म को हुँ ?

0
1201

आज किन शून्य लागेको छ यो मन, हेर्छु जताततै अन्धकार मान्छेको सोचेको प्रकाशलाई विकृतिको कुहिरोले झ्याम्मै किन डाकिरहेको मात्र देख्छु ? किन आज निःशब्द छु ? म छोरी हुँ भनेर आफूले आफ्नो पहिचान दिन किन मेरा हातहरु कापीरहेका छन् ? म छोरी हँु भनी मेरा भावनाहरुलाई लेख्न किन आज खुल्ला पृथ्वीमा म पंक्षी जस्तै स्वतन्त्र भएर हिँडन सकिरहेको छैन् ? किन अन्धकार देख्छु मेरो भविष्य अनि अधुरो लाग्छ यो संसार, सबैबाट आफूलाई टाढा पाउँदै आफूले आफैंलाई प्रश्न गर्दैछु, आखिर म को हुँ ।

जब म मेरा बन्द आँखामा भविष्यको लागि अनेक सपना आमाको गर्भमा रही सजाइरहेको हुन्छु । तर, आधुनिक जमानाका फरक धारणा भएका समाजका मानिसहरुको सोचले मेरो सपना कोपिला नलाग्दै मारिदिन्छन्, कहीँ मेरा कारण मेरी आमाले अनेक हिंसा सहेर बसेको पाउँछ अनि मन्द धमिलो मन बनाउँदै कस्तो म छोरीको भाग्यरेखा कोरिएको हुँदोरहेछ भनि आफूले आफैलाई प्रश्न गर्छु, आखिर म को हुँ ? जब प्रकृतिको सुन्दर काखमा मेरा सुनौला आँखामा अनेक सपना सजाई कहाँ खेलिरहेको, कहीँ मेरा उज्ज्वल भविष्यको निमार्ण गर्नका लागि हातमा किताब, कलम बोकी बाटोमा साना ढुङ्गा लडाउँदै आफ्नै संसारमा रमाउँदै हिँडेको हुन्छु, तब म कसैको शिकार बन्न पुग्छु, अनि त्यो परिस्थितीलाई नियाल्दै सोच्छु– आकाश छुने लक्ष्य बोकेर हिँडेको थिए । तर, म आज हावाले उडाउने दोबाटोको धुलो रहेछु भन्दै आफूले आफैलाई प्रश्न गर्छु, आखिर म को हँु ?

यो समयको खेल पनि कस्तो अचम्म र कति मिठा हुँदा रहेछन्, यी पल कति आनन्द आउँदोरहेछ । कति कष्ट सही छोराछोरीका प्रगतिदेखि आमा–बाबाको ओठमा मुस्कान देख्दा, कति स्वतन्त्र अनुभव हुँदोरहेछ, आफूले आफ्नै आवश्यक पूरा गर्ने हुँदा, तर थाह थिएन जिन्दगीमा यी पल पनि आउँदोरहेछ भनेर हिँडदा–हिँडदै कसैको शिकार बन्न, कहीँ पैसाको लागि बन्द कोठीमा बेचिन, कहीँ जङ्गलमा, कहीँ अाँगनीमा मेरो इज्जतलाई छिया–छिया बनाई मलाई फालिएको पाउँछु, अनि सोच्छु मेरो जिन्दगी बोकेर हिँडेको झोला जस्तै रहेछ जहाँ आवश्यकता पूरा हुन्छ त्यही फ्याकिने अनि फेरि प्रश्न गर्छु आखिर म को हुँ ?

यो समय सँगै उमेरको रफ्तार पनि चलिरहने हुँदोरहेछ, त्यो मिठो बाल्यकाललाई भुल्दै खेलेको आँगन, बसेको काख छोडी जब म सबै मेरा सपनाहरुलाई बन्धकी राखी कसैको घरकी श्रीमती, बुहारी, भाउजु बनी पुग्छु, कहीँ दाइजोको लागि, कहीँ काम गर्ने मेसिनको रुपमा, कहीँ ससुरा, देबरको मनोरञ्जनको शिकारको रुपमा मारी आफूलाई त्यो सेफ्टीट्यांकीमा फालिएको पाएँ । अनि सोचे सँगालेर राखेको थिए मेरो यो आफ्नो जीवन, तर आज कसैको घरमा आई उडी जाने शिकारको धुलो बन्न पुगेछु अनि फेरि प्रश्न गर्छु, आखिर म को हुँ ?

आज सबैभन्दा प्यारो लाग्ने मेरो बालकपन, मेरो सपना अनि परिस्थितीलाई नियाल्दै, त्यो आर्यघाटमा न्याय नपाई मलाई जलाउँदा उडिरहेको धँुवामा जब म आफूलाई पाउँछु अनि सोच्छु महिला राष्ट्रपति भएको मेरो देश तर आज म लामखुट्टेको जस्तै जिन्दगी लिएर हिँडनु परेको छ, म छोरी चाहिँ मान्छे होइन ? के मेरो जिन्दगी कसैको शिकार, कहीँ खोला, जङ्गल, बन्द कोठा, घरको आँगन, सेफ्टीट्यांकीमा मात्र सिमित हुने हो र म स्वतन्त्र भएर बाँच्न हिँडन पाउने अधिकार छैन ? र, मेरो न्यायको लागि लेखिएका कागजका शब्दहरु कहीँ पैसामा कहीँ कवाडीमा बिक्ने हो र ? कस्तो रहेछ यो संसार सोचेको भन्दा फरक र त्यो भन्दा भोगेको संसार खोजिरहेको छु ? निरन्तर बगिरहेको नदी सरी ओठमा मौनता, मनमा हजारांै प्रश्न अनि शून्यतामा जिन्दगी लिएर आफूले आफूलाई फेरि प्रश्न गरिरहेको छु, आखिर म को हुँ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here