हार्दिकता र प्रेम मर्न नदिऔं

0
760

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि हिराकुमार थापाले देशमा भएका सबै वृद्धाश्रम भत्काउनुपर्ने बताएर एउटा बहस जन्माएका छन् । ज्येष्ठ नागरिक संघ झापा र कन्काई नगर समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद थापाले सान्दर्भिक बहसको थालनी गरेका हुन् । पूर्वीय संस्कृतिले आमा–बुबालाई जिवित देवताको दर्जा दिएको छ । त्यही संस्कृतिका अनुचर नेपालीले भौतिक सुखसुविधाको खोजीमा वृद्धावस्थाका आमाबुबालाई वृद्धाश्रममा पु¥याउन थालेका समाचार सार्वजनिक भइरहकै छन् । लौकिक विश्व र सुविधाको खोजीमा हराउन चाहने यस्तो मानसिकताले हाम्रा परम्परा, आदर्श, मूल्य र मान्यता विस्थापित हुने क्रममा छन् । त्यसकै उदाहरण हो– बढ्दो क्रममा रहेका वृद्धाश्रम । मातृ देवो भवः, पितृ देवो भवःको आदर्शलाई मूल मन्त्र ठान्ने पूर्वीय दर्शन र संस्कृतिमा आउन थालेको यस्तो विचलनले हाम्रा सबै मौलिकता विलुप्त हुने सम्भावना बढेको छ ।

त्यसो त पूर्वीय संस्कृतिको उदात्त भाव र निर्देशलाई कमजोर पार्ने काममा सरकार पनि जिम्मेवार छ । नियोजित परिवारको बाध्यात्मक संकुचन सरकारकै अभीष्ट हो । परिवार नियोजन कार्यक्रमले नियन्त्रित परिवारको एकमात्र उद्देश्य राखेको र त्यसैलाई पृष्ठपोषण गर्ने सरकारको नीति र कार्यक्रम आउने भएकाले नेपाली पारिवारिक ढाँचा एकात्मक बन्दै गयो । दुई सन्तानलाई ईश्वरको वरदान मान्ने नीतिका कारण बृहत् वा संयुक्त परिवार ढाँचामा रहेको एकता, हार्दिकता, सद्भाव, स्नेह र अभिन्न नाता टुक्रिँदै गयो । फलतः भएका सन्तानले पनि आमाबाबुप्रति जिम्मेवारी र उत्तरदायित्व मेरै हो भन्ने बुझ्नै सकेनन् । हिजो संयुक्त परिवारमा रहँदा घरका मूली आमाबुवाप्रति अग्रजहरुले गरेको आदर–सम्मान र सेवालाई अनुभूत गर्नै नपाएका सन्तानले आफ्ना आमाबुवाप्रतिको कर्तव्यबोध गर्नै पाएन ।

सतही रुपबाट हेर्दा सांसद थापाको विचार भत्काउने, तोड्ने, ध्वंश गर्ने भए पनि सन्तानकै लागि सारा सुख र खुसी समर्पण गरेका आमाबुवालाई सन्तान हुँदाहुँदै वृद्धाश्रम बस्ने सौख वा रहर हुनै सक्दैन । उमेर बढेसँगै बढ्ने अशक्तता, शारीरिक एवम् मानसिक दुर्वलता वृद्धाश्रमको भौतिकताले हटाउन सक्दैन । परिस्थितिले वृद्धाश्रम पु¥याइएका ज्येष्ठ नागरिकहरु आँशु पिएर बाँच्न बाध्य छन् भने कति सडकमा बेसाहारा बनेर भौंतारिएका छन् । आफ्ना आमाबुवाप्रति सन्तानको कर्तव्य कस्तो हुन्छ आजका सन्तानले हजुरआमा र हजुरबुवाबाट सुन्न, सिक्न र सञ्चार गर्नै पाएन । त्यसैले पनि पारिवारिक प्रेम, सद्भाव, सहृदय, सहयोग हराउँदै गएको बेला वृद्धाश्रम होइन ज्येष्ठ सदस्यलाई घरमै सेवा गर्नुपर्छ । यसका लागि सरकारको नीति, कार्यक्रम पनि आउनु पर्छ । परिवार सानो र खण्डित बनाउने नीति खारेज गर्नुपर्छ । अनि मात्र हाम्रो परम्परागत आदर्श, मूल्य र मान्यताको संरक्षण हुन सक्छ । जसको आधारमा हामी छौं, त्यही आधार भत्कियो भने वा धरातल बिर्सियौं भने त्यो आफ्नै लागि घातक हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here