नेपाली कांग्रेस, प्रतिपक्षी भूमिका र सत्ताको ऐँठन

0
174

नेपाली जनताको दुर्भाग्य नेपालको समकालीन राजनीतिमा सत्ताभोग, कुर्सी मोह र जनउपेक्षा केन्द्रविन्दुमा रहेका छन् । खुलेरै भन्न सकिने कुरा के हो भने यतिबेला नेपालमा दलका रूपमा सशक्त प्रतिपक्ष छैन र राज्यको चौथो अङ्गको रूपमा परिचित सञ्चार क्षेत्रले नै यो भूमिका खेल्नुपर्ने अवस्था सृजना भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)मात्र अहिलेसम्म प्रतिपक्षको भूमिकामा रहेको छ । लोकप्रिय मतको आधारमा नेकपा एमालेपछिको दोस्रो ठूलो, संघीय संसदको उपस्थितिमा नेपालको पहिलो र नेपालको पुरानोमध्ये एक पार्टी नेपाल कांग्रेस जनतासँग रहने, सरकारको खबरदारी गर्ने र आगामी निर्वाचनमा सरकार बनाउने गरी जनमत सृजना गर्ने स्वर्णिम अवसरबाट वञ्चित हुने मार्गतर्फ लागेको देखिँदैछ ।

जतिसुकै असल मानिस पनि कमजोरी देखाउने, आलोचना गर्ने र खबरदारी गर्ने कोही नभएमा सदैव असल कर्म गरिरहन्छ भन्न सकिँदैन । १९औं शताब्दीका अंग्रेजी इतिहासकार लर्ड एक्टन (१८३४–१९०२)ले बिशप मण्डेल क्रेइटनलाई लेखेको एक पत्रमा लेख्छन्– ‘सत्ताले भ्रष्टतातर्फ लैजान्छ, निरङ्कुश सत्ताले व्यक्तिलाई पूर्ण भ्रष्ट गराउँछ ।’ तसर्थ, विपक्षी बिनाको सरकार अनियन्त्रित हुनसक्छ, निरङ्कुशतातर्फ जान सक्छ, र जो सत्ताको ¥याल चुहाएर कुर्सीमा नजर लगाएर बसेको छ, उसले बोल्न सक्दैन ।

सारमा भन्नुपर्दा– नेपाली कांग्रेस यतिबेला आश र त्रासमा बाँचेको छ । एकातिर वामपन्थीको बीचमा फुट र विभाजन आएर फेरि कुर्सी प्राप्त भइहाल्ला कि भन्ने आशा छ भने अर्कातिर नेकपा एमालेको प्रमुख पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको वाम रूझानको सरकारले कैयौं वर्षका लागि सत्ता हत्याएर निकण्टक शासन गर्ने हुन् र आफू सदैव पछि परिने पो कि भन्ने त्रास छ । प्रतिपक्षमा बस्न ऐँठन हुने महारोगबाट मुलुकको राजनीति आक्रान्त हुनु मुलुकका लागि अशुभ संकेत हो ।

यतिबेला नेपाली राजनीतिको सङ्कथनको केन्द्रमा नेपाली कांग्रेस वीपी कोइरालाले देखाएको बाटोबाट दिग्भ्रमित भएर सत्तालिप्साको मदमा लुटपुटिरहेको हो वा होइन भन्ने छ । नेपाली कांग्रेस ठीक बाटोमा हिँडिरहेको छ भनेर दलिल पेश गर्ने तर्क गर्छन् कि शक्ति जनताबाट होइन, फुट र विग्रहको बाटोबाट आउँछ । वामपन्थीहरूको फुट र विभाजनबाट सत्तारोहण गर्न सकिने सोच राख्नु भनेको नकारात्मक कुरा हो । असल पार्टीको जरा जनतामा हुनुपर्छ । सकारात्मक, लोक कल्याणकारी, तर्कयुक्त र वैज्ञानिक सोचले मात्र जनताको सेवा गर्न सकिन्छ । वामपन्थीहरूको विभाजनबाट विगतमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाए, तर जनताका लागि कुनै उल्लेख्य काम गर्न सकेनन्, किनभने जनअभिमतका आधारमा होइन, गुटबन्दी, विभाजन र सत्तालिप्साकै कारण त्यो सरकार बनेको थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले नेपाली कांग्रेससँग टाउकोमा देश बनाउने चित्र छ भने हृदयमा नेपाली माटोको ममता छ भनेर भनेका थिए । बाह्य शक्तिकेन्द्रको कृपाले होइन, आफ्नै कार्यकुशलता र आमजनताको विश्वास, माया र भरोसाका कारण नेपाली कांग्रेस स्थापित हुनुपर्छ भन्ने वीपीको राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य पनि थियो । यतिबेला नेपाली कांग्रेस किंकर्तव्यविमुढ छ, हृदयको आवाज सुन्न नसक्ने अवस्थामा छ, सत्ता स्वार्थको राजनीतिबाट माथि उठेर जनताको राजनीति गर्ने सोचमा कांग्रेसको केन्द्रीय नेतृत्व छैन । कार्यकर्ता नेपाली कांग्रेसलाई कुर्सीको मोहबाट मुक्त गरेर जनतासँग संवादमा जान र जनआधार अझ मजबुत बनाउन केन्द्रीय नेतृत्वलाई हस्तक्षेप गर्ने अवस्थामा छैनन् । सत्ताकै वरिपरि रुमल्लिने हो भने नेपाली कांग्रेसको लोकप्रियता, विश्वास र भरोसा निरन्तर खस्किनेमा दुईमत छैन । प्रतिपक्षमा बस्न रूचि नराख्ने र कुर्सीकै मोहमा चिनीमा कमिला भुले झैं झुम्मिरहने हो भने प्रतिपक्षविहीन संसद झन् निरीह हुन्छ र नेपाली कांग्रेसको निरीह आवाजले सत्ताधारीलाई कुनै असर पुग्नेवाला छैन ।

पार्टीलाई चलायमान बनाउन जनतासँग जोडिन र कार्यकर्ताको एकता, जुझारुपन र पार्टीप्रतिको समर्पणलाई अझ प्रगाढ बनाउन जरुरी छ । अघिल्लो पुस्ताले संघर्ष गरेर, रगत दिएर र जेलमा जीवन दिएर निर्माण गरेको यो संविधान र व्यवस्थाका माध्यमबाट आर्थिक क्रान्तिको कार्यभार पुरा गर्नुपर्ने छ । वीपीको आदर्शलाई पछ्याउँदै राजनीतिलाई जनसेवासँग गाँस्नुपर्ने मान्यता नेपाली कांग्रेसको हुनुपर्ने हो, तर राजनीति सेवामुखी नहुँदा, राजनीति गर्नेहरू असहिष्णु बन्दा, राजनीतिक दुश्मनी कायम राख्दा र राजनीतिलाई गाउँमुखी नबनाउँदा आजको अविश्वासको अवस्था आएको हो । आजको नेपाली कांग्रेसले संस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले लगभग आठ वर्षभन्दा बढी सुन्दरीजल जेलमा एकान्त जेल जीवन बिताएको र राजा महेन्द्रसँग कुनै सम्झौता नगरेको इतिहासलाई सम्झन आवश्यक छ ।

नेपालका आजका दलहरू दलगत आग्रहभन्दा माथि उठेर साझा राष्ट्रिय दृष्टि–निर्माण गर्नुपर्नेमा चुकेका छन् । परराष्ट्रनीति सबैको साझा दृष्टिको प्रश्न हुनुपर्छ । देशको सम्मान, स्वाभिमान र समृद्धिसँग सोझै सरोकार राख्ने परराष्ट्र नीति व्यक्तिका बुझाइ या दल विशेषको आग्रहभन्दा माथि देशको हुनुपर्छ, बनाइनुपर्छ । नीतिगत सुनिश्चितता देशको समृद्धिका लागि अनिवार्य आवश्यकता हो । मुलुकको तीतो यथार्थलाई आत्मचिन्तन गर्दै मितव्ययी नीति र विधिको निर्माणमा सबैको साझा मत हुन आवश्यक छ । राजनीतिमा बढ्दो विकृतिलाई नियन्त्रण गर्न सघाउ पु¥याउने नीति नेपाली कांग्रेसले लिन सकेमा दलको लोकप्रियता बढ्छ । सहिष्णुता सुसंस्कृत राजनीतिको मूलमन्त्र हो । यसले मुलुकको व्यक्तित्वको लोकतान्त्रिक चरित्र प्रदर्शित गर्दछ । सुशासन, पारदर्शिता र सदाचार परिवर्तित राजनीतिको मूल संस्कार हुनुपर्छ । राजनीतिप्रति नागरिक वितृष्णा बढिरहेको छ । यसको एक मुख्य कारण सर्वत्र व्याप्त भ्रष्टाचार हो । भ्रष्टाचार शासकीय प्रणालीको दोष होइन, शासन संस्कार पद्धतिको कमी हो । राजनीतिप्रति आकर्षण बढाएर राष्ट्र निर्माणप्रति विश्वास अभिवृद्धि गर्न सरकारले गरेका राम्रो कामको प्रशंसा र जनविरोधी कामको सशक्त विरोध गर्न सकेमा मात्र सत्ताधारीको आँखा खुल्दछ । हरेक तहको राजनीतिक नेतृत्व र सदस्यलाई आर्थिकरूपले आत्मनिर्भर बन्ने प्रेरणा र बनाउने अभियान आजको खाँचो छ ।

राजनीतिक व्यक्तिलाई स्वावलम्बी बनाउन सके समग्र राजनीतिलाई स्वच्छ र सदाचारयुक्त मैदान बनाउन सकिन्छ । महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरूले देशलाई उज्यालो भविष्यतर्फ अग्रसर हुन मार्ग प्रशस्त गरिसकेको छ भने अस्थिरता र हिंसात्मक द्वन्द्वको बीच पनि देखिने गरी आर्थिक र भौतिक प्रगतिका केही कार्य देशमा भएका छन् । संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस्, जनताको हित र देशको प्रगति प्रणाली मात्रैमा होइन, त्यसका सञ्चालकको प्रवृत्तिमा बढी निर्भर हुन्छ । यो सच्चाइका वीचबाट नेपाली कांग्रेसले आफ्नो मूल्याङ्कन गर्न आवश्यक छ ।

मुलुकको पटक–पटक नेतृत्व गरेको नेपाली कांग्रेसको घटिरहेको साख जोगाउन र राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि अहिलेको समयमा प्रतिपक्षी भूमिकालाई पुनर्परिभाषित गर्न जरुरी छ । राजनीतिको माध्यमबाट मुलुकको मुहार बदल्ने अभियानमा सदुपयोग गर्दै मुलुकको भविष्य सुनिश्चित गर्न नेपाली कांग्रेसको सार्थक उपस्थिति हुन सकेका मुलुकमा सार्थक बदलाव सम्भव हुन्छ । सत्ताको जिम्मा सरकारको हुन्छ भने सडक र विपक्षी मञ्चबाट सरकारको आलोचना गर्दै ‘वाच डग’को भूमिका खेल्न नेपाली कांग्रेसले आफूलाई सत्ताको भ्रमबाट मुक्त गर्न जरुरी छ । नवीन सोच र अग्रगामी दृष्टिकोणसहितको भूमिका निर्वाह गर्ने हो भने मात्र मुलुकले ठीक बाटो लिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here