घोष दम्पतीले बाँडे ज्याकेट,विद्यार्थीले चिसोमा न्यानो लुगा पाएपछि दङ्ग

0
5

झापा ।

सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा सन्थाल समुदायका छोराछोरीले जाडोको न्यानो लुगा (ज्याकेट) पाएपछि दङ्ग परेका छन् ।

बिर्तामोड नगरपालिका–८ देउनियाँस्थित शुक्रराज आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई युवा व्यवसायी तथा समाजसेवी सञ्जीव घोष र उनकी श्रीमती पीँकी साहा घोषले आइतबार विद्यालयमै पुगेर ज्याकेट वितरण गरेका थिए ।

विपन्न तथा सन्थाल समुदायका विद्यार्थीहरूले जाडो मौसममा ज्याकेट पाएपछि उनीहरू खुसीले गदगद भएका थिए । घोष दम्पतीले ज्याकेट वितरणसँगै विद्यार्थीहरूलाई निःशुल्क दिवा भोज पनि खुवाएका थिए ।

साथै बालरोग विशेषज्ञ डा. रविन रेग्मीले विद्यालयमै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत वितरण गरेका थिए । यस्तो जाडो मौसममा विद्यालयका विपन्न तथा सन्थाल समुदायका छोराछोरीको दयनीय अवस्था हेरेर विद्यार्थीहरूलाई सहयोग गरिएको युवा व्यवसायी घोषले बताए ।


विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा मन आनन्दित भएको बताउँदै उनले भने, ‘आगामी दिनहरूमा पनि यसरी नै सामुदायिक विद्यालयका विपन्न तथा गरिब विद्यार्थीहरूलाई सहयोग गर्छु ।’

सामुदायिक विद्यालयका विद्यार्थीहरूको पारिवारिक अवस्था कमजोर हुन्छ । उनीहरूको शैक्षिक स्तर उकास्न सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गौतमको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका पूर्व विद्यार्थी तथा अधिवक्ता स्वागत नेपालले विद्यालयका पुस्तकालयलाई ५० हजार बराबरको पुस्तक सहयोग गर्ने घोषणा गरेका छन् ।

साथै विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवार र शिक्षकहरूमा मुद्दा परेको खण्डमा निःशुल्क वकालत गरिदिने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन् । कार्यक्रममा बक्सिङ संघ झापाका सचिव तर्कराज राई, डा. रविन रेग्मी, दाता सञ्जीव घोष लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रधानाध्यापक सोमादेवी दुलालले प्रकाश पारेकी कार्यक्रमको सञ्चालन शिक्षक रमेश ढुङ्गेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here