विकासमा फड्को मार्दै बिर्तामोड

0
15

सुरेन्द्र भण्डारी,
बिर्तामोड ।

बिर्तामोड नगरपालिकालाई विकास र समृद्धिको यात्रामा डो¥याउने दीर्घकालीन सोचका साथ अघि बढेको नगरले आर्थिक वर्ष २०७९/०८०भित्र १० दशमलव ८४ किलोमिटर सडक कालोपत्रे, ३४ दशमलव ८८ किलोमिटर सडक ग्राभेल र ४ दशमलव ४४ किलोमिटर सडकमा पेवर्स तथा ब्लक प्रयोग गरेर सडकको स्तरोन्नति गरेको छ ।

नगरपालिकाले सडकको गुरु योजना तयार गरी वर्गीकरणका आधारमा आर्थिक वर्ष २०८०/०८१मा समेत सडकको स्तरोन्नतिलाई अघि बढाएको हो । उज्यालो नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको बिर्तामोड नगरपालिकाले सडकको स्तरोन्नतिसँगै नगरका विभिन्न ३७ स्थानमा बक्स कल्भर्ट, २९ वटा विपन्न आवास, एउटा प्रशासनिक भवन, एउटा अस्पताल, २१ स्थानमा सडक वत्ती, बिद्युत् पोल विस्तार, नाला तथा ड्रेन निर्माण सम्पन्न गरेको बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले जानकारी दिइन् ।

त्यस्तै १०४ दशमलव ३० किलोमिटर क्षेत्रमा टतबन्धन गरिएको छ भने एउटा झोलुङ्गे पुल, ५६ वटा भवनको मर्मत, सात वटा सामुदायिक विद्यालयलाई भवन निर्माण, आठ स्थानमा सडक वत्ती जडान र खानेपानीका लागि ३८० मिटरमा पाइपलाइन विस्तार गरिएको छ ।

आगामी पाँच वर्षभित्र प्रदेश र संघीय सरकारसंग समन्वय गर्दै बिर्तामोडमा रिङ रोड निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङ सहितको व्यवसायिक भवन, बुट्टावारी प्याकुरेल चोक जोड्ने सडकको स्तरोन्नति, बिर्तामोड नगर अस्पतालको स्तरोन्नति गर्ने काम समेत भइरहेको नगरप्रमुख प्रसाईको भनाइ छ ।

बिर्तामोड नगरपालिकाको ‘नगर गौरव’को आयोजनाका रूपमा रहेको बुट्टावारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नतिका लागि काम भइरहेको छ । ६ दशमलव २ किलोमिटर लम्बाई रहेको सडक विश्व बैंकको लगानीमा स्तरोन्नतिको काम शुरु भएको हो । सो सडक निर्माणका लागि विश्व वैंकले ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँ लगानी गरेको छ । सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

१२ मिटर चौडाइ रहेको सो सडकलाई सात मिटरमा ‘ब्ल्याक टप’ गरिने बताइएको छ । सडकको दायाँ–बाँया डे«न निर्माण गरिने छ भने सडकको दुवैतर्फ सडक बत्ती, गार्डेन, फुटपाथ रहने छ । सडक निर्माणका लागि आरपी– स्याप–समता जेभीले ठेक्का पाएको हो भने परामर्शदाताका रूपमा डिभी–मल्टी–शिल्ट–उदय–गंगा–रिदाग–आरसी जेभी रहेका छन् ।

सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जाने मूल सडकमा जोड्ने नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताए । यो संगै बिर्तामोड नगरपालिकामा ६९ वटा नगरस्तरीय बिकास निर्माणका योजनाको काम भइरहेको बिर्तामोड नगरपालिका योजना अधिकृत जय तिम्सिनाले बताए ।

उनका अनुसार नगरस्तरीय योजनामा सडक निर्माण र सडकको स्तरोन्नति प्राथमिकतामा परेको छ । त्यस्तै नगरस्तरीय वहुबर्षीय २१ वटा योजनाको काम भइरहेको छ । नगरस्तरीय वहुवर्षीय योजनामा मदरसा पाठशालाको शैक्षिक सुधारदेखि सामुदायिक वनमा व्यायामशाला निर्माणसम्म रहेका छन् ।

त्यस्तै नगरमा सञ्चालित बहुवर्षीय तथा क्रमागत योजनाको संख्या ४० रहेको छ । जसमा संघीय तथा विशेष अनुदानका समेत रहेका छन् । त्यस्तै बिर्तामोडका १० वटै वडामा वडागत योजना अन्तर्गत विकास निर्माणसहितका काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताए । वडागत योजनामा सामाजिक विकास, भौतिक विकास, पूर्बाधार विकास, प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

बिर्तामोड नगरपालिकामा सञ्चालित योजनामध्ये संघीय सशर्त तथा विशेष अनुदानको तर्फबाट निर्माण भइरहेका योजनामा बोलवम मन्डी–दुर्गा कम्प्लेक्स– न्यूटन्स स्कूल रिङरोड निर्माणका लागि २ करोड, ८९ लाख, ३ हजार ८ सय १६ रुपैयाँ, १५ शैययको बिर्तामोड नगर अस्पताल निर्माणका लागि १४ करोड ६१ लाख, १८ हजार ७ सय ४० रुपैयाँ रहेको छ ।

त्यस्तै बिर्तामोड नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ४ करोड ८८ लाख ४७ हजार, १ सय ३१ रुपैयाँ, बिर्ताबजारमा कृषि बजार तथा सामुदायिक भवन निर्माणका लागि २ करोड,९६ लाख ४ सय ३९ रुपैयाँ, बुट्टावारी–प्याकुरेल चोक सडक स्तरोन्नतिका लागि ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँ संघीय सरकारको सशर्त तथा विशेष अनुदान रहेको नगरप्रमुख प्रसाईले बताइन् ।

आर्थिक वर्ष २०८०/०८१का लागि बिर्तामोड नगरपालिकाले एक अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमध्ये संघीय समानीकरण अनुदान २० करोड, ३६ लाख, संघीय सरकार राजश्व वाँडफाँड १३ करोड १६ लाख ९२ हजार रहेको छ ।

त्यस्तै प्रदेश सरकार समानीकरण अनुदान एक करोड ३४ लाख ४ हजार प्रदेश सरकार राजश्व वाँडफाँड १ करोड १९ लाख ७५ हजार, नगरको आन्तरिक आय ३२ करोड, संघीय सशर्त अनुदान चालूतर्फ २९ करोड ६ लाख, पुँजीगततर्फ ३६ करोड ७६ लाख, संघीय विशेष अनुदान २ करोड र समपूरक अनुदान ६५ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here