जिल्ला स्तरीय नृत्यमा प्यारागनले राख्यो रेकर्ड

0
7

सुरुङ्गा ।

सुरुङ्गा झापास्थित प्यारागन एकाडेमीले नृत्य विधामा झापा जिल्लामै इतिहास रचेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आयोजना गरेको जिल्ला स्तरीय सांस्कृतिक प्रतियोगिता अन्तर्गत नृत्यतर्फको सबै ३ वटा विधामा प्रथम स्थान हासिल गर्दै प्यारागनले जिल्लामै पहिलो पटक यो इतिहास रचेको हो ।

प्याब्सन झापाले पुस २ र ३ गते दमकमा आयोजना गरेको जिल्लाका १४ पालिकाबाट पालिकाभित्रका संस्थागत विद्यालयवीच भएको स्पर्धाबाट छानिएका विद्यालयहरू सहभागी रहेको प्रतियोगिता सम्पन्न गरेको थियोे । दमकको पशुहाटस्थित खुला मैदानमा भएको सो कार्यक्रममा कक्षा ५ सम्मका विद्यार्थीले आधुनिक, ८ सम्मका विद्यार्थीले राष्ट्रिय र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले लोक सांस्कृतिक विधामा नृत्य गरेका थिए ।

यी सबै ३ वटा विधामा प्यारागन एकाडेमीले प्रथम स्थान हासिल गरेको विद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक चम्पा खनाल सुबेदीले जानकारी दिइन् । यस अघिका वर्षहरूमा तीनवटै विधामा एउटै विद्यालयले उपाधि चुमेको इतिहास नभएको सुवेदीले दावी गरिन् । तीनवटै विधामा एउटै विद्यालयले जीत हासिल गरेको यो रेकर्ड न भूतो न भविष्यति रहेको बताइएको छ । संस्थापक सुवेदीले यो सफलताका लागि भूमिका खेल्ने कनकाई प्याब्सन, विद्यालयका नृत्य निर्देशक, विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक सबैलाई धन्यवाद दिइन् ।

बेलायतबाट पठनपाठनमा अब्बल विद्यालयहरूलाई प्रदान गरिँदै आएको इन्टरनेसनल स्कुल अवार्डबाट समेत सम्मानित प्यारागनको यो रेकर्डसहितको ३ वटै विधामा प्राप्त सफलता विद्यालयको गौरवको विषय त हुँदै हो, अझ थप यो उपलब्धि कनकाई नगरपालिका र नगरवासीकै सफलताको रूपमा बुझिदिन अध्यक्ष सुवेदीले सबैसँग अपिल गरेकी छन् ।

कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै कनकाई नगर प्याब्सनका अध्यक्ष बिनोद सुब्बाले कनकाई नगरपालिकालाई प्रतिनिधित्व गर्दै प्यारागन एकाडेमीले नृत्यका सबै विधामा प्रथम स्थान हासिल गरेर इतिहास रचिरहँदा प्यारागन एकाडेमीसँगसँगै कनकाई नगर प्याब्सन समेत गौरावान्वित भएको बताए ।

सुब्बाले यो क्षण खुसी बाँड्ने क्षण भएको र यो सफलताले नगरकै प्रतिष्ठा माथि उठेको बताए । जीत हासिल गरेका तीनवटा विधामध्ये कक्षा ९-१२ का विद्यार्थीको लोक सांस्कृतिक नृत्य कोशी प्रदेशस्तरीय प्रतिष्पर्धामा सहभागी गराइने अध्यक्ष सुब्बाले जानकारी दिए । प्यारागनले प्याब्सन प्रदेश र केन्द्रले आयोजना गर्ने प्रतियोगितामा पनि विजय हासिल गर्ने लक्ष्य लिएको विद्यालयका नृत्य निर्देशक दिवस गिरीले बताए ।

शिक्षासेवी स्व. लक्ष्मण सुवेदीको पहलमा २०६४ सालमा कनकाई नगरपालिका-३ सुरुङ्गामा शुरु भएको प्यारागन एकाडेमी हाल कक्षा १० सम्म सञ्चालन भइरहेको र विद्यालयमा ७ सय ३ जना विद्यार्थी साथै ५७ शिक्षक तथा कर्मचारी रहेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले जानकारी दिए ।

गुणस्तरीय शिक्षाका लागि आफ्ना नानीबाबुलाई अन्यत्र पठाउनु नपरोस् र विद्यार्थीको अध्ययनको अतिरिक्त अन्य क्षेत्रमा पनि प्रगति गर्न सकिने वातावरण बनाउने नमुना विद्यालयको अवधारणा अवलम्बन गर्दै आएको विद्यालयले कक्षा ५ , ८ र १० का परीक्षामा कनकाई नगरमा उत्कृष्ट नतिजा निकाल्दै आएको पनि भाइस प्रिन्सिपल सिटौलाले जानकारी दिए । सो अवसरमा आउने शैक्षिक सत्र २०८१ देखि प्यारागनमा राम्रा विषयसहित कक्षा ११ सञ्चालनको तयारीमा रहेको विद्यालयका संस्थापक चम्पा सुबेदीले जानकारी दिइन्।

विद्यालयका कोअर्डिनेटर चेतन भण्डारी (सीएन) ले पत्रकार भेटघाटमा उपस्थित सबैलाई स्वागतसहित अौचित्यमाथि प्रकाश पारेका थिए । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश सदस्य लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेल लगायतको आतिथ्य रहेको थियो । विद्यालयका सञ्चार संयोजक अर्जुन उप्रेतीले संयोजन गरेको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण विद्यालयका सञ्चार समिति सदस्य एवम् विद्यालयका पूर्व शिक्षक रामप्रसाद निरौलाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here