बुधबारे, जेठ ४ । आदर्श युवा क्लब बुधबारे झापाले आयोजना गरेको दोस्रो आदर्श च्यालेञ्ज नकआउट फुटबल प्रतियोगिताको आइतबारको खेलमा मुनाल विजयी भएको छ ।
मुनालले स्पर्धी इटहरीको राष्ट्रिय जागृति क्लबलाई ४–० गोलले पराजित गरेको हो । मुनालको जीतसँगै सेमिफाइनल यात्रा तय भएको छ । मुनालका लागि कर्ण लिम्बूले खेलको ३६, सानुका लिम्बूले ४७, शक्ति राईले ७६ र रेजिन लिम्बूले ८१औँ मिनेटमा गोल गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
खेलको म्यान अफ दी म्याच घोषित मुनालका कप्तान युगलकिशोर राईलाई वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ले उपहार प्रदान गरे । सोमबारको खेल उर्लाबारी एफसी मोरङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक क्लबका अध्यक्ष मनेष दाहालले जानकारी दिए ।