झापा,भदौ २२ । नेपाल लगायतका विकासोन्मुख देशमा क्यान्सरका विरामीको संख्या बढ्दै गएको पाईएको छ ।
यसको मुख्य कारण जनचेतनाको कमी तथा चुरोट र सूर्तीजन्य पदार्थ खानु रहेको विज्ञले बताएका छन् । देखासिकी, तलतल र तनावका कारण क्षणिक आनन्द लिन धेरैजसोले चुरोट र सूर्तीजन्य पदार्थ खाने गरेका पाइएको क्यान्सर काउन्सिल नेपालले जनाएको छ ।
काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाका अनुसार चुरोट र सुर्तीजन्य पदार्थ खानेमा धेरैजसो युवा वर्गका छन् । पढाई अनुसारको काम नपाउनु, काम पाएपनि भने जस्तो नहुनु, गरेका काममा सफलता नपाउनु, धेरै महत्वकांक्षी हुनु र छिट्टै साथीहरुको लहलहैमा लाग्ने जस्ता कारण युवाहरु कुलतमा फस्ने गरेका छन् ।
नेपालमा क्यान्सर लागेका मध्ये ८० प्रतिशतले चुरोट र सुर्तीजन्य पदार्थ खाने गरेका अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार ८० प्रतिशत चुरोट र सुर्तीजन्य पदार्थ खानाले, १० प्रतिशत वंशानुगत र १० प्रतिशत विविध कारणले क्यान्सर रोग लागेको पाईएको छ । नेपालका ५३ प्रतिशत पुरुषले र ३२ प्रतिशत महिलाले चुरोट र सुर्ती खाने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।