झलनाथको संसद यात्रामा कसरी लाग्यो ‘ब्रेक’ ?

0
182

लक्ष्मी उप्रेती,
मेचीनगर ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको अपराजित कीर्तिमानी बिजय यात्रा अन्ततः रोकिएको छ ।

नेकपा एमालेकातर्फबाट २०४७ को संसदीय निर्वाचनमा इलामबाट निर्वाचित नेता खनाल २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा निर्वाचित भएका थिए । ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए । खनालले २०६७ माघ २३ गते तत्कालीन राष्ट्रपति रामवरण यादव समक्ष प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । उनी २०६७ माघ २०मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

२०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनमा पार्टीको लज्जाजनक पराजय भएपनि प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भएका थिए । २०६४ चैतमा भएको संविधानसभाको निर्वाचनमा पार्टीको पराजयपछि तत्कालीन महासचिव माधवकुमार नेपालले पद छाडेपछि उनी पार्टीको महासचिव पनि भए ।

२०७०को दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका हिमालय कर्माचार्यलाई पराजित गर्दै उनले बिजय यात्रालाई निरन्तरता दिए । २०७४ सालमा भूपेन्द्र कट्टेललाई पराजित गर्दै अपराजित कीर्तिमानी बिजय यात्रालाई उनले सुरक्षित पारे । तर, २०५६ साल र २०७९ सालमा भएका निर्वाचन भने उनका लागि अफापसिद्घ भए । २०५६ सालमा नेकपा एमालेको विभाजनका कारण उनले आफ्नो संसद यात्रालाई निरन्तरता दिन सकेनन् भने २०७९मा सम्पन्न प्रतिनिधि निर्वाचनमा उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बने ।

४ मंसीरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कुनै बेलाका सहकर्मीसँग प्रतिस्पर्धामा चुनावी मैदानीमा उत्रिएका नेता खनालका लागि यो निर्वाचन अफापसिद्घ भएसँगै विजय यात्रा अन्ततः रोकिएको हो । नेकपा एमालेका महेश बस्नेतसँग नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले पराजय व्यहोरेसँगै उनी पनि चुनाव हार्ने नेताहरुकै पंक्तिमा परेका छन् यतिखेर । प्रतिनिधिसभा निर्वाचन २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का उम्मेदवार खनाल इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १बाट पराजित भएका हुन् ।

यसअघि लगातार ५ वटा चुनाव जितेका खनाल यसपटक नेकपा एमालेका बस्नेतसँग २ हजार ६ सय ६२ मतान्तरले पराजित भए । एमालेका बस्नेतले २५ हजार ७ सय ५० मत प्राप्त गर्दा नेकपा एकीकृतका खनालले २३ हजार ८८ मतमा रोकिनु पर्यो ।

राजनीतिक यात्रा

खनालको उदय बिद्यार्थी राजनीतिबाट भएको थियो । खनालको राजनीतिक जीवन २०२१ सालदेखि शुरू भएको हो । मेची बिद्यार्थी संगठन अध्यक्षबाट उनको राजनीतिक यात्रा शुरू भयो । २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल खनालले २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्ति पछि सक्रिय राजनीति थाले । विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटव्यूरो सदस्य हुँदै महासचिवसम्म भए ।

२०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना र राजा वीरेन्द्रको राज्याभिषेकको समयमा पनि ६ महिना जेल परे खनाल । जेलबाट छुटेपछि पूर्णकालीन भूमिगत खनाल २०३३ सालमा झापामा पक्राउ परे । २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए पनि पार्टीले जनमत संग्रह बहिष्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए । झापा विद्रोहपछि उनी २०३१ सालमा गठित ‘क्रान्तिकारीहरूको सङ्गठन’ को–ओर्डिनेशन कमिटीको संस्थापक सदस्य भए । २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी मालेका संस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भए ।
झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१÷०३२मा को–अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहेका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गरे । तत्कालीन नेकपा (माले)को शक्ति संघर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो । २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए । उनी २०४६ सालको आन्दोलनको सफलतासँगै खुलामञ्चबाट जेएन खनालको नाममा सार्वजनिक भए ।

२०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेको थियो । २०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमाण्डमा मालेका प्रतिनिधिको रूपमा रहे । जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री भए भने २०४९ सालको एमालेले मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित ग¥यो । त्यस समयमा सीपी मैनालीसँग मिलेर ल्याएको कार्यनीति ‘परिमार्जित नौलो जनवाद’ अल्पमतमा प¥यो, जसलाई उनले सहयोग गरे । २०५४ को छैठौँ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित भए । २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी केही समय भूमिगत भए । सोही समय उनी कार्यवाहक महासचिव भएर भूमिगत रूपमा पार्टी सञ्चालन गरे ।

२०४७ सालमा नेकपा माक्र्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै उनी २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित भए । ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला खनालले सोही पार्टीकी काठमाडौँ जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गरे। राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा सक्रिय भए ।

२०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म लगातार नेकपा मालेको महासचिव र २०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि पनि खनालको नेतृत्वदायी भूमिका थियो। त्यसयता नेकपा एमालेको पाचौँ छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर काम गरे । बुटवलमा सम्पन्न नेकपा एमालेको आठौं महाधिवेशनबाट उनी नेकपा एमालेको अध्यक्षमा निर्वाचित भए ।

२०७१ साल असारमा काठमाण्डौमा भएको नवांै महाधिवेशनबाट अध्यक्ष पद केपी ओलीलाई हस्तान्तरण गरी खनाल पार्टीका वरिष्ठ नेता बने । नेपाली कम्युनिष्ट आन्दोलनका नेता खनाल अहिले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता हुन् । उनी वि.सं. २००६ साल चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here