आज स्थानीय निर्वाचन : देशभरका ७५२ पालिकामा मतदान हुँदै

0
660

काठमाडौं,

स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ। मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्य का लागि आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ।

देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। ८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन्।

मतदानबाट ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन्। चुनावी मैदानमा उत्रिएका १ लाख ४५ हजार उम्मेदवारमध्ये ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन्।

विद्यमान कानुनी व्यवस्थाअनुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन्।

जेठ ३ गते मतदान हुने पालिका

कपिलवस्तुको महाराजगंज नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मा भने जेठ ३ गते मतदान हुनेछ। तुलसीपुर १७ मा वडाध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका लभरु चौधरी र महाराजगंजका नेपाली कांग्रेसका तर्फबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको वैशाख २७ गते मृत्यु भएपछि आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगका अनुसार स्थानीय तहका विभिन्न पदमा उम्मेदवार दिएकामध्ये ९ जनाको मृत्यु भएको थियो। तीमध्ये सुनसरीको हरिनगर गाउँपालिका, रौतहटको बृन्दावन नगरपालिका, मोरङको केराबारी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र सिराहाका सिराहा नगरपालिकाका निर्वाचन कार्यक्रम संशोधन भएका थिए। निर्वाचन कार्यक्रम संशोधन भएका ७ स्थानीय तहमा पनि आजै मतदान हुँदैछ।

निर्धक्क मताधिकार प्रयोग गर्न गृहको अनुरोध

गृहमन्त्रालयले आज हुने मतदानमा कसैको डर धम्की तथा प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न अनुरोध गरेको छ। देशभरका १० हजार ७५६ वटै मतदान स्थलमा कर्मचारी सहित सुरक्षाकर्मीहरु परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको भन्दै मन्त्रालयले निर्धक्क भोट खसाल्न अनुरोध गरेको हो।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्न सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षहरुलाई पनि मन्त्रालयले अनुरोध गरेको छ।

सरकारले शान्ति सुरक्षाको कडा व्यवस्थाको बावजुद कतैबाट डर, त्रास, धम्की आएमा वा असुरक्षा महसुस भएमा नजिकैको प्रहरी इकाई वा प्रहरीको नम्बर १०० मा वा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न भनेको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here