सुरुङ्गा ।
कनकाई नगरपालिका–४ स्थित कनकाई घाट समितिको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष वेदप्रकाश अग्रवालको सभापतित्व र कोशी प्रदेश सरकारका पूर्व मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि सिटौलाले सेवा भावले घाट समितिका पदाधिकारी क्रियाशील रहेको भन्दै निस्वार्थ मानव सेवामा समर्पित हुने सहयोगी दातालाई प्रशंसा गरेका थिए । सिटौलाले कनकाईधाम क्षेत्र पूर्वकै धार्मिक पर्यटकीय स्थलको रूपमा विकास हुने विश्वास गरे ।
सो कार्यक्रममा कार्यसमिति सदस्य राधिका कडरियाद्वारा प्रस्तुत साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्ष गोपाल खरेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक नरेन्द्रप्रसाद फुयाँलद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरिएका थिए ।
संस्थालाई आर्थिक र भौतिक सहयोग गरेवापत कार्यक्रममा कनकाई नगरपालिका, राजकुमार सिङ्गल (भद्रपुर), महेन्द्रकुमार अग्रवाल (विर्तामोड), प्रदीप कार्की (अर्जुनधारा) र कृष्ण कार्की (सुरुङ्गा) लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कनकाई घाट समितिका सल्लाहकार डा. पुण्यप्रसाद सिग्देल, कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्यामप्रसाद ओली, नेपाली काङ्ग्रेस कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाईं, कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा कनकाईधाम धार्मिक विकास संस्था कोटीहवनका अध्यक्ष शेरबहादुर थापा, वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडा, सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष राजेन्द्रकुमार उप्रेती, नेकपा माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाईं, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईं, पूर्व सभापति श्यामकुमार पौडेल, मारवाडी सेवा समिति सुरुङ्गाका पूर्व अध्यक्ष दयानन्द वंशल, नेकपा एमाले जिल्ला सदस्यहरू सुनिता खरेल, रवीन्द्र लम्साल, दीपक चापागाईंं लगायतको आतिथ्य रहेको थियोे ।
२०६७ सालमा स्थापित कनकाई घाट संस्थामा हाल संस्थापक सदस्य १ हजार ८ जना, आजीवन सदस्य ९३, मानार्थ सदस्य ७ जना, संरक्षक सदस्य १३ जना, वरिष्ठ संरक्षक सदस्य ३ जना, विशिष्ट सदस्य १२ जना र संस्थागत सदस्य ११ जना रहेको स.स्थाका उपाध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष खेमनाथ मिश्रले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य अम्बिका खरेलले गरेकी थिइन् ।