काठमाडौँ, असोज २४ । प्रतिनिधि विवादका कारण छैटौँ पटक महाधिवेशन स्थगित भएसँगै नेपाल विद्यार्थी सङ्घले छानबिन गरी ५८ जिल्लाका महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाएको छ ।
गत भदौ २९, ३० र ३१ गतेका लागि तोकिएको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन प्रतिनिधि विवादका कारण अन्तिम अवस्थामा स्थगित गरिएकामा महाधिवेशनको सुनिश्चितताको मागसहित विद्यार्थी नेताहरु आमरण अनशन बसेपछि महाधिवेशन प्रतिनिधिको विवाद समाधान गरी पुनः कात्तिक ३० र मङ्सिर १, २ मा काठमाडौँमा महाधिवेशन गर्ने गरी मिति तय गरिएको थियो ।
नेपाली काँग्रेसको विद्यार्थी विभाग र महाधिवेशनका लागि गठित पार्टीको निर्देशक समितिको निर्देशनअनुसार नेवि सङ्घ केन्द्रीय समितिले विभिन्न जिल्लामा भएको महाधिवेशन प्रतिनिधिबारेको विवादमा छानबिन सुरु गरेको थियो ।
सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्न सङ्घको नेतृत्वका प्रतिस्पर्धी विभिन्न पक्षहरुको उपस्थितिमा गरिएको सामूहिक छलफल एवम् छानबिनबाट ५८ जिल्लाको प्रतिनिधि विवादलाई टुङ्गोमा पु¥याइएको छ ।
सङ्घको विधानअनुसार आसन्न महाधिवेशनमा लगभग दुई हजार ४०० जना प्रतिनिधिले भाग लिने जानकारी गराउँदै प्रवक्ता लामिछानेले बाँकी जिल्लाको प्रतिनिधि विवाद एवम् रोकिएका जिल्लाका अधिवेशनहरुको थप प्रक्रिया भोलिदेखि सुरु हुने बताए ।
महाधिवेशनको आन्तरिक तयारीको काम पनि भइरहेको र महाधिवेशनका लागि आवश्यक आर्थिक व्यवस्थापन र होटल व्यवस्थापनको काम तिहार अगावै सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ ।