सम्भावित नेकपा विभाजन रोक

0
605

वि.सं. २००६ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीको मूल प्रवाह नेकपा शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छ । यो एकीकृत पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर तीन वर्षअघि बनेको हो । एकताका धेरै कार्यभार अझै बाँकी छन् । माक्र्सवाद लेनिनवाद मार्गनिर्देशक सिद्धान्त र समाजवादउन्मुख जनताको जनवाद पार्टीको मुख्य कार्यक्रम हो । यो पार्टीको नेतृत्वमा दुई तिहाइ हाराहारीको बहुमतसहितको सरकार छ । आफ्नो चुनावी घोषणापत्रमा विकास, समृद्धि र सुशासनको प्रतिबद्धता जनाइएको थियो, तर सत्ता सञ्चालनको मध्यतिर आउँदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरमराउन शुरु गरेको छ । पार्टीभित्रबाटै सरकारका कार्यशैलीलाई लिएर प्रश्न उठाइएको छ । राजनीतिक अस्थिरताको शुभारम्भ भएको अनुमान गर्न जो कोहीलाई अप्ठेरो छैन । नेकपा विभाजन भनेको जनादेशमाथिको घात हुनेछ, मतादेशको घोर अपमान हुनेछ । २००७ सालदेखि नै सरकार बनाउने र गिराउने खेलको दुश्चक्रमा परेको नेपाल फेरि संयुक्त र मिलिजुली सरकारको बाटोमा लाग्न अभिषप्त हुनेछ ।

नेकपा नेतृत्वमाथि राजनैतिक अस्थिरताको बिजारोपण गरेको संगीन आरोप लाग्नेछ । इतिहासले नेकपा नेतृत्व सत्तास्वार्थ, शक्ति आर्जन र पदलोलुपताको गोलचक्करमा फँसेर विवेकशून्य भई आफ्नो खुट्टोमा आफै बन्चरो हानेको र नेपाली जनताले कम्युनिष्टप्रति देखाएको सद्भावमाथि तुषारापात गरेको भनी कलंकको टीका लगाइदिनेछ । सम्भावित नेकपा विभाजनले सबैलाई घाटा पुग्ने निश्चित छ । नेकपा नेतृत्वलाई आफ्नो घरमा आगो झोंसेर खरानीको टीका लगाएको आरोप पखाल्न सात समुद्रको पानी पनि पर्याप्त हुँदैन । कतिपय नेपाली कम्युनिष्ट नेताहरुमा पार्टीलाई दरबारमा बुझाएको आरोप अहिले पनि लागिरहेको छ । पार्टी फुटाउने र जनपक्षीय काम गरेर आगामी चुनाव पनि जित्नुपर्ने कम्युनिष्ट नेताहरु स्वार्थान्धताले पागल बनेर आत्मघाती कदम चाल्न तयार छन् । जोडेर जानुपर्नेमा फोडेर हिंड्न खोजेपछि दुर्घटनामा त अवश्य पुगिन्छ ।

नेकपा विभाजनबाट कम्युनिष्ट आदर्शप्रति आशावान युवाहरुमा नैराश्य बढ्छ, आक्रोश झाँगिन्छ र उनीहरुको रगतमा विद्रोह सल्बलाउन थाल्छ । त्यसले अराजकताको बाटो लिन्छ र मुलुक राजनीतिक दुर्घटनामा पर्छ । यदि नेकपा विभाजन भयो भने सबैभन्दा बढी नोक्सान मुलुक र मुलुकबासीलाई हुन्छ । व्यक्तिगत रुपमा भन्ने हो भने विभाजनले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको पार्टी अध्यक्ष हुने चाहना त पुरा होला, तर भारी बहुमतको प्रधानमन्त्री हुने सपना पूरा हुने छैन । वरिष्ठ नेता माधवकुमार नेपालको ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष हुने र कार्यकारी अधिकारसहितको प्रधानमन्त्री वा राष्ट्रपति हुने सपना विपना हुने छैन । किंकर्तव्यविमुढ अवस्थामा रहेको नेकपाका दोस्रो, तेस्रो, चौथो पुस्ताका नेताहरुले पार्टी एकता रक्षाका लागि फेरि एकपटक हिम्मतका साथ हस्तक्षेप गर्न आवश्यक छ । दशौं लाख पार्टी कार्यकर्ताको आँशु, रगत र पसिनाबाट सृजित नेकपाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सके अन्य दलहरुलाई पनि त्यसबाट फाइदा पुग्छ । द्वन्द्व र मतभेदलाई महाधिवेशनको मञ्चबाट हल गर्नुपर्छ । तसर्थ यतिबेला सम्भावित नेकपा विभाजनलाई रोकेर मुलुकलाई अनिष्टबाट बचाउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here