भुइँमान्छेका प्यारा : खडानन्द वाग्ले

0
10

अभिभावक मात्र होइन, असल राजनीतिक अभिभावक पनि हुनुहुन्थ्यो । मेरोलागि मात्र होइन धेरैका लागि राजनीतिक चेतना भरिदिने प्रेरणा हुनुहुन्थ्यो । धेरैका मार्गदर्शक हुनुहुन्थ्यो । विचार र सिद्धान्तमा कटिबद्ध उहाँ वर्ग संघर्षका पृष्ठपोषक हुनुहुन्थ्यो । निडर स्वभाव, दरलो आत्मविश्वास, सही निर्णय क्षमता उहाँका गुणहरू मध्येका प्रमुख गुण थिए ।

कम्युनिस्ट आन्दोलनका एक अगुवा, विकास प्रेमी कुशल नेता गुमाएको छ– झापाले । जसले राजनीतिलाई भुइँमान्छेहरूको सेवा गर्ने माध्यम बनाउनुभयो । भुइँमै रहेर भुइँ मान्छेको जीवनभर सेवा गर्नुभयो । भुइँमान्छेहरूको सेवा गर्ने क्रममा भ्रष्टाचारबाट जहिल्यै टाढा रहनुभयो । जनताको जनजिविका, परिवर्तन, लोकतन्त्रका लागि १७ वर्ष निर्वासन र एक वर्ष कठोर भूमिगत जीवन हाँसीहाँसी स्वीकार्नु भयो । जीवनको अन्तिम क्षण पनि जनचासोकै सवालमा दौडधुप थियो उहाँको । तत्कालीन बुधबारे गाविसका वडा नं. २ कार्यकालका अध्यक्ष खडानन्द वाग्लेको ७८ वर्षको उमेरमा कात्तिक १६ गते निधन भएको छ । वि.सं. २००२ साल असोज २९ गते तत्कालीन शान्तिपुर गाविस टुङ्नेमा जन्मिनुभएका खडानन्द वाग्लेको कलेजोमा क्यान्सर भएर बुद्धशान्ति– १ घरमा नै निधन भएको हो । उहाँ सो रोगले केही साता थलिनुभयो ।

उहाँ प्रगतिशील बामपन्थी विचार राख्ने कुशल कम्युनिस्ट नेता हुनुहुन्थ्यो । राजनीतिमा वाग्लेको छुट्टै छाप छ । निडर र हाक्की स्वभाव हुनुभएका उहाँ गलतलाई गलत भन्न कुनै आइतबार पर्खनु हुन्नथ्यो । त्यही भएर उहाँ न्याय सम्पादनमा निडरताका साथ कुशलतापूर्वक पीडितको पक्षपोषण गर्नुहुन्थ्यो । उहाँ जनताले भरोषा गरेका नेता हुनुहुन्थ्यो । पछि हुने कुरा मूल्यांकन गरी अघि नै परिस्थिति यस्तो हुन्छ भन्न र मापन गर्न सक्ने दूरदर्शी उहाँको खास गुण थियो । कहिलेकाहीँ यही स्वभावले उहाँ अप्ठ्यारोमा पनि पर्नु हुन्थ्यो । तर, त्यसको कुनै प्रभाह थिएन उहाँलाई ।

मध्यम परिवारका उहाँ राजनीतिबाट गलत फाइदा लिन कहिले पनि अघि सर्नु हुन्नथ्यो । यो अहिलेकाले पनि अवलम्बन गर्न पर्छ । जनताको सेवालाई नै कम्युनिस्ट नेताको धर्म मान्ने उहाँले जीवनको अन्तिम क्षण पनि जनसेवालाई छाड्नु भएन । संकट र असहजतामा अग्रजसँग सल्लाह लिन पुगिहाल्ने उहाँ नयाँ पुस्तालाई पनि निष्ठाको राजनीति गर्न सुझाव दिनुहुन्थ्यो ।

धेरै विकास, सामाजिक वकालत तथा सामाजिक न्यायका लागि अग्रसर हुन्छन् । तर, इतिहास भने थोरैको मात्र लेखिन्छ । आफ्नो जीवनकालमा निस्वार्थ समाजसेवा, सामाजिक रुपान्तरण, सशक्तिकरण र सेवाको राजनीति गर्नुभएका झापा जिल्ला बुद्धशान्ति गाउँपालिका वडा नं. १ निवासी वाग्ले एक आर्दश, दूरदर्शी र सबैका जनप्रिय नेताका रूपमा दर्ज हुनुभयो । सबैभन्दा बढी तल्लो वर्गका जनताले उहाँलाई बढी भरोसा गर्थे । विपक्षीसँग पनि उहाँ सही सम्बन्ध हुनुपर्ने कुरामा बढी सचेत रहनु हुन्थ्यो ।

२०२२ सालमा करफोक माध्यमिक विद्यालयमा दोस्रो डिभिजनमा एसएलसी उत्तिण गर्नुभएका उहाँले इलामको शान्तिपुर निमाविमा २०२३ सालमा एक बर्ष, २०२४ सालमा बसाईसराईंका क्रममा झापा बुधबारे आएर जयपुरको आदर्श माविमा दुई बर्ष सहायक प्रधानाध्यापकको रुपमा समेत पठनपाठन गर्नुभयो । उहाँले शिक्षक तालिम लिन धरान जाने अवसर पाउनुभयो । त्यसपछि २०२७ सालदेखि २०२९ सालसम्म ठाकुरम कलेजमा अध्ययन गर्नुभयो । त्यहाँ कम्युनिष्ट विचारलाई मसिनो गरी बुझन् पाउनुभएका उहाँले त्यहीँबाट पूर्वका धेरैलाई वामपन्थी विचारका बारेमा चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँले सयौँलाई कम्युनिष्ट बन्न प्रेरणा दिनुभयो । कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन उहाँको भूमिका अहिले पनि महत्वपूर्ण छ ।

प्रगतिशील बामपन्थी विचार राख्ने वाग्ले २०२९ सालमा झापा आन्दोलनमा सक्रियरुपमा लागेर वामपन्थी विचारलाई विजारोपण गर्ने एक कुशल नेताका रुपमा समेत आफूलाई चिनाउन सफल हुनुभयो । कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान महत्वपूर्ण छ । बुधबारेमा वामपन्थी विचारलाई दरिलो र प्रभावकारी बनाउन उहाँ र उहाँको परिवारको ठूला भूमिका छ । चीनको जस्तो नयाँ जनवादी क्रान्ती गर्ने भनी आन्दोलनमा होमिनुभएका उहाँ २०३० साल माघ महिनामा हत्या आरोप लागि करिब एक बर्ष भूमिगत र १७ वर्ष निर्वासित जीवन बिताउन बाध्य हुनुभयो । ती वर्ष उहाँका लागि सबैभन्दा कठिन थिए । तर, पनि राजनीतिलाई जनसेवा ठानी उहाँ विचलित हुनुभएन । त्यो बेला पारिवारिक संकटहरू पनि आइलागे । धेरै दुःख सहनु परेको थियो उहाँले । उहाँले २०४६ सालको जनआन्दोलन अघि यहाँको राजनीतिक अवस्थादेखि फर्किएर भारतको पानीट्यांकीमा क्याम खोलेर आन्दोलनको शुरुवात समेत गर्नुभएको थियो । जुन आन्दोलन सफल पार्नलाई उहाँको महत्वपूर्ण योगदान छ ।

२०४७ सालमा आममाफी भई स्थानीय राजनीतिमा सक्रिय रहनुभएका वाग्ले २०४९ साल र २०५४ सालमा तत्कालीन बुधबारे गाविसको अध्यक्ष हुनुभयो । गाविसको अवधारणा जारी रहँदा उहाँमात्र एकल अध्यक्ष रहनुभयो बुधबारेको । एक दशक बुधबारेको नेतृत्व लिँदा उहाँको कार्यकाल स्मरणीय बनेर इतिहासमा दर्ज भएको छ । उहाँको कार्यकालमा बुधबारेका हरेक वडामा ग्रामीण विद्युतीकरणको शुरुवात भयो । बिकास निर्माणमा उनको ठूलो योगदान रहेको छ । बुधबारेमा पहिलोपटक टेलिफोन भित्र्याएर तत्कालीन सञ्चारमन्त्री विजयकुमार गक्षधारसँग दोहोरो संवाद गरेको घटना उहाँका लागि अविस्मरणीय थियो भनी सुनाउनु हुन्थ्यो । खेलकुलाई असाध्यै माया गर्नुहुन्थ्यो ।

आइएडसम्मको शिक्षा हासिल गरेका उहाँले दर्जनौं संघ–संस्थाको सफल नेतृत्व गर्नुभयो । हाँक्की स्वभावका उहाँमा अन्यायलाई एक रत्ति पनि सहनुहुन्न भन्ने विचार थियो अन्याय परेका ठाउँमा स्पष्ट निर्णय दिन सक्ने, विकासप्रेमी, शत्रूलाई पनि मित्र बनाउने बौद्धिकता र हार्दिकता भएका वाग्ले सोही स्वभावका कारण पनि लोकप्रिय हुनुहुन्थ्यो । उहाँ जनपक्षीय अगुवा नेता, सादा जीवन उच्च विचारका एक सच्चा उदाहरण हो । उनीलाई राजनीतिक पूर्वाग्राही नभएकै कारण हरेक जनताले आफ्नो आर्दश नेता मानेका छन् । हरेक कोणमा सही सल्लाह दिनुहुने उहाँ असल सल्लाहकार हुनुहुन्थ्यो । उहाँको निधनले अभाव खड्किएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here