गुम्बा संरक्षणको अभावमा जीर्ण

0
565

purwanchal
गणेश अर्याल
इलाम,  असोज  २४ । पूर्वी सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको लोपोन्मुख लाप्चा समुदायको पहिचान बोकेको दुई सय वर्ष पुरानो ऐतिहासिक गुम्बा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
पूर्वी इलामको १५ गाविसमा मात्र बसोबास गर्ने लाप्चा जातिको ऐतिहासिक गुम्बा संरक्षण नहँुदा भत्किन थालेको छ । संरक्षणको अभावमा गुम्बा भत्किएर स्वरूप फेरिंदै गएको छ ।
समयमै गुम्बाको जीर्णोद्वार नगरे लाप्चाको ऐतिहासिक पहिचान मेटिने भएको छ । गुम्बा लोपोन्मुख लाप्चाको अध्ययन केन्द्रको रूपमा रहेकोले इतिहास समेत समाप्त हुने भएको सरोकारवाला बताउँछन् ।
फिक्कलको कजेनीमा ६५ रोपनी क्षेत्रफल गुम्बा परिसरले ओगटेको छ । करिब दुई सय वर्ष पुरानो गुम्बा संरक्षणका लागि पहल गर्न जिल्ला विकास समिति र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई अनुरोध गरेपनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको लाप्चा उत्थान मञ्चका वीरबहादुर लाप्चाले बताए ।
भत्किएको गुम्बामै अहिले दैनिक बिहान र बेलुकी, औंशीमा पुजाआज हुने गर्दछ । बुद्धजयन्तीका दिन भने विशेष पुजा गरिंदै आएको गुम्बाका पुजारी सोनाम लाप्चा बताउँछन् । गुम्बा ऐतिहासिक महत्वको भएकोले संरक्षणका लागि सरकारी निकायले चासो दिनुपर्ने स्थानीय लाप्चा समुदायको भनाई छ ।
गुम्बामा ४० वर्षअघि चोरी हुँदा ऐतिहासिक दस्तावेज, पुराना अभिलेख समेत हराएको थियो । त्यसबखत महत्वपूर्ण अभिलेख र बहुमूल्य सुन, हिरा, मोतीलगायत धातुका मूर्ती चोरी भएको नेकपा एमालेका स्थानीय नेता सनत पराजुली बताउनुहुन्छ । त्यतिबेलै गुम्बाको अभिलेख हराएकोले दुई सय वर्ष भन्दा पुरानो हुनसक्ने उनको भनाई छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व पूर्वी क्षेत्रमा बसोवास गर्दै आएका लाप्चा समुदायले गुम्बा बनाएको हुनसक्ने स्थानीयबासी बताउँछन् । सुरूमा काठ बङ्ग्याएर कलात्मक आकृतिमा निर्माण गरी खरको छानाले छाएको भएपनि पछि गुम्बा संरक्षण समितिले ६५ रोपनी क्षेत्रफलमा रहेको रूख विक्री गरी जस्ताको छाना लगाइएको छ ।
गुम्बामा इलामको स्थानीय लाप्चा समुदायसँगै बुद्वधर्ममा आस्था राख्ने समुदायले पुजाआजा गर्दै आएका छन् । प्राचीन शासक भनेर चिनिने लाप्चा समुदायले गुम्बालाई आफ्नो शक्तिपीठका आधारमा प्राचीनकालमा पुजा गर्दै आएको स्थानीय जानकार बताउँछन् ।
लाप्चा समुदायले गुम्बामा दैनिक पुजा गर्दै आएका छन् । वि.सं.२०४६ साल पछि स्थानीय विकास मन्त्रालबाट गुम्बा संरक्षणका लागि ३० हजार रूपैयाँ मात्र सहयोग प्राप्त भएपनि हालसम्म स्थानीयबाटै सहयोग जुटाएर सञ्चालन गर्दै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here