मरिच, सुपारी, केराउ र छोकडाको आयातमा अझै रोक

0
967

लक्ष्मी उप्रेती
काँकरभिट्टा । नेपाल सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि काँकरभिट्टा नाका भएर चालूआर्थिक वर्ष २०७७÷०७८को पहिलो चौमासिक अवधिमा ती वस्तुको आयात शून्य भएको छ । जसले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजश्व सकंलन समेत प्रभावित भएको बताइएको छ ।

समुद्रपारका मुलुकबाट नेपाल आयात भई अनधिकृत रूपले भारत निकासी हुने वस्तुमध्ये यी ४ वटा मुख्य कृषिजन्य वस्तुको आयातमा सरकारले २०७६ चैत १६ बाट तत्कालका लागि रोक लगाएको मेची भन्सार कार्यालय काँकरभिट्टा जनाएको छ ।

कार्यालयको तथ्याङ्क शाखाले दिएको जानकारी अनुसार हरियो मटर (केराउ) बाहेक बाँकी तीनवटा कृषिजन्य वस्तुको आयात शून्य छ । सरकारले निर्णय गर्नुभन्दा पहिले एलसी खोलिएका मरिच, केराउ, सुपारी र छोकडाको पैठारीमा रोक नलगाउने व्यवस्था गरे अनुसार हरियो मटर (केराउ) बाहेक बाँकी तीनवटा कृषिजन्य वस्तुको आयात भइसकेको तथा हरियो मटर (केराउ) सरकारी निर्णय अघिकै एलसीबाट आयात भएको भन्सार अधिकारीहरुको भनाइ छ । सरकारले निर्णय गर्नुभन्दा अघि एलसी खोलिएका, सिपमेन्ट भएका वा डिएपी र टीटीमा आयात गर्न लागिएका यस्ता वस्तुको पैठारीमा रोक लगाउन नपाइने व्यवस्था थियो ।

चालूआर्थिक वर्ष २०७७÷०७८को साउनदेखि कात्तिकसम्म पहिलो चौमासिक अवधिमा काँकरभिट्टा नाका भएर ४ लाख २ हजार ५ सय ८७ रुपैयाँ मूल्य बराबको १० लाख ३ हजार ९ सय ९५ केजीएम हरियो मटर (केराउ) आयात भएको छ । सो वापत कार्यालयले ६ लाख ३ सय ९१ रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को यही अवधिमा यो नाका भएर १९ करोड २६ लाख १२ हजार ४ सय ७९ रुपैयाँ मूल्य बराबरको ४६ लाख ५ हजार ४ सय १० केजीएम हरियो मटर (केराउ) आयात गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाले १ करोड ६० लाख २६ हजार २ सय ३९ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७को यही अवधिमा यो नाका भएर ११ करोड २७ लाख ८४ हजार ९३ रुपैयाँ मूल्य बराबरको ९ लाख ४ सय ८० केजीएम सुपारी आयात भएको थियो । सो वापत कार्यालयले ६ करोड ९१ लाख १३ हजार १ सय १९ रुपैयाँ राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्म पहिलो चौमासिक अवधिमा काँकरभिट्टा नाका भएर सुपारीको आयात ठप्प हुँदा कार्यालयको राजश्वमा पनि गम्भीर धक्का पुगेको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार कूल राजश्वको करिव ८देखि १० प्रतिशत हिस्सा सुपारीले ओगटेको थियो ।

यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७६÷०७७को यही अवधिमा यो नाका भएर २४ करोड ७ लाख ६० हजार ८ सय १० रुपैयाँ मूल्य बराबरको ५८ हजार केजीएम मरिच आयात हुँदा ८८ लाख १४ हजार ८ सय ५० राजश्व संकलन भएको थियो भने ३ करोड ६८ लाख ६६ हजार २ सय ८ रुपैयाँ मूल्य बराबरको ४ लाख ३७ हजार ३ सय ५० केजीएम छोकडा आयात भएको थियो । त्यस वापत कार्यालयले १ करोड ४ लाख ६२ हजार २ सय ७८ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

तर, चालूआर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्म पहिलो चौमासिक अवधिमा काँकरभिट्टा नाका भएर यी दुवै कृषिजन्य बस्तुको आयात ठप्प छ । केही महिना नेपालमा सुपारी, मरिच, केराउ र छोकडा नभए पनि कुनै असर नपर्ने भन्दै आयात रोकिएको हो । व्यवसायीहरुले कोरोना भाइरसका कारण नेपालको पर्यटन उद्योग नराम्ररी खस्किएको बताएपछि उद्योगका लागि कच्चा पदार्थका रुपमा मरिच आवश्यक पर्ने जिकिर गरे लगत्तै आयात फुकुवा भएको भन्सार अधिकारीले बताए । शुरुमै सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि आयातकर्ताले विभिन्न खाले प्रतिक्रिया व्यक्त गरेका थिए ।

सरकारले चार मुख्य वस्तुको आयातमा रोक लगाएर नेपालमा भारतीय मुद्राको अभाव गराउन खोजेको व्यवसायीहरुले आरोप लगाएका थिए । सरकारले नेपालमा २ वर्षका लागि पुग्ने केराउ, मरिच, छोकडा र सुपारी रहेको जिकिर गरेको थियो । तर, व्यवसायीहरुले त्यसमा सत्यता नभएको भन्दै टिप्पणी गरेका थिए । नेपाल सरकारले रोक लगाइएका मालवस्तु नेपालबाट भारततर्फ नै जान्छन् भन्ने कुरा सवैमा अवगत नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here