नेत्रप्रसाद घिमिरे,सहकारी अधिकृत
डिभिजन सहकारी कार्यालय झापा
डिभिजन सहकारी कार्यालयको काम के हो ?
कार्यालयको काम एक वाक्यमा भन्दा सहकारी संघ संस्थाको दर्ता,नियमन, प्रवर्धन, पुरस्कृत र दण्डित गर्ने हो । सहकारी संघ संस्थाहरु मार्फत समाजको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरणमा सहकारी व्यवसायलाई सहजिकरण गर्नु हो ।
झापामा सहकारीको अवस्था कस्तो छ ?
झापाको हरेक गाविस र वडामा सहकारीको सञ्जाल विस्तार र विकास भएको छ जसबाट झापाली जनताको वित्तीय सेवामा सहज पहुच पु—याएको अनुमान गर्न सकिन्छ । सहकारीले ग्रामिण क्षेत्रलाई आर्थिकरुपमा चलायमान बनाउन महत्वपूण सहयोग गरेको छ । आदिवासी जनजाति महिलाहरुमा लघुवित्तमार्फत सशक्तिकरण गर्नमा सहकारीमार्फत सहयोग प्राप्त भएको छ । नेतृत्व विकास, बचत गर्ने बानीको विकास, समूह भावनाको विकास, समाजको लोकतान्त्रिकरणमा सहकारीले योगदान गर्दै आएको छ । पछिल्लो अवस्थामा सहकारीहरु समुदाय केन्द्रित हुदै गएका पनि छन् । झापा जिल्लामा जिल्ला संघ एक लगायत विषयगत संघहरु नौ वटा,प्रारम्भिक सहकारीहरु ७७८ वटा रहेका छन् । तिनमा बहुउद्देश्यीय १३०, बचत तथा ऋण २७९, कृषि २६२, दुग्ध २४, सुपारी २१, विद्युत ५, चिया ६, तरकारी १०, उपभोक्ता १३, जडिबुटी १७, मौरीपालन १, स्वास्थ्य ३, पर्यटन १, विविध सहकारी ६ गरी जम्मा ७८७ वटा सहकारी संघ संस्थाहरु क्रियाशिल रहेका छन् । यी संस्थाहरुबाट करिब एक अर्बको शेयर, ९० करोड संस्थागत कोष, ६ अर्बको बचत÷निक्षेप, लिएको ऋण करिब एक अर्ब, कर्जा लगानी करिब ८ अर्ब रहेको र तत्कालीन साझा संस्था र समस्याप्रद केही सहकारी बाहेकको खराब ऋणको अवस्था समग्रमा कुल लगानीको ५ प्रतिशत भन्दा कम नै रहेको तथ्यांकले बताउछ । यसरी वार्षिक सप्पूर्ण संस्थाको एकिकृत गर्दा करिब १० अर्वको वासलात तयारी हुन्छ । यो कारोबारमा नेपाल बहुउद्देश्यी, सहारा नेपाल, कर्णाली, मेची दमक, मेची कृषक, सुर्यदर्शन, स्वर्णलक्ष्मी, शुभलक्ष्मी, डाफे, राष्ट्रिय बहुमुखी, कन्चनजंगा,लक्ष्मी, पूर्व नेपाल,नवोदय सहकारीको मात्र ७५ प्रतिशत कारोबारको हिस्सा हुन जान्छ । छोटो अवधिको बचत तथा ऋण पनि समावेश हुने भएकाले यो कारोवार तलमाथि भैराखेको हुन्छ ।
सहकारीका समस्या र चुनौति कस्ता छन् ?
सहकारी कानुन परिमार्जन हुन नसक्नु, सक्षम र इमान्दार सार्वजनिक प्रशानिक संरचनाको कमी हुनु, सहकारी क्षेत्रलाई व्यवहारमा कम प्राथमिकतामा राखिनु, जनताले सहकारी र बैक एउटै अर्थमा बुझ्नु, संघहरु निष्पक्ष र सबलरुपमा स्वनियमन गर्ने हैसियतमा नहुनु, सहकारी कारोवारवारेको स्पष्ट कानुनी व्यवस्था नभएकाले सहकारीको कारोवारलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन कठिनाइ भएको छ । सहकारी क्षेत्रलाई दिइने अनुदान, कर छुट, ऋणमा अस्पष्टता विद्यमान हुनु, सहकारी शिक्षाको प्रभावकारी व्यवस्था नहुनु, डिभिजन सहकारी कार्यालयको संस्थागत सुदृढीकरण हुन नसक्नु आदि सहकारी क्षेत्रका मुख्य समस्या र चुनौतिहरु भन्ने लाग्छ ।
झापाका समस्याग्रस्त सहकारीको संख्या कति छ ?
गत वैशाख २४ गते ७८७ मध्ये २०० संस्थाहरुले साधारण सभा नगरेकाले दर्ता खारेजी गर्ने भनेर कार्यालयले ३० दिने सूचना सार्वजनिक गरेको पनि छ । त्यसमा करिब १०० वटा सहकारी झोलामा रहेको अनुमान छ ती समस्या नभएर विकृति हुन् त्यस्तालाई काम नगरे दर्ता खारेजी गरे पुगिहाल्छ । बाकीमा धेरथोर समस्या रहेको देखिन्छ हामी खोजि गरिरहेका छौ । झापामा पुराना २० वटा साझा सहकारी त समस्याग्रस्त नै छन् ति बाहेक पछिल्लो अवस्थामा केही नयाँ सहकारीहरुले न्यूनतम वित्तीय अनुशासन कायम गर्न नसक्दा समस्याग्रस्त हुने वाटोमा लागेको अनुमान गरिएको छ । ती संस्थाहरुको अनुसन्धान गर्ने काम भैराखेको छ । बचत तथा ऋणको कारोवार मै बढी समस्या रहेको छ ।
सहकारीका विकृति के के हुन् ?
समग्र देशको अवस्थालाई हेर्ने हो भने सहकारीका विकृति भनेको सहकारी सिद्धान्त र कानुन विपरीत सहकारीमा परिवारवाद हावी हुनु, व्यापारीकरण प्रवृति हावी हुनु,अत्यधिक राजनीतिकरण हुनु, सहकारीलाई राष्ट्रिय एजेन्डा बन्न नदिनु, सहकारीलाई पसलको रुपमा लिनु, लोभ देखाइ बचत संकलन गर्नु, कमिसन वेसमा बचत संकलन गर्नु, कृत्रिम लेखापरीक्षण प्रतिवेदन तयार हुनु, सञ्चालकहरुले सहकारीको स्वायत्ततालाई चरम दुरुपयोग गर्नु, सहकारी बुझेका मान्छेहरुले राजनीतिक चस्माका आधारमा समस्या समाधान गर्न खोज्नु, कथित सहकारी विज्ञहरुबाट सहकारीभित्रका विकृतिहरु ढाकछोप गर्न समूहगत रुपमै सहयोग गर्नु,अलिकति बजार देख्यो कि विना इजाजत सेवाकेन्द्र, शाखा खोली बचत संकलन गर्नु, पुजिपतिहरुले व्यापार व्यावसायका लागि रकम संकलन गर्ने माध्यम बनाउनु, बैकिंग क्षेत्रका खेलाडीहरु सहकारीमा छिर्नु, राजनीतिक पार्टीहरुले समग्र समाजका किसानको हितभन्दा पनि सहकारी मार्फत आफ्ना कार्यकर्तामुखी भएर काम गर्ने परिपाटी हुनु यस क्षेत्रका प्रमुख विकृति हुन् । मूलत सहकारीमा दुई खालका विकृतिहरु रहेका छन् पहिलो सहकारीलाई व्यक्तिगत दाम कमाउने रुपमा लिइ ठगि गर्ने व्यापारीकरण गर्ने प्रवृत्ति जसको परोक्ष रुपमा बलियो सञ्जाल कायम रहेको अनुमान छ भने अर्को सहकारीभित्र गर्नै नहुने राजनीतिक कार्यकर्ता उत्पादन गर्ने स्थानको रुपमा सहकारीलाई प्रयोग खोज्ने र राजनीतिक स्वार्थका लागि सस्तो लोकप्रियतामा रमाउन खोज्ने सस्ता भाषणबाजी गर्ने राजनीतिक संस्कार यी दुवै सहकारीभित्रका विकृत रुप हुन् ।
विकृति बढ्नुमा कस्लाई दोषी देख्नुहुन्छ ?
विकृति बढ्नुमा सबैभन्दा दोषी सहकारी सञ्चालन गर्ने सञ्चालकहरु नै हुन किनभने निहित स्वार्थ पूरा गर्न सहकारी सिद्धान्त लत्याउने त उनीहरु नै हुन् नि । सस्तो प्रचार नारावाजी र सस्तो भाषणवाजी गरेर भ्रम छर्नमा धेरै सञ्चालक लागेको पाइन्छ । त्यसपछि राज्य पनि दोषी छ किन भने वित्तीय क्षेत्रमा करिब २० प्रतिशत योगदान गर्ने करिब ५० लाख मानिस संगठित भएको भनिएको सहकारी क्षेत्रलाई उदारीकरणको नाममा नियमन र प्रवर्धन गर्ने प्रभावकारी कानुन, प्रशानिक संरचना, कार्यक्रम बजेट र दक्ष जनशक्ति व्यवस्थापन गर्नमा उदासिनता देखाउनु तथा सहकारी क्षेत्रमा सरकारी बजेट न्यून मात्र विनियोजन हुने गरेको छ । राज्यले यस क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्न सकेन, उद्यमशिलता विकासमा सहजीकरण गर्न सकेन, सबैलाई एउटै डालोमा राखेर मूल्यांकन गर्ने परिपाटी पनि राज्यको कमजोरी हो र सहकारीमा कारोबार गर्ने सदस्यहरु पनि त्यत्ति कै दोषि छन् किनभने आफूले पसिना बगाएर कमाएको रकमलाई क्षणिक आवेग र लोभमा नजानी नवुझी सदस्य नवनी सहकारीमा जम्मा गर्नु र कारोवार गरेपछि सदस्यले निर्वाह गर्ने भूमिका निर्वाह नगर्नु अर्थात सहकारीलाई बैकको रुपमा सदस्यले बुझ्नु र सञ्चालकले पनि यहिरुपमा बुझाउनु । अर्थात सञ्चालक, राज्य, सदस्य तीनै पक्षको कमजोरी रहेको छ ।
सबै सहकारी उद्देश्य अनुसार चलेका छन् त ?
नेपालमा १६ प्रकृतिका सहकारी दर्ता भए पनि सबैले वित्तीय कारोवार मात्र गरेका छन् । बहुउद्देश्यीय भने पछि वित्तीय कारोवार मात्र गर्ने कि अन्य आर्थिक, सामाजिक उद्यमहरु पनि संचालन गर्ने ? सकिन्न भने बचत तथा ऋण सहकारीमा परिवर्तन गरे भै गयो नि । कृषि सहकारीले सहकारी खेती नगरे बचत तथा ऋण सहकारीमा परिवर्तन गरे भै गयो नि । राज्यबाट सहुलियत लिन कै लागि कृषिका अनेक नाममा संस्था दर्ता गरिएका छन् । कति त अनुदान, ऋण प्राप्त र कर छुट कै लागि सहकारी दर्ता गर्ने चलन छ । संघको नेतामा निर्वाचित नहुदा अनेक विषयका सहकारी दर्ता गर्ने गलत प्रवृत्ति नेपालमा बसाउन खोजियो । साच्चिकै सहकारीका सिद्धान्तलाई सहकारीका उद्देश्य मान्ने हो भने उद्देश्य अनुसार चलेका सहकारी औलामा गन्न सकिन्छ । तर सबैले वित्तीय कारोवार मार्फत समाजमा आर्थिक क्रियाकलापलाई गतिशिल र चलायमान बनाउन सहकारीको भूमिका अवश्य रहेको छ ।
कतिपय सहकारीमा राखेको सर्वसाधारणको पैसा जोखिममा परेको छ नि ?
आधिकारिक रुपमा प्रमाणित भइसकेको छैन । झापामा पनि काठमाण्डौको समस्या छिटपुट देखिन नथालेको होइन । तर यो जोखिम सहकारीबाट भन्दा पनि गैर सरकारी संस्था दर्ता गरी वित्तीय कारोवार गर्ने तर जनतालाई सहकारी भनेर झुक्याउने विना धितो करोडौ लगानी गरेको देखाउने एउटा योजनाबद्धरुपमा सहकारीलाई बदनाम गरी रातारात धनी बन्ने सपना देख्ने केही ग्रुपबाट भएजस्तो देखिन्छ । यसको अनुसन्धान भैराखेको छ । यसलाई सरकार भन्दा पनि अभियानले प्रशासनको सहयोग लिएर अग्रसरता लिएर काम गर्ने हो जोखिम व्यवस्थापन गर्न सकिने सम्भावना रहेको छ ।
अनि कतिपय नाम चलेकै झापाका सहकारीका सञ्चालकले सर्वसाधारणलाई लगानीका लागि व्याज अनुदानमा लिएको र वचतकर्ताको रकम आफ्नो निजी व्यापारमा लगानी गरिरहेको सुनिन्छ । के यो सत्य हो ?
हो कतिपयले राज्यबाट तथा वित्तीय संस्थाबाट लिएको यस्तो प्रकृतिको रकममा चर्को व्याज असुल गरेको देखिएको छ । हिजो पैदल हिड्ने सञ्चालकहरु आज आफूलाई मालिक सम्झन्छन् तिनीहरुको वर्ग फेरिएको छ । खोल सहकारी भएपनि ह्दय शोषकको भइसकेको छ । तर सदस्य जहीको तही यसको सिधा अर्थ तपाइ आफै बुझ्नुस् । सदस्यहरुको रकम मनपरीतन्त्र साच्चिकै डरलाग्दो छ सहकारीमा । सबैमा यस्तो छ भन्न खोजिएको होइन तर सहकारीमा यो पनि समस्या रहेको छ ।
सहकारीलाई सीमित व्यक्तिले कमाउने धन्दा,राजनीति,विकृति,समस्याबाट मुक्त राख्न के गर्नुपर्छ ?
प्रभावकारी कानुन, इमान्दार र सक्षम प्रशासन, चेतनशिल जनता भएको अवस्था सिर्जना भएपछि धेरै समस्या आफै समाधान हुनेछन् । यसमा राज्य लाग्नुपर्ने देखिन्छ । सहकारी समुदायमा आधारित, समुदाय केन्द्रित,समुदायका लािग र समुदायद्धारा नियन्त्रित प्रजातान्त्रिक व्यवसाय भएकाले मेरो व्यवहारिक अनुभवमा र सहकारी सिद्धान्त अनुसार पनि सहकारीहरुवीच बाध्यकारी एकीकरणको नीतिको कार्यान्वयन गरिनुपर्दछ । नजीर नबस्नेगरी एकीकरण गर्दा एकपटकलाई सहकारी मापदण्ड भन्दा बाहिरकालाई विकास बैकमा जाने बाटो खुला गर्दा समस्या समाधान सहज हुन्छ । ठाँउ विशेषका निर्यातयोग्य उच्च मूल्यका कृषि उत्पादन, उद्योग सञ्चालन गर्ने सहकारी बाहेक हालका बचत तथा ऋणको कारोवार गर्ने सबे बहुउद्देश्यीय, बचत तथा ऋण र कृषि सहकारीहरुलाई एक आपसमा एकीकरण गर्दै हाललाई एक घर एक सदस्य, एक गाविस एक सहकारी र एक नगरपालिका बढीमा १० सहकारीको अवधारणा लागू गरी सबै नेपालीलाई सहकारीमा आवद्ध गरी हालको कृषि र गरिबी निवारणको बजेट सिधै ती संस्थाहरुबाट परिचालन गर्ने प्रजातान्त्रिक संरचना निर्माण गर्ने हो भने हालका समस्याहरु स्वत समाधान हुने र देशमा सहजै सहकारी मार्फत आर्थिक क्रान्तिमा टेवा पुग्ने मेरो अनुमान र विश्लेषण रहेको छ । सहकारी खुल्ला समाज हो जहा सबै फूलहरु स्वतन्त्ररुपमा फुल्ने वातावरण निर्माण होस् जसले सामूहिक उत्पादन र वितरण प्रणाली स्थापना भइ समानतामा आधारित समृद्ध समाजको स्थापना हुनसकोस् ।
प्रस्तुतिःएकराज गिरी