मेलमिलाप कार्यविधि

0
491

मेलमिलापकर्ता भनेको के हो ?

द्वन्द्वरत दुवै पक्षलाई सहजीकरण गर्न सक्ने क्षमतावान्, नैतिकवान्, तडकभडकरहित, नम्र स्वभावको दुवै पक्षलाई न्याय दिनसक्ने, अन्याय हुन नदिने बुद्धिमता, दुवै पक्षले विश्वास गरेको तालिम प्राप्त गरेको, नगरपालिका वा गाउँपालिकामा सूचीकृत भएको निडर, साहसी, दुःख, पीडा, पीर, मर्का बुझेको, निष्पक्ष भएर काम गर्ने, वडाबाट नियुक्त मेलमिलापकर्ता हुन्छन् र फाटेको मन सिलाउने, भूतभन्दा भविष्यलाई ध्यान दिने सहजकर्तालाई मेलमिलापकर्ता भनिन्छ । जो मेहनती, परिश्रमी, लचकदार, कसैलाई पनि भ्रम नपार्ने व्यक्ति मेलमिलाकर्ता हुन्छन् भने तालिम नलिएको व्यक्ति मेलमिलाप कर्ता हुन पाउँदैन । चुनौतिको सामना गर्न सक्ने, दुबै पक्षको कुरा सुन्ने मानिस र मेलमिलाप गराउन दक्ष भएको, मेलमिलाप गराउने नयाँ ढाँचा अनुसूची–४ मेलमिलापको लिखतको ढाँचा, मेलमिलाप सम्बन्धी नियमावाली–२०७० को अनुसूची–९ सँग सम्बन्धित लिखत लेख्न जान्ने मानिस मात्र मेलमिलापकर्ता हुन पाउँछ ।

मेलमिलापकर्ताले गर्न पाउने काम के हो ?

वडा प्रमुखले निवेदनमा तोक लगाएपछि निवेदन दर्ता गर्ने, निवेदकलाई सोध्ने, यो विवादमा तपाईंको मानिस ल्याउनुहुन्छ कि ल्याए एक वा दुई जनाको नाम दिनुहोस् । सो बाहेक अरु ल्याउन नपाइने र दोस्रो पक्षलाई खबर गर्ने, उही प्रश्न सोध्ने र कुन दिन र कुन समयमा भेला हुने दुवै पक्षको सहमतिमा मिति र समय तोक्ने । विवाद हेर्ने दिन र समयमा निजहरुले तोकेको मानिस बाहेक उपस्थित हुन नदिने । दुवै पक्ष उपस्थित नभई विवाद सम्बन्धी कुनै पनि कुरा नउठाउने, तर अन्य कुराहरु भने गर्न सकिने । दुवै पक्ष उपस्थित भइसकेपछि भलाकुसारी गर्ने, नमस्कार गर्ने, परिचय गर्ने र मेलमिलाप प्रक्रियाको जानकारी दिने । आचार–संहिता दुवै पक्षको सहमतिले बनाउने । त्यसपछि विषयवस्तुको जानकारी दिने साथै सुविधाको बारेमा जस्तै पानी, शौचालय आदि सम्बन्धी जानकारी दिने । एकअर्काको दृष्टिकोण बुझ्ने, निवेदन पढ्ने, सुनाउने । पालैपालो उहाँहरुले रोजेको अनुसार कुरा राख्न दिने । एउटाले बोलेको बेला अर्को बोल्न नपाउने । विकल्पको खोजी गर्ने, मूल्याङ्कन गर्ने, सहमति र सहजीकरण गर्ने । दुवै पक्ष एकै ठाउँमा बसेर छलफल सहजीकरण गर्दा द्वन्द्व समाधान नहुने जस्तो देखिए पालैपालो सहमतिमा एकान्त वार्ता गर्ने । एकान्त वार्ताका क्रममा उहाँहरुबीचको पुरानो सम्बन्धको बारेमा सोधखोज गर्ने । गोपनीयता भङ्ग नगर्ने, गम्भीर प्रकारको फौजदारी मुद्दा नहेर्ने, एक दिनमा मिल्न नसक्ने भए पटक–पटक बोलाउने र ६० दिनभित्र मेलमिलाप गराउने, त्यति गर्दा पनि नभए सम्बन्धित ठाउँमा पठाउने ।

मेलमिलाप पुरानो पद्दतिबाट धेरै पहिलादेखि नेपाल लगायत संसारका विभिन्न मुलुकले गर्दै आएका थिए । अमेरिकाको न्यायालयमा मुद्दाको चाप यति धेरै भयो कि अदालत मात्रैले थेग्न गाह्रो भएपछि न्यायाधीशहरुको भेलाले नयाँ पद्धति अनुसार तल्लो निकायमा तीन जनाको न्यायिक समिति त्यसभन्दा तल तालिम प्राप्त मेलमिलाप समिति गठन गरी गम्भीर प्रकृति फौजदारी बाहेक देवानी मुद्दा विवाद हेर्ने व्यवस्था गर्ने निर्णय सन् १९७० मा भएको थियो । त्यस व्यवस्था अनुसार निर्माण भएको समितिले ९० प्रतिशत मुद्दा विवाद समाधान भएपछि उत्साहित भएर विश्वका धेरै राष्ट्रहरु भारत, बङ्गलादेश, मलेशिया, सिंगापुर, दक्षिण अफ्रिका आदि देशहरुमा तालिम प्राप्त स्थानीय निकायमा सूचीकृत तीन जना मेलमिलापकर्ताले मेलमिलाप गराउने गरी काम गरिरहेका छन् भने नेपालमा २०६० सालदेखि न्यायाधीशहरुको भेलाले सो कार्य गर्न शुरु गरेका छन् । जसलाई अमेरिकाको संस्थाले सहयोग गरिरहेको छ । नेपालको संविधानको किताब गुलावी रङ्गको सामान्य मोटो रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बनेको हो । मेलमिलाप सम्बन्धी नियमावली २०७० मा निर्माण भएको थियो ।

कहा–कहाबाट झगडा मिल्छ ?

मेलमिलाप समितिबाट, नगर वा गाउँपालिकामा भएको न्यायिक समितिबाट, जिल्ला अदालतबाट, पुनरावेदन अदालतबाट र सर्वोच्च अदालतबाट । मुद्दा लड्दालड्दै सारा सम्पत्ति सकिन्छ र पनि न्याय नपाइरहेको कतिपय अवस्थाले गर्दा आफ्नै गाउँ, आफ्नै वडामा मेलमिलाप समिति बनेपछि सर्वसाधारणले धन सम्पत्ति खर्च नगरी निवेदनको भरमा सबुत, प्रमाण हेरी–बुझी र कतिपय सबुत प्रमाण नभएका मुद्दाहरुमा पनि सत्य कुरा बुझी सत्यतथ्य पत्ता लगाई सरल तरिकाबाट हेपिएका, थिचिएका, जग्गाको सिमाना किचोेला, लेनदेन, पति–पत्नीबीचको झगडा अथवा गम्भीर प्रकृतिका फौजदार मुद्दा बाहेक मेलमिलाप केन्द्रले हेर्ने मिलाउने भएपछि गाउँघरमा ठूलो राहत भएको महशुस भएको छ । न्याय सम्पादन गर्ने मेलमिलाप समिति मात्र तीन जनाको हुन्छ । आवश्यक परे वडाध्यक्ष वा सदस्यको मद्दत लिन सकिन्छ । यो समितिका पदाधिकारीहरु तडक भडक हुनुहुँदैन । सदैव नम्र स्वभावको हुनुपर्छ । यसले सहजकर्ताको भूमिका खेल्नुपर्छ । आफूले बोल्नेभन्दा अरुको कुरा सुन्ने गर्नुपर्छ । बीच–बीचमा उखान टुक्का भन्ने गर्नुपर्दछ । दुबै पक्षलाई पहिला मिल्दाको अवस्था स्मरण गराउनु पर्दछ । नराम्रा शब्दहरु प्रयोग गर्नबाट रोक्नु पर्दछ । समितिले राम्ररी बुझेर मात्र बोल्नु पर्छ ।

मेलमिलाप समितिको लक्ष्य :

हाती जस्तो लम्किरहने, मौरी जस्तो समूहमा बस्ने, समयको सचेतना गर्ने, चिराख जस्तो शान्त रहने, ठूलो आवाज निकालेर नबोल्ने, चुनौतिको सामना गर्ने, नडराउने, टाउको नलुकाउने र कसैलाई पनि डस्ने प्रवृत्ति नगर्ने, लोभ लालचमा कहिल्यै नपर्ने, छेपारो जस्तो रङ्ग नफेर्ने, कुनै कुरा पनि भताभुङ्ग पार्ने काम नगर्ने । आफ्नो आँखाको चश्मा खोलौं, सबैको आँखा खोलौं । मेलमिलापकर्ता भनेको विवादको सहजीकरण गर्ने तेस्रो व्यक्ति हो । मेलमिलापकर्ता मेहनती, लगनशील, लचकदार, मिलनसार, मिजासिलो, परिश्रमी, काममा लागि पर्ने व्यक्ति हुनुपर्छ । दुवै पक्षलाई प्रश्न सोध्ने, नयाँ ढाँचाबाट लेख्न जान्ने, न्याय–अन्याय छुट्याउन सक्ने, गोपनीयता भङ्ग नगर्ने, दुवै पक्षलाई सहमतिमा ल्याउन सक्ने मात्र मेलमिलापकर्ता हुन्छ । वादविवाद मिलेन भनेर निराश नहुने, पटक–पटक बोलाएर मिलाउन प्रयास गर्ने, आफू कानूनको ज्ञाता हूँ नभन्ने, मैले भनेको मान्नैपर्छ नभन्ने, दुवै पक्षले जितेको महशुस गराउने र त्यसो भएमा तीनै पक्षलाई आनन्द प्राप्त हुन्छ । दुवै पक्षको फाटेको मन चित्त सिलाउने, मन मिलाउने काम गर्नुपर्छ । एकअर्काको दृष्टिकोण बुझ्नुपर्छ र हिजो जस्तै सम्बन्ध कायम गराउनु पर्दछ । झगडाको जड के हो पत्ता लगाउने, जबरजस्ती मेलमिलाप हुँदैन । कहींकतैबाट मेलमिलाप भएन भने एक–एक गरी सहमतिबाटै एकान्त वार्ता गर्ने ।

तालिम भनेको सिकाइको अभ्यास हो । न्याय भनेको जसको हो उसैलाई दिनु हो । व्यवहारको नियम नै कानून हो । सबैभन्दा ठूलो संविधान हो । त्यसको आधारमा ऐन बन्छ । ऐनको आधारमा नियमावली बन्छ । मेलमिलाप सम्बन्धी ऐन २०६८ मा जारी भई २०७१ बैशाख १ गतेबाट लागू भएको हो । विवाद कहीँ कसै गरे मिलेन भने अदालतमा जाँदाको झन्झट स्मरण गराउँदै दुवै पक्षलाई सहमतिमा ल्याउन प्रयास गर्ने । मेलमिलाप सम्बन्धी आवश्यक महत्वपूर्ण कुराहरु छोटकरीमा लेखेर प्रस्तुत गरेको छु । यस लेखमा केही कुराहरु छुटे होलान् तथापि व्यवहारमा लागू नहुने प्रावधान यस लेखमा समावेश गरिएको छैन । आफूले जानेका सिकेका बुझेका कुराहरु शेयर गरिएन भने आफू जाँदा सँगै जान्छन् । त्यसैले यो लेख पस्किएको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here