । त्यसका लागि ‘जीउ जोगाउने’ चेतना सबैमा जाग्नु पर्छ । होइन भने परिणाम कल्पनाभन्दा बाहिर जाने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here