चित्तहारी चिरञ्जीवी

0
511

Lekh of Chiringivi
किसान बूढो उनको परिचय । नेपाली कांग्रेसका नेता तथा सभासद् केशवकुमार बुढाथोकीले समेत किसान बूढो नै भनेर बोलाउँछन्– उनलाई । कनकाई नगरपालिका– ६ ,मन्सापुर (साविक घैलाडुब्बा–३) निवासी किसान बूढो हुन्– चिरञ्जीवी उप्रेती (८१) ।
खेती किसानमा अब्बल चिरञ्जीवी झण्डै दुई दशकअघि एक बालीमा २४ सय मनधान र १४ सय मनसम्म आलु फलाएको अनुभव सुनाउँछन् । उसबेला घैलाडुब्बामा ५३ र बाह्रदशीमा ६० विगाह जग्गा थियो रे उप्रेती परिवारको । बाह्रदशीको जग्गा सबै अधिया, ठेक्का लगाएको र घैलाडुब्बाको चाहि आफै गर्ने गरेको बताउँछन् उनी ।
किसानका नेता नै बनेका उनी उसबेला भूमिगत कम्युनिष्ट राजनीति र पञ्चायतमा समेत सक्रिय थिए । अहिले भने कांग्रेस हुन चिरञ्जीवी । भूमिगत रुपमा कम्युनिष्ट राजनीतिमा लामो समय बिताएका चिरञ्जीवी २०१९ सालमा तत्कालीन राजा महेन्द्रले कम्युनिष्टहरुलाई भूमिगतबाट मुक्त गरेको घोषणासँगै बाहिर आएका थिए । पार्टीले पञ्चायतभित्र पनि आफ्ना मान्छे छिराउन जनपक्षीय उम्मेदवारको रुपमा चिरञ्जीवीलाई अघि सारेको थियो । सोही अनुरुप २०२१ सालमा पञ्चायतमा प्रवेश गरे उनी अनि सोही बर्ष वडा अध्यक्ष समेत भए । सोही क्रममा अग्रसर हुँदै उनी ०३९ सालमा घैलाडुब्बाको प्रधानपञ्च नै बने । २०४४ सालमा जिल्ला किसान संघको सभापति बनेका उनी त्यसताका जिल्ला पञ्चायतको पदेन सदस्य थिए ।
प्रधानपञ्च हुँदा उनले आफ्नो अगुवाइमा थुप्रै विकास निर्माणका काम गरेका छन् । घैलाडुब्बाको लक्ष्मीपुर दक्षिण लकडीगद्दीसम्म ग्राभेल उनकै अगुवाइमा भएको बताइन्छ । उसबेला जे जति बन्यो त्यसपछि अहिलेसम्म उक्त बाटोको स्तर नसुध्रेको स्थानीय बताउँछन् । त्यस्तै चप्रामारीबाट दुर्गापुर आउने सीधा छ किलोमिटर बाटो निर्माण (बनाउने) काम उनको अगुवाइमा भएको रे ।
सामाजिक संघ–संस्थामा रहेर पनि उनले लामो समय सेवा गरेका छन् । ०६८ सालमा लगातार २२ बर्ष चम्पापुर माविको अध्यक्ष थिए उनी । घैलाडुब्बाको आदर्श विद्या मन्दिर, भृकुटी उमावि, सुरुंगाको कनकाई उमाविमा समेत सदस्य रहेर सेवा गरेका थिए चिरञ्जीवीले । अहिले धार्मिक कार्य र बन्धु सेवामा क्रियाशील छन् उनी । ०५१ सालतिर सुरुंगाको टप्पुमा १७ लाख खर्च गरेर माता–पिताको स्मृतिमा कृष्ण प्रणामी मन्दिर बनाइदिएका छन् भने सोही मन्दिरमा पूजा खर्चका लागि सात लाखको अक्षयकोष खडा गरिदिएका छन् । उनी आफूपनि कृष्ण प्रणामी सम्प्रदायका हुन् । ०४१ सालमा बुबा भवानी, चिरञ्जीवी र दाजुभाइ तथा उप्रेती परिवार मिलेर १० लाख रुपैयाँ खर्च गरी तेह्रथुमको आठराइबाट पाँचथर सिंगापुर जोड्न तमोर नदीमा झोलुङ्गे पुल समेत हाले ।
सामाजिक सेवामा सक्रिय भइ लाग्ने उप्रेतीले आफ्नो लाखौं सम्पत्ति विभिन्न विद्यालय, मन्दिर र विकासका काममा दानस्वरुप समर्पण गरेका छन् । अहिले उनी उप्रेती समाजसेवा समितिका अध्यक्ष हुन् । बिर्तामोड पश्चिम बस स्टेण्डबाट थोरै दक्षिणमा समितिले दुई करोड २५ लाख रुपैयाँको लागतमा भव्य अतिथि सदन निर्माण गर्दैछ । अढाइ तले अतिथि सदनका लागि उप्रेतीले साढे आठ लाख रुपैयाँ सहयोग गरेका छन् । हाल आफ्नो घरबाट केही पश्चिम भवानी खानेपानीका लागि सात कठ्ठा जग्गा दान दिएका छन् उनले । आफ्ना पिताको नाममा खानेपानीका लागि जग्गा दिएर निर्माण कार्य आधाउधी भएपछि रोकिएकोमा दुःखी छन् उनी ।
भवानीप्रसाद र हिमादेवीका साहिला छोरा भइ तेह्रथुमको इवा आठराईमा जन्मेका हुन् उनी । दाजुहरु चन्द्रप्रसाद र मनोहरिको सानैमा मृत्यु भएको रे । भाइहरु मेदनी, डा. बासुदेव र महेन्द्र छन् । चिरञ्जीवीका चार छोरा, एक छोरी । जेठा कृष्णकमल अमेरिकामा फिजिस डाक्टर छन् । माइला एकराज सफल पेट्रोलियम व्यवसायी । उनको चारपाने–रामचोकमा आश्मा ट्रेड एण्ड सप्लायर्स पेट्रोल पम्प छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन केन्द्रीय सदस्य एकराज सामाजिक सेवामा उत्तिकै सक्रिय छन् । छोरी मीरा र छोरा सुवास काठमाडौंमा छन् । कान्छा छोरा दीपेन्द्रको परिवारै अष्ट्रेलियावासी ।
तेह्रथुमका मान्छे उनी र उनको परिवार किन झ¥यो त झापा ? जिज्ञासामा चिरञ्जीवीको जवाफ थियो– जातीय रुपमा केही जातिहरुको बर्चश्व रहेको त्यस ठाउँबाट उनीहरुको थियचोमिचोका कारण अन्य सबै जाति, थरी विस्थापित भए । ००७ सालताका जातीय थिचोमिचो हिंसात्मक बन्दै गएपछि सहन नसकेर अरुसँगै उप्रेती परिवार पनि बाटो लाग्यो । बाटामा टेक्ने ठाउँ थिएन, आँखाले भ्याएसम्म सबै मानिस थाकथलो छोडेर तराइ झरेको लस्कर देखिन्थ्यो । उनी भन्दै थिए–आफ्नै देशभित्र शरणार्थी बनिरहेको पीडादायी स्थिति । १६ दिन हिंडेपछि हामी सुखानी कैदले आइपुग्यौं । सोही बेलुका घैलाडुब्बा आइपुग्यो हामीसँग सय परिवारको लस्कर । एक महिना शरणार्थी जीवन विताइयो । स्थानीय अग्रजहरुले चामल बाँड्थे । त्यसक्रममा उताबाट ल्याएको गुन्द्रुक पनि सकियो । दिनहरु झन दुःखद् बन्दै गए ।
यहाँ फेरि अर्को पीडा । आदिवासी समुदायले आफूले खनेको इनारमा पानी खानै नदिने । त्यस्तो स्थितिमा बुद्धि लगायो उप्रेती परिवारले । प्रशस्तै तरकारी पनि लगाउथे आदिवासी । मित लगाएर साइनो गाँसेपछि पानी खान सहज भो, तरकारी पनि दिनथाले– चिरञ्जीवी भन्छन् । त्यसबेला बाह्रदशीको कञ्चनपुरडाँडा साधुकुटीमा पानीको धारा थियो । धाराको पानी खान पाइन्छ भनेर उप्रेतीसहित केही परिवार त्यहीँ गयो, सात दिनसम्म बसे उनीहरु । चप्रामारीमा झोडा फाँड्न शुरु भएको थियो । झोडा फाँड्न उनीहरुप्रति त्यतै लागे, तर बस्न सकेनन् । पछि जयपुरमा झोडा फडानी खुल्यो भन्ने सुनेर उतै लागे । त्यहाँका अगुवाहरुले उप्रेती परिवारलाई शरणार्थी भनेर सात विघा झोडा दिए । दुई विगाह फाड्दा नफाड्दै सबैलाई ज्वरोले थला पारेपछि बाँच्नका लागि मन्सापुरतिर हानिए उनीहरु ।
श्रीप्रसाद ओली र चिरञ्जीवीको परिवारले मन्सापुरमा दुई हजारमा १० विघा जग्गा किन्यो । त्यससँगै दुई हन्जा भैंसी पनि । अहिले पनि त्यहीं छ उनीहरुको बसोबास ।
बाध्यताबश तीन वटा विवाह गरेका चिरञ्जीवीको आफ्नै पीडा छ । ११ बर्षको छँदा २००३ सालमा १० बर्षीया टीकादेवी विमलीसँग विवाह बन्धनमा बाँधिए चिरञ्जीवी । पछि स्थिति सहज हुन थालेपछि उनी झापा आउँदै तेह्रथुम जाँदै गर्दै थिए । २०१० सालमा टीकादेवीको मृत्यु भयो । ०१२ सालमा झापा झरे, त्यही बर्ष गंगादेवी चुडालसँग उनको विहे भएको थियो । ०१४ सालमा गएर गंगादेवीलाई झापा मै ल्याए । आएको १० दिनमै उनको पनि निधन भयो । पीडैपीडाबीच ०१७ सालमा इश्वरादेवी सिटौलासँग विवाह बन्धनमा बाँधिए । छोराछोरी व्यापार–व्यवसाय र घरगृहस्थीका लागि अलग्गिए पछि अहिले चिरञ्जीवी र इश्वरादेवी मात्र छन् मन्सापुिरको घरमा ।
जीवनको उत्तराद्र्धमा चिरञ्जीवी उत्तिकै हष्टपुष्ट–स्वस्थ छन् । स्वस्थताको रहस्यबारे हाम्रा जिज्ञासामा उनले भने – ‘माछामासु कहिल्यै खान्न, विहान तीन बजे उठ्छु । दैनिक आठ किलो मिटर पैदल हिंड्छु, ४० मिनेट योगा गर्छु । विहान नुहाउँनै पर्छ । दाल, भात, तरकारी र दही, दुध प्रशस्त खान्छु । राति ९ बजे सुतिसकेको हुन्छु ।’
जस्तोसुकै मानिसलाई पनि छिट्टै प्रभाव पार्न सक्छन् उनी । चिटिक्क देखिन्छन् । उनी मनमोहक र आकर्षक– चित्तहारी लाग्छन् । हँसिलो, ठट्यौली र जवान उमेरझै गफ गर्ने स्वभावका चिरञ्जीवी देश र देशवासीप्रति भने चिन्तित छन् । उनी यो पटक संविधान बन्नेमा ढुक्क छन् । देश र जनताको लागि राम्रो गर भन्ने सन्देश छ नेताहरुलाई उनको । मुलुकमा नेता प्रशस्त छन् तर राजनेता कोही नभएकोमा दुःखी छन् । तै भएकालाई उनको सल्लाह छ –‘नेपाल बनाउने हो भने विद्युत उत्पादनमा जोड देऊ । मुलुकलाई लोडसेडिङमुक्त राख । विद्युत भएपछि उद्योग खुल्छ । विदेश जाने जनशक्तिले यहीं रोजगार पाउँछ । अनि बन्छ नेपाल समृद्ध ।’
प्रस्तुति एकराज गिरी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here