प्रतिनिधिसभाः ‘आगामी वर्षको बजेट सकारात्मक छ’

0
6

काठमाडौँ,

प्रतिनिधिसभाको आजको बैठकमा सांसद अच्युतप्रसाद मैनालीले आर्थिक वर्ष २०८१/८२ को बजेट सकारात्मक भएको भन्दै पूर्ण समर्थन जनाउनुभएको भएको छ । आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज भएको छलफलमा उहाँले बजेटको पूर्ण समर्थन गर्नुभयो ।

सांसद मैनालीले भन्नुभयो, “बजेटमा प्रस्तुत भएका कार्यक्रमहरु जनता केन्द्रित र न्यूनतम साझा विषयमा केन्द्रित छन् ।” उहाँले बजेटमा विस्तृत छलफल हुनुपर्नेमा नभएको भन्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “१५आँै योजनाको अन्त्य हुन गइरहेको छ, त्यसलाई हामीले समीक्षा गर्न सक्यौँ वा सकेनाँै ?, अर्थतन्त्रमा संरचनागत चुनौती बढ्दै गएको अवस्थामा यसको सुधारका उपायहरु बजेटमा प्रस्तुत भएनन्”, उहाँले भन्नुभयो ।

सांसद माधव सापकोटाले बजेटको मुख्य चुनौतीे कार्यन्वयनको पाटो भएको बताउनुभयो । बजेटलाई कार्यान्वयन गर्न सकेमा यो डेढ दशककै सफल बजेट हुने विश्वास व्यक्त गर्नुभयो । “बजेट परिचालनको क्षमता घट्दै गएको छ, यो निकै चुनौतीको विषय हो । सार्वजनिक खरिद ऐनका विषयमा गम्भीरतापूर्वक बहस गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

सांसद निशा डाँगीले समग्रमा अघिल्लो वर्षभन्दा यो वर्षको बजेट सकारात्मक रहेको टिप्पणी गर्नुभयो । “अनुमानित राजस्व र वैदेशिक अनुदानबाट आगामी वर्षको खर्च बेहोर्न सकिने परिप्रेक्ष्यमा जुन आकारको बजेट आएको छ त्यो सन्तुलत नै देखिन्छ । करसम्बन्धी सूचना विश्लेषण गर्न एआइको प्रयोगको घोषणाले राजस्व सङ्कलनको नयाँ अभ्यास थपिदिएको छ । मानव स्वास्थ्यका लागि हानिकारिक रहेको मदिराजन्य, सुर्तिजन्य पदार्थमा लगाइएको शुल्कको वृद्धि सकारात्मक छ” उहाँले भन्नुभयो ।

उक्त शुल्क वृद्धिले राज्यको राजस्व वृद्धि गर्नुका साथै राज्य नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको देखाउने सांसद डाँगीको भनाइ छ । उहाँले भन्नुभयो, “बजेटमा राम्रा पक्ष भए पनि आन्तरिक ऋण बढाइएको छ, त्यो चिन्ताजनक विषय हो ।”

सांसद रोशन कार्कीले सरकार परिवर्तनसँगै सरकारको सिद्धान्त र प्राथमिकता परिवर्तन हुन नहुने भन्दै बजेट कार्यानवयन प्रभावकारी रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here