कोरोना कहर र हाम्रो जिम्मेवारी

0
1188

चैत्र महिनाको शुरुवातितिर एक–दुई जनामा कोरोना भाइरस संक्रमण भएको विवरण आउँदै गर्दा देशैभरि लकडाउनको गाइगुई चल्दै थियो । चीनको बुहानमा कोराना भाइरसको उत्पत्ति र त्यहाँ चुलिँदै गएको उक्त संकटबारे आउने खबरको अध्ययन र विवेचना हँुदै थिए । बुहानमा महामारी उत्कर्षमा पुग्दै गर्दा त्यहाँ देखाइएका दर्दनाक तस्वीर क्रमशः भाइरल बन्दै थिए । महामारीप्रति चीन सरकारद्वारा चालिएका कदम र त्यहाँका जनताले त्यसप्रति दिएका साथका कारण ठूलो हताहति नहँुदै क्रमशः प्रकोप नियन्त्रण तर्फ बढ्दै थियो ।

एउटा परियोजनाको स्थानीय निकाय संयोजकको रुपमा धादिङको धुनिबेसी नगरपालिका क्षेत्रमा कार्यरत थिए । नगरपालिका सँगै रहेको होटलमा खाना खाने व्यवस्था मिलाएकोले अधिकांश समय स्थानीय कर्मचारी, शिक्षक र जन प्रतिनिधिहरुसँग हुनु सामान्य नै थियो । सँगै कोरोना भाइरसको चर्चा चुलिँदो थियो । सम्भावित जोखिम, हाम्रो समग्र क्षमता, हाम्रा संरचना र जन व्यवहार नै हामीबीचमा छलफलका विषय हुन्थे । त्यसमाथि पनि बुहानमा अध्ययनरत् चिकित्सा क्षेत्रका विद्यार्थी, त्यहाँ फैलँदो महामारी र जतिसक्दो चाँडो स्वदेश फक्रने रोदनले उबेला प्रमुख चर्चा पाएको थियो । लामो समयको प्रयासपछि हाम्रै जहाजद्वारा उनीहरुको उद्धार गरेर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा समग्र नेपालीको एक किसिमको जीतको आभाष भएको थियो । बुहानबाट क्रमशः युरोपका खासगरी स्पेन र इटलीमा यस भाइरसले तहल्का मच्चाउँदै गर्दा त्यसको असर हामीमा देखिनु स्वभाविक थियो । विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थातिर सोझिँदै थिए । अन्ततः चैत्रको दोस्रो साता देशमा लकडाउनको घोषणा भयो ।

एक बर्षिय सम्झौताको दशौं महिनातिर चल्दै गरेको म बाहिर खानपिनको व्यवस्था भएकाले हेर्दाहेर्दै बिचल्ली हुने अवस्था देखिएपछि चैत्र १० गते झापा फर्कने निर्णय गरेँ । सोही अनुसार माथिल्लो निकायमा जानकारी गराएँ । अकस्मात भएको निर्णयले टिकटको व्यवस्था सम्भव भएन र दुनुमुनुको अवस्थामा खानीखोलाबाट रात्रि बस चढ्ने निर्णय गरेँ । सामान्य अवस्थामा जस्तो गाडीहरु पनि आइरहेका थिएनन् र आइरहेका बसले समेत रोक्न खोज्दा चालकहरुले खासै ध्यान दिइरहेका पनि थिएनन् । बाहिरबाट नै हेर्दा प्रष्ट हुन्थ्यो कि गाडीमा खाली सिटको त परको कुरा उभिएर जानसम्म पनि ठाउँ करिब देखिन्नथ्यो । यसै क्रममा एउटा बसले सदासयता देखायो, बस रोक्यो । जसोतसो चढेँ । नारायणगढसम्म करिब चार घण्टा उभिएरै यात्रा गरेँ । कोरोना कहरले ठूलो मात्रामा एकैपटक राजधानी छोड्नेको संख्या धेरै भएकोले यात्रुको चाप र कोरोनाको त्रास बसमा कायम थियो । लगातार चार घण्टा उभिएर यात्रा गर्दा गाह्रो हुन थालेसँगै बसका सहयोगीले प्यासेजमा बस्न फमको व्यवस्था गरी दिए । पलेटी मारेर बस्दा घुँडा ठोक्किने, अगाडि–पछाडि यात्रुको घुइँचो । बडो दुःखले बिहान सुरुङ्गा आइ पुगेँ । लामो समयको लकडाउन शुरु हुँदै थियो । स्वास्थ सावधानी अपनाएर घरै बसी योग गर्ने, छोरालाई पढाउने र जलथल घरमा खेतीपातीमा सघाउने क्रममा लकडाउनको छ महिनाको अवधि बित्यो ।

कात्तिकको शुरुवाति मै जब संक्रमणको दर बढ्दो थियो सरकारले लकडाउनको अन्त्य गर्यो । पुरानो अफिसको सरसामान बुझाउने, हिसाबकिताब फरफारक गर्ने र आफूले अलिअघि काम गरेको संस्थामा भर्ना प्रक्रियामा भाग लिने दुई मुख्य उद्देश्य लिएर डर र त्रासकाबीच कात्तिक ७ गते काठमाडौंको यात्रा तय गरेँ । थाहा छ अवस्था असामान्य छ, जुनसुकै बेला जहाँ पनि संक्रमित हुन सक्ने अवस्था छ । तर, पनि बाध्यताबीच जानु पनि छ । सरकारले भने बमोजिम दुुई सिट एक यात्रुकै प्रावधान अनुसार यात्रा गरेँ । यात्रा अवधिभर मास्क लगाइरहेँ, राति आफैंले व्यवस्था गरेको खाजा खाएँ ताकि भिडमा जान नपरोस् । काठमाडौंको यात्रा पूरा भयो । अब लोकल बस चढ्नुपर्ने भयो, चढेँ । काठमाडौं र धुलिखेल गरेर समग्रमा २२ दिनको बसाइ रह्यो । काठमाडौं–झापा दुईतर्फी यात्रा, काठमाडौं, धुलिखेल र नागरिक लगानी कोष बानेश्वरमा लोकल बसमा यात्रा गर्नु यो समयमा जोखिम लिनु नै थियो । कोरोनाको हटस्पट बन्दै गरेको काठमाडौं उपत्यका र त्यही समयमा आफू पनि त्यही सक्रिय भएर रहँदा देखे–भोगेका व्यवहार उतार्नु सान्दर्भिक ठानेँ । काठमाडौं किन असुरक्षित बन्दैछ, प्रत्येक दिन किन आधा संक्रमित उपत्यकामै देखिन थालेका छन् आदि बिषयमा यस्ता व्यवहारहरु केही कारकहरु हुन सक्छन् :

यो भाइरसलाई कम आक्नु : हामी सबैलाई करिब–करिब थाहा छ कि यो भाइरस के हो, कसरी लाग्छ र यसले आमजीवनमा कस्तो प्रभाव पारिरहेको छ । यसैकारण छ महिनासम्म लकडाउन व्यहोर्नु परेको छ भने लाखौंले रोजगारी गुमाउनु परेको छ । जनतााको आर्थिक अवस्था गिर्दो छ । अरु त अरु काठमाडौंका सार्वजनिक स्थलमा मन भएकाहरुले खाना खुवाउँदै गरेको दृष्यले यो किन र कसरी भयो भन्ने प्रश्नको उत्तर दिन्छ । यो भाइरस कतिको घातक छ, अनुसन्धान कै विषय छ, मात्र सजगताको आवश्यकता छ । यस भाइरस फैलिँदै गर्दा सामान्य अवस्थाका अन्य बिरामीले उपचार पाउन सकेका छैनन् । यी कारणले पनि यो भाइरसलाई नियन्त्रण गर्नुपर्ने यति संवेदनशील अवस्थामा पनि नागरिकको ठूलो समूहले केही होइन यो भन्ने भ्रम राखेर बसेको देखियो । उपत्यकामा छिटो संक्रमण फैलनुमा त्यहाँका जनताको लापरवाहीपूर्ण व्यवहार प्रमुख कारण हो । यसरी कुनै विषयलाई जब कम आँकिन्छ तब त्यसप्रति गरिने व्यवहार अर्थपूर्ण हँुदैन ।

बिना मास्क सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुः

यो अवस्थामा पनि कतिपय यात्रु, चालक र सहयोगीले मास्क नलगाउने, लगाइ हाले पनि चिउडामुनि लगाउने आदि व्यवहार देखियो, यो आफैंमा घातक छ । तुलनात्मक रुपमा यात्रुको संख्या कम भए पनि संक्रमण फैलाउनमा यति नै काफी छैन र ?

चोक र पसलमा अनावश्यक भिडः जुनसुकै वर्ग होस् कसैमा पनि धैर्यता छैन । पहिला आफैंलाई गर्नुछ । पालो अनुशासन र दूरी कायम त परको कुरा । यही भिड या समूहमा कोही संक्रमित पो छ कि भन्ने भावले कोही तर्कदैन ।

अनावश्यक ठाउँमा छुने र हात नाक र मुखमा पुर्याउने : यो नेपालीको जन्मसिद्ध बानी हो । तर, यो समयमा कति घातक छ भन्ने सामान्य आभाष नेपालीजनमा देखिएन । बाहिरका वस्तु छोएर नाक र दाँत कोट्याउँदै गरेका दृष्य प्रशस्त देखिए ।

खाजा घरको दृष्य : सार्वजनिक यातायातमा यात्रा गरेर खाजा घरमा गई साबुन पानी त परको कुरा पानी मात्रले पनि हात नधोइ हातकै प्रयोग गरी कपाकप खाँदै गरेको दृष्य प्रशस्त देखिए । यसले हाम्रो मानसिकता कस्तो छ प्रष्ट पार्छ ।
सेवा प्रदायक संस्थामा भिड : भ्रमणको शिलशिलामा नागरिक लगानी कोषमा सेवा लिनुपर्ने थियो । यो कोष सामान्यतया जागिरेको निश्चित प्रतिशत रकम जम्मा हुने र कार्यकाल सकिएपछि रकम फिर्ता गरिने निकाय हो । यहाँ आउने अधिकांश सेवाग्राही पढेलेखेकै र शिक्षित वर्गकै हुन्छन् । तर, त्यहाँसम्म पनि सामान्यविधिको पालना गरेको देखिएन । कोषकै कर्मचारी कोरोना संक्रमित भएको र सचेतना अपनाउन आग्रह गर्दै गर्दा समेत भिडको दृष्य प्रसस्त देखिन्थ्यो ।
मैले यहाँ सानामसिना विषय यसकारण पनि पेश गरेका हुँ कि संक्रमण बढ्नुका कारण यिनै र यस्तै बिषय हुन् । कोरोना बाजा बजाएर आउँदैन, सानो असावधानी नै कारण बनिदिन सक्छ । भएका करिब सबै अस्पताल कोरोना डेडिकेटेड छन्, अन्य रोगले थलिएका लाखौं बिरामी जचाउन जान सकिरहेका छैनन्, संक्रमणको डर छ ।

कोरोना कै कारण ठूलो हताहति त भएको छैन, तर यसकै असरले धेरै वेरोजगारी, गरिबी र अनेकौं सामाजिक समस्या बढेको छ र अझै ठूलो असामान्य अवस्थामा पुग्ने सम्भावना बढेको छ । हँुदाहुँदा अब सरकार स्वयम्ले बिरामीको परीक्षण र उपचारबाट हात झिकेको छ । अस्पतालले कोरोना संक्रमित बिरामीको दैनिक खर्च विवरण र डिपोजिट रकम सूचना पाटीमा टाँस्न थालेका छन् । कोरोना केही पनि होइन भन्दाभन्दै संक्रमित भएर श्वासप्रश्वाशमा समस्या आयो भने मात्र पनि लाखौं रुपैयाँ धरौटी र दशौं हजार दैनिक खर्च लाग्ने विवरण सार्वजनिक हँुदैछ । यस अर्थमा सूक्ष्म सावधानी अपनाएर जीवन जिउने कि शारीरिक कठिनाई झेल्दै ठूलो बर्वादीतिर जाने आफैंले सोच्ने विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here