झिलझिले ।
घरबार नभएका एक अतिबिपन्न वर्गका परिवारलाई यहाँका युवाले उद्धार गरेका छन् । मंसीर १७ गतेको साँझको चिसोमा एक सरो लुगा मात्र लगाएर शिवसताक्षीको दूधे–शिवगञ्ज सडकमा अब कता जाँउ भन्दै दोधारमा परेका परिवारलाई स्थानीय युवाले उद्धार गरेका हुन् ।
मोरङको कानेपोखरीस्थित एउटा घरमा भाडामा बसेका राई परिवार बसेको घर जब घरधनीले बेचे अनि उनीहरुको बिचल्ली भयो । साहुले घर खाली गर्न उर्दी गरेपछि उनीहरु पोकापोकी बोकेर पूर्व लागे । साहुले घर बेचेपछि उनीहरु बस्नका खाली घर खोज्दै झापाको दूधेसम्म आइपुगेका थिए । साँझ पर्दा पनि कतै ठाउँ नभेटेपछि उनीहरु निराश भएका थिए । बिचल्लीमा परेका मध्ये भीमबहादुर राई परिवारका मूली हुन् । उनका अनुसार दैनिक ज्यालादारीका रुपमा कानेपोखरीमा हुँदा कृषि मजदुरका रुपमा काम गर्थे । यसका अलावा बाँसजन्य बस्तुबाट उत्पादन हुने डोको, भकारी, मुढा, खुँगी लगायतका सामग्री बनाउँथे । त्यसैको आम्दानीले राई परिवारले बिहान बेलुकाको हातमुख जोड्थे ।
जुन बेला घर साहुले बेचेको घरमा अर्को परिवार आयो, अनि उनको होस् हवास उड्यो । भीमबहादुरले भने– ‘घर मालिकले घर बेचेको जानकारी नै नदिई अर्को परिवार आएपछि हामी बिचल्लीमा प¥यौ ।’ बस्दै गरेको घर छोड्दा उनको साथमा २ सय रुपैयाँ मात्र थियो । ‘त्यो रुपैयाँले दूधेसम्मको गाडी भाडा तिरेर आएका हौं । पैसा धेरै थियो भने सायद अन्त कतै पुगिन्थ्यो होला’– उनले भने ।
दूधे–शिवगञ्ज सडकमा बिचल्ली परेको परिवार स्थानीय सागर आचार्यले देखे । उनीहरुसँगको केहीबेर कुराकानीपछि सागरको मन कुँड्यिो । राई दम्पीत्तका चार जना छोराछोरी पनि साथैमा थिए । जाडोले लगलग कामेको देखेपछि आचार्यको पहलमा उनीहरुको उद्धार भएको स्थानीयले बताए । आचार्यले भने– ‘साना नानी चिसोले कामेको देखेर मेरो मन कुँड्यिो, हतार–हतार उनीहरुको उद्धारका लागि पहल गरेँ ।’
दूधे बजारबाट अटो रिक्सा बोलाएर सडकमा बिचल्लीमा परेका राई परिवारलाई आचार्यले आफ्नो घर लगे । उनको घर दूधेबाट ५ किलोमिटर दुरीमा रहेको शिवसताक्षी–९ चिल्लागढ हो । अटोमा सागरको घर पुगेका राई परिवारले न्यानो भएको अनुभव गरे । राईले भने– ‘सागर बाबुले नाम अनुसारकै काम गरिदिएर मेरा साना छोराछोरी भोकले मर्न पाएनन् ।’ सागर आफैंले उनीहरुलाई खाना पकाएर खुवाए । छोराले विचल्लीमा परेका परिवारको उद्धार गरेको देखेर उनका बुवाआमाले पनि सागरलाई स्यावासी दिए ।
भोलिपल्ट विहान सागर दूधे बजार आए । उनले आफ्ना अग्रज र समकक्षीलाई घटना क्रम सुनाए । बस्नको समस्या नभए पनि खानाको समस्या रहेको उनका अग्रज र समकक्षीले बुझेपछि स्थानीय युवाहरु शक्तिमान थाम्सुहाङ, रोशन कठायत, पुरन सुब्बा, तपन गुरुङ लगायतको समूहले उनीहरुलाई चामल, दाल, नुन, तेल लगायत अन्य आवश्यक सामग्री खरिद गरिदिए ।
दूधेका मनकारी युवाले राई दम्पत्तिका छोराछोरीको शिक्षादिक्षाका लागि पनि पहल गर्ने बताएका छन् । उनीहरुलाई आत्मनिर्भर बन्नका लागि सिप सिकाउने अर्थात् पशुपन्छी पालनमा अग्रसर गराउने तपन गुरुङले बताएका छन् । ‘हामी उहाँहरुको पुनस्र्थापनाका लागि पहल गर्नेछौ’– गुरुङले भने ।
आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म विचल्लीमा परेका मानिस वा परिवारको सबैले उद्धार गर्नु मानिसको सबैभन्दा ठूलो धर्म भएको स्थानीय युवा शक्तिमान थाम्सुहाङले बताए । उनी भन्छन्– नेपालको कानूनमा मौलिक हकमा पनि कोही पनि नागरिक भोकै र नाङ्गै हिड्न पर्ने छैन भनेर लेखिएको छ । तर, नागरिक सडकमा यसरी गाँस, बास र कपासको खोजीमा भौंतारिरहेका छन्, यस्ता परिवारलाई सरकारले कहिले देख्ला ?’