“आम फुटबलप्रेमीको समर्थनमा सुरुङ्गा गोल्डकप सफल हुनेछ”

0
434

सुरुङ्गा जेसीजको नियमित वार्षिक कार्यक्रम अन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता हुने तयारी भएको छ । स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा हुने सो फुटबल प्रतियोगितामा नेपाल, भुटान र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता रहने तय भएको छ । नेपालीका महान पर्वहरु दशैं, तिहार, म्हः पुजा, नेपाल सम्बत, बकर ईद, छैठ लगायतका चाडवाडका अवसरमा प्रतियोगिता असोज २८ गते शुरु भएर कात्तिक ४ गते समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष युवा समाजसेवी लीलाप्रसाद चिमरियाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । सुरुङ्गा गोल्ड कप–२०७१ को तयारीको सेरोफेरोमा रहेर उहाँसँग गरिएको छोटो कुराकानी प्रस्तुत छ.

 

. 1606843_438515896277076_69557354_n

             लीलाप्रसाद चिमरिया
संस्थापक अध्यक्ष, सुरुङ्गा जेसीज

सुरुङ्गा गोल्ड कप किन आयोजना गरिएको हो ? यसको पृष्ठभूमिबारे छोटकरीमा जानकारी गराइदिनुहोस् ।
—सुरुङ्गा फुटबलका लागि झापामै प्रसिद्ध छ । विश्वका धेरैजसो मानिसका लागि फुटबल सर्वप्रिय खेल हो र सुरुङ्गाबासीका लागि पनि यो खेल अति रुचिको खेल हो । फुटबलको यही लोकप्रियतालाई आत्मसात गर्दै यस वर्ष पनि सुरुङ्गा जेसीजको नियमित वार्षिक कार्यक्रम अन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता हुने तयारी गरिएको हो । विष्णुप्रसाद पाठक, खड्ग चुडाल, स्व.खगेन्द्रप्रसाद चुडाल, भरत शिवाकोटी, भीष्म चुडाल, सन्त रायमाझी, कुमार गिरी, खड्ग रायमाझी, लयप्रसाद उप्रेती, परमानन्द लुइँटेल, डबल भण्डारी, लिलु गिरी, तिलक मगर, दिलकुमार कार्की लगायतका खेलाडीहरुले सुरुङ्गामा फुटबलको जग बसाउनु भएको हो । सुरुङ्गाका लागि फुटबल सबैको मनपर्दो खेल हो ।  सुरुङ्गा जेसीजको आयोजनामा २०६६ सालमा वडा स्तरीय फुटबल प्रतियोगिता, २०६७ सालमा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता, २०६९ सालमा फुटबल फेस्टिबल र २०७० सालमा सुरुङ्गा गोल्ड कपको पहिलो संस्करण सम्पन्न भएको थियो । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ नाराको मर्म अनुरुप युवाहरुको सृजनात्मकतालाई बढावा दिन र बन्द मुक्त पर्यटकीय क्षेत्रको रुपमा रहेको सुरुङ्गाको प्रतिष्ठा र गरिमालाई अझ माथि उठाउन सुरुङ्गा गोल्ड कपको यो दोस्रो संस्करण आयोजना गरिएको हो ।

 सुरुङ्गा जेसीजले नै गोल्ड कपको आयोजना गर्नुपर्ने कारण के हो ?
—झापा जिल्लाको लगभग मध्यभाग भएर बग्ने पवित्र कनकाई नदीको पूर्वी किनारमा अवस्थित सुरु¨ा चेतनशील नागरिकको केन्द्रीकरण भएको ठाउँ हो । शिक्षा, सभ्यता र बौद्धिक सोचको केन्द्रविन्दुको रुपमा सुरुङ्गा नेपालमै प्रसिद्ध छ । सुरुङ्गामा असीमित जोशजा“गर बोकेका, समाज परिर्वतनको यात्रामा अग्रपंक्तिमा उभिन चाहने, सिर्जनशील युवाहरुको सक्रियता रहेको छ । युवाहरुमा देखिएको विकृति र विसंगतिलाई हटाउदै समाज सुधारको यात्रामा उनीहरुलाई डो¥याउन सकारात्मक सोचका साथ युवाहरुका परिश्रमी हातहरुलाई संगठित गर्ने र उनीहरुलाई समुन्नत समाजको निर्माणमा लाग्न रचनात्मक रुपले निश्चित दिशाबोध गराउने महान उद्देश्यका साथ सुरुङ्गा जेसीजको सन् २००८ मा स्थापना भएको हो । यसले युवालाई संगठित मात्र गरेको छैन, यसले त उनीहरुमा अन्तरनिहित कलाकौशल, क्षमता तथा दक्षता प्रस्फुटन गर्न उनीहरु सहयोग पनि गरेको छ । युवाशक्तिलाई आफ्नो छातामुनि संगठित गर्दै अनुशासित, शिक्षित, विकसित र समुन्नत समाज निर्माणको अभियानमा उनीहरुको प्रतिभा, जोशजाँगर र क्रियाशीलतालाई लगाउन यो संस्था लागिरहेको छ । सुरुङ्गा जेसीज युवाका लागि सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम मात्र होइन, युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद लगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । हामी सुरुङ्गा साथै कनकाई नगरपालिकालाई नै समेटेर एउटा सबल र सक्षम स्पोर्टिङ क्लब निर्माण गर्न लागिपरेका हौं र त्यसका लागि प्रयत्न जारी छ । कनकाई नगरका सम्पूर्ण सक्रिय युवा क्लबहरु र सुरुङ्गा जेसीजको पहलमा सुरुङ्गा गोल्ड कप तथा भलिबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस लगायतका खेलहरु सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो र हामी त्यस्तो सक्षम स्पोर्टिङ क्लब बनाउनुपर्छ भन्ने मान्यतामा छौं । तर त्यो सम्भव नभए सम्मका लागि सुरुङ्गा जेसीजले सञ्चालन गर्दै आएको सुरुङ्गा गोल्ड कपलाई निरन्तरता दिइनेछ र  प्रत्येक वर्ष हामी सुरुङ्गा गोल्ड कपको आयोजना गरिरहने छौं । तसर्थ युवाहरुको चाहना बमोजिम नै बृहत्तर सोच राखेर सुरुङ्गा जेसीजले गोल्ड कपको आयोजना गरेको हो ।

गोल्ड कपको तयारी कस्तो चलिरहेको छ ?
—स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा हुने यो फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता रहने तय भएको छ । उक्त प्रतियोगितामा आयोजक सुरुङ्गा, झापा–११, उर्लाबारी फुटबल क्लब मोरङ्ग, कञ्चनजङ्घा स्पोर्टिङ्ग क्लब सिलगुडी (भारत), चर्च बोइज काठमाण्डौं, अफ्रिकन युनाइटेड काठमाण्डौं, धरान फुटबल एकाडेमी सुनसरी र फ्रेन्ड्स क्लब भुटानको सहभागिता रहने निश्चित भएको छ । प्रतिष्पर्धामा विजेता टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा कनकाई नगरपालिका–१ स्थायी निवासी गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका प्रवक्ता युवा समाजसेवी आदरणीय दाइ दिनेशकुमार पोखरेलले पहिलो पुरस्कारको घोषणा गर्नुभएको छ भने स्काईवे ओभरसिज काठमाण्डौंका निर्देशक भुपेन्द्र कडरिया र विर्तामोड शाखा सञ्चालक राजन सिटौलाले दोस्रो पुरस्कारको प्रायोजन गर्नुभएको छ । प्रतियोगिता सञ्चालन गर्न १४ लाख ७२ हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त खेल सम्पन्न गर्न म लीलाप्रसाद चिमरियाको संयोजकत्वमा श्यामकुमार पौडेल, टीकाप्रसाद जमरकट्टेल र डम्बरप्रसाद फुयाँल रहेको अनुगमन समिति गठन गरिएको छ भने सुरुङ्गा जेसीज २०१४ का अध्यक्ष शिवकुमार कडेंलको सभापतित्वमा १७ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । त्यसै गरी दिलकुमार कार्की संयोजक रहेको ५ सदस्यीय मैदान व्यवस्थापन समिति, निवर्तमान अध्यक्ष जनक कार्की संयोजक रहेको ५ सदस्यीय मञ्च व्यवस्थापन समिति, त्रिलोचन उप्रेती संयोजक रहेको पत्रचार एवम् सञ्चार समिति समेत गठन गरिएको छ । प्रतियोगितामा हुने खर्च व्यवस्थापनका लागि कुमारमणि पोखरेल संयोजक, जनक कार्की सचिव र जबिन तिम्सिना, त्रिलोचन चिमरिया र त्रिलोचन उप्रेती सदस्य रहेको आर्थिक समिति गठन गरिएको छ । यी सबै समितिसँग क्लोजमा रहेर सुरुङ्गा जेसीज–२०१४ का खेल संयोजक देबेन्द्र रिसाल सक्रियतापूर्वक लागिरहनुभएको छ । हामीमा टिम स्पिरिटको भावना छ । प्रतियोगिता सुसञ्चालनका लागि सबै साथीहरु कार्यविभाजन अनुसार आ–आफ्नो काम गरिरहनुभएको छ । खेल मैदानलाई सम्याउने र मैदानलाई प्रतियोगिताको लागि पूर्ण तयारीमा राख्न साथीहरु जुटिरहनुभएको छ । खेलको नतिजालाई जतिसक्दो चाँडो मिडिया मार्फत सार्वजनिक गर्न सञ्चार समितिको नेतृत्वमा आवश्यक संयन्त्र बनाइएको छ ।

गोल्ड कप सम्पन्न गर्न शान्तिसुरक्षाको स्थितिलाई कसरी मिलाउने योजना छ तपाईहरुको ?
—सुरुङ्गा गोल्डकपको दोस्रो संस्करणलाई सभ्य, भव्य र नमुनायोग्य बनाउन जेसीज परिवार लागिपरेको छ । शान्ति सुरुक्षाको स्थितिलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरिएको छ । एकातिर प्रहरी प्रशासनसँग तालमेल गरिएको छ भने अर्कोतिर कनकाई नगरपालिकामा  समाजसेवाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने ज्ञानज्योति युवा क्लब, सुरुङ्गा सहकार्य युवा क्लब, एभरेष्ट युथ क्लब, भृकुटी नवयुवा क्लब, सूर्योदय क्लब लगायतका युवा क्लबहरुसँग समन्वय गरी स्वयम्सेवक परिचालन गरिने तय भएको छ ।

 यो प्रतियोगिता सफल हुने प्रमुख आधारहरु के के हुन् ?

—३० हजार बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको यो प्रतियोगिताको व्यवस्थापन धेरै चुनौतिपूर्ण छ । तर हामीसँग एउटा प्रतिबद्धता छ, केही गरौं भन्ने प्रबल भावना छ । त्यसका अलावा सुरुङ्गा गोल्डकप–२०७१ सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, जिल्ला फुटबल संघ लगायत तमाम यस क्षेत्रका क्लब एवम् फुटबलप्रेमी दर्शकहरुको अगाध मायाप्रेम र सद्भाव छ हामीप्रति । दर्शकको माया, साथ र समर्थन नै हाम्रो सफलताको मुख्य आधार हो । हामीलाई विश्वास छ–हामी भव्यतापूर्वक यो खेल सम्पन्न गर्नेछौं ।
हामीले शुरु गरेको कामलाई समर्थन गर्ने समस्त सुरुङ्गावासीको उत्प्रेरणाले हामीलाई हौस्याएको छ । गोल्डकपको यो दोस्रो संस्करणको सफलता अब सुरुङ्गा जेसीजको मात्र होइन, यो त आम सुरुङ्गावासीको, कनकाई नगरवासीको, नगरका सबै राजनीतिक दल, सामाजिक संघसंस्था, बुद्धिजीवी एवम् समस्त सचेत नागरिकको हो । यसको सफलताको पहिलो जश त सुरुङ्गावासीलाई र अन्ततः सबैमा जान्छ । नैतिक, भौतिक, आर्थिक सबै हिसाबबाट हामी सहयोगको अपेक्षा गर्दछौं । सुरुङ्गाको शान, मान र प्रतिष्ठासँग जोडिएको उत्सव हो यो खेल । सभ्य, शान्त र सफलतापूर्वक यो खेल सम्पन्न गर्न सबैले आफ्नो दायित्व सम्झिदिनुहुन हामी अनुरोध गर्दछौं । मुलुकमै प्रसिद्धि कमाएको बन्दमुक्त सुरुङ्गामा हुने यो सुरुङ्गा गोल्ड कप–२०७१ सम्पन्न गरी हामी अर्को कीर्तिमान राख्न सफल हुनेछौं भन्ने विश्वास छ ।

 अन्तमा, तपाई आम झापावासी, सुरुङ्गावासी, कनकाई नगरवासीलाई के भन्न चाहनुहुन्छ ?
सुरुङ्गा गोल्डकप सफल बनाउनु हामी सबैको दायित्व हो किनभने यो स्पर्धाको सुरुङ्गा जेसीज त कारक मात्र हो, हामी त निमित्त मात्र हौं । यसको वास्तविक कर्ता त मन वचन र कर्मले हरेक सामाजिक काममा लागि पर्ने सुरुङ्गेली जनता हुन्, कनकाई नगरवासी हुन् । यो खेलको सफलताका आधार आम झापावासी खेलप्रेमी, फुटबलप्रेमीहरु हुन् । समाजका विभिन्न क्षेत्रमा क्रियाशील समस्त खेलप्रेमी महानुभाव, फुटबल खेलका अग्रजहरु, सञ्चारकर्मी मित्रहरु, व्यापारी, व्यवसायी सबैलाई यो खेल सफल बनाउन आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गरिदिनुहुन हामी जेसीज परिवार हार्दिक अनुरोध गर्दछौं ।

 

 

                                                                                                                                                                                                     प्रस्तुति / तीर्थराज खरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here