अर्जुन राजवंशी,
झापा ।

भिडियो एक्स–रे को रिपोर्ट आउन पहिले छिटोमा तीन दिन लाग्थ्यो । सीटी स्क्यान हप्तामा दुई दिन मुस्किलले गरिन्थ्यो । रोग नै नलागेका मानिसलाई पनि अनेकौं रोग लागेको ल्याब रिपोर्ट प्राप्त हुन्थ्यो ।
दुई वर्ष अघिसम्म झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा यस्तै हुन्थ्यो । सामान्य सरसफाईमा पनि ध्यान दिइँदैन थियो । हप्तौंसम्म फोहोर उठ्दैनथ्यो । अस्पताल परिसर दुर्गन्धित थियो ।
डाक्टर र कर्मचारी कति बेला आउने र कति बजेसम्म बस्ने भन्ने पनि निश्चित हुँदैनथ्यो । त्यही मेची प्रादेशिक अस्पताल अहिले फेरिएको छ । पहिलेको त्यस्तो अनुभव भएका जोकोही अचेल अस्पताल पुग्यो भने धेरै फरक अवस्था पाउँछन् । अस्पतालको सेवा प्रवाहमा पहिलेभन्दा धेरै सहजता आएको अनुभव गर्न सकिन्छ ।
कोशी प्रदेश सरकारको निगरानी र नियमित अनुगमन हुन थालेपछि अस्पतालको सेवा प्रवाहमा सुधार आएको छ । बिरामीले सीटी स्क्यान र भिडियो एक्स–रेको सेवा दैनिक पाउन थालेका छन् । ल्याब रिपोर्टमा हुने कमजोरी सुधार भएको छ । अस्पताल परिसरमा नियमित सरसफाई हुन थालेको छ ।
पहिले अस्पतालमा अत्यावश्यक सुविधा र पूर्वाधारहरु थप्नका लागि केन्द्रको मुख ताक्नुपर्ने अवस्था थियो । पटक–पटक ताकेता गर्दा पनि हत्तपत्त सहयोग पाउन मुस्किल पर्ने अवस्था मुलुक संघीय संरचनामा गएसँगै फेरिएको छ । प्रदेश सरकारले आफ्नो क्षेत्रमा पर्ने स्वास्थ्य, शिक्षालगायत क्षेत्रका लागि भरथेग गर्न थालेकाले पहिलेजस्तो समस्या छैन । त्यही कारण पनि मेची प्रादेशिक अस्पतालको अवस्था पछिल्लो समय सुधार हुँदै आएको हो ।
साबिकको मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दालाई लक्षित गरी स्थापना गरिएको अस्पतालबाट दैनिक ७ सयभन्दा बढी बिरामीले बहिरंग विभाग (ओपीडी) बाट सेवा लिइरहेका छन् । जसमा ७५ प्रतिशत बिरामीले बीमाको सुविधा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ । साबिकको मेची अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालमा रुपान्तरण भएपछि अस्पतालमा केही महत्वपूर्ण सेवाहरुको विस्तार भएको छ ।
प्रदेश सरकारको लगानीमा अस्पतालबाट सीटी स्क्यान सेवा शुरु भएको छ । करिब ५ करोड रुपैयाँको लागतमा प्रदेशकै ठूलो सीटी स्क्यान मेसिन जडान गरिएको छ । जापानी कम्पनीको उक्त मेसिनबाट दैनिक १० जनाभन्दा बढी बिरामीले सेवा लिने गरेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए ।
प्रदेश सरकारको लगानीमा मेची प्रादेशिक अस्पतालमा फिजियोथेरापी सेवा समेत शुरु भएको छ । करिब एक वर्षदेखि अस्पतालबाट फिजियोथेरापी सेवा दिन थालिएको पोखरेलले बताए । उनका अनुसार करिब ५० लाख रुपैयाँ बजेट खर्च गरी फिजियो सेवा शुरु गरिएको हो । सहायक फिजियोथेरापिष्टको सहयोगमा हाल दैनिक १० जनाभन्दा बढीले उक्त सुविधा लिने गरेका छन् ।
प्रदेश सरकारले १० वर्षमुनिको बालबालिकाको उपचार निःशुल्क गरेपछि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या बढेको छ । पहिले बालबालिकाहरु बिरामी पर्दा अन्यत्र जाने चलन रहेकोमा अब भने मेची अस्पतालकै भर पर्न थालेका छन् । बालबालिकाको उपचारका लागि बालरोग विशेषज्ञहरु उपलब्ध छन् । विशेषज्ञद्वारा सेवा दिन थालेपछि हाल १० वर्षमुनिका दैनिक ४० भन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् । त्यस्तै, उक्त सुविधा लिन दैनिक करिब १० जना बिरामी अस्पतालमा भर्ना समेत हुने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।
प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स र शव बाहन समेत उपलब्ध गराएको छ । अस्पतालमा यसअघि शव बाहन थिएन । एक वर्षयता प्रदेश सरकारले उपलब्ध गराएको शव बाहनले सेवा प्रदान गरिरहेको छ । अस्पतालमा रहेको एम्बुलेन्स पुरानो भएर चलाउन नसक्ने भएपछि प्रदेश सरकारले करिब दुई वर्षअघि वातानुकूलित (एसी) सुविधासहितको एम्बुलेन्स अस्पताललाई उपलब्ध गराएको हो ।
प्रदेश सरकारले मेची प्रादेशिक अस्पतालमा बायोमेडिकल हब पनि स्थापना गरेको छ । यसै वर्ष स्थापना भएको बायोमेडिकल हबका लागि एकजना बायोमेडिकल इञ्जिनियर तथा एक जना सहायक इञ्जिनियर समेत नियुक्त गरिएको छ । उक्त हबबाट प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुमा बिग्रिएका उपकरणहरुको मर्मत सम्भार गर्ने गरिन्छ ।
प्रदेश सरकारले चालूआर्थिक वर्षमा मेची प्रादेशिक अस्पताललाई मेडिकल उपकरण खरिदमा २ करोड रुपैयाँ बजेट समेत उपलब्ध गराएको छ । त्यस्तै, फर्निचर खरिदका लागि चालूवर्ष थप ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट प्रक्रियागत रुपमा खर्च गर्ने गरी आवश्यक प्रक्रिया शुरु गरेको अस्पतालका सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
अस्पतालको पुँजीगत तथा चालू खर्चका लागि प्रदेश सरकारले वार्षिक २० देखि २२ करोड बजेट उपलब्ध गराउने गरेको छ । करिब २० करोड आन्तरिक आम्दानी गर्ने अस्पतालबाट अति विपन्नवर्गले स्वास्थ्य सुविधा लिने गरेका छन् । भद्रपुर–८ स्थित प्रादेशिक अस्पतालको नाममा १२ बिघा ६ कठ्ठा १३ धुर जमिन रहेको छ ।
करिब ५० वर्ष पुराना भवनबाट सेवा दिँदै आएको अस्पतालमा १ सय १० शैय्या सञ्चालनमा छन् । यद्यपि, मेची प्रादेशिक अस्पताल ५० शैय्या मात्र स्वीकृत भएको अस्पताल हो । १ सय ३ जना दरबन्दी रहेको अस्पतालमा ४८ जना मात्र दरबन्दीका स्वास्थ्यकर्मी कार्यरत छन् । एक जना मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी भएपनि उक्त पद रिक्त रहेको छ ।
२१ जना मेडिकल कन्सलट्यान्टको दरबन्दी रहेकोमा दरबन्दी अनुसार ५ जना मात्र डाक्टर कार्यरत रहेका छन् । १८ जना स्टाफ नर्सको दरबन्दीमा १६ जना मात्र दरबन्दी अनुसार स्टाफ नर्स कार्यरत रहेको अस्पतालले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।
अस्पतालमा चिकित्सकसहित २ सय ६८ जना कर्मचारी कार्यरत छन् । जसमा छात्रवृत्ति करारबाट १४ जना, अस्पताल विकास समिति करारबाट ५५ जना, अस्पताल विकास समिति स्वयम्सेवकबाट ५ जना, अस्पताल विकास समिति स्थायीबाट १३ जना, अस्पताल विकास समितिबाट दैनिक ज्यालादारी ४४ जना, स्थायी र काजसहित ४७ जना तथा प्रदेश करारबाट ९० जना कार्यरत छन् । ‘पहिलेभन्दा धेरै कुरामा सुधार भएको छ । तर, अझै पनि बिरामीको चाप अनुसार अस्पतालले आफ्नो सेवा सुविधा बिस्तार गर्न सकेको छैन’– स्थानीय शिवराज राजभण्डारीले भने– ‘हाम्रो क्षेत्रको लागि यो अस्पताल निकै महत्वपूर्ण छ । तर, सरकारले वर्षौसम्म डाक्टर र भौतिक विकास नगरिदिँदा हामीले पाउनुपर्ने धेरै सुविधाहरु प्राप्त गर्न सकेका छैनौं ।’
दुई वर्षअघि अस्पतालको गुणस्तरीय सेवा तथा भौतिक विकासलगायत ३५ बुँदे माग राखेर स्थानीय बासिन्दा आन्दोलित बनेका थिए । अस्पताललाई सेवामुखी भन्दा पनि राजनीतिक भर्ती केन्द्र बनाएको स्थानीयको आरोप थियो । अस्पताल सुधार दबाब समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका स्थानीयको दबाबका कारण अस्पतालले धेरै व्यवस्थापकीय कमजोरीहरु सुधार गरेको छ । कोशी प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई ५० बेडबाट स्तरोन्नति गर्दै २ सय शैय्याको बनाउने निर्णय गरिसकेको छ । उक्त निर्णय अनुसार जनशक्ति व्यवस्थापन तथा भौतिक विकासको काम भने गर्न बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले बताए ।
उनका अनुसार पुरानो भवनबाट अस्पताल सञ्चालनमा रहेकाले शैय्या संख्या थपेर सेवा सुविधा दिन कठिनाइ भइरहेको छ । मेची प्रादेशिक अस्पतालबाट इमरजेन्सी सेवा, शल्यक्रिया सेवा, बालरोग सेवा, स्त्री तथा प्रसूति सेवा, हाडजोर्नी सम्बन्धी सेवा, फार्मेसी सेवा, प्याथोलोजी सेवा, सिटी स्क्यान सेवा, एक्स–रे सेवा, ओसीएमसी सेवा, एआरटी सेवा, ओएसटी सेवा, सातामा दुई पटक साधारण आँखा उपचार, इएनटी, दन्त सेवा, लगायत सेवाको दैनिक ओपीडी तथा उपचार गर्ने गरिन्छ ।
अस्पतालबाट आर्थिक वर्ष २०७८/०७९मा एक लाख ३५ हजार ६ सय ३९ जना बिरामीले ओपीडी सेवा लिएका थिए । आर्थिक वर्ष २०७९/०८० मा एक लाख ४९ हजार ८५ जना तथा चालूवर्षको पुस मसान्तसम्म ५५ हजार ७२ जनाले ओपीडी सेवा लिएको तथ्यांक अस्पताल प्रशासनले उपलब्ध गराएको छ ।
उक्त तथ्यांक अनुसार आ.व. २०७८/०७९ मा २४ हजार २२ जना, आ.व २०७९/०८० मा २७ हजार ९ सय ५६ तथा चालू वर्षको पुस मसान्तसम्म १० हजार ६ सय ४१ जनाले आकस्मिक सेवा लिएका छन् ।
प्रादेशिक अस्पतालका लागि नजिकै नयाँ भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयले भ्याटसहित २४ करोड ६२ लाखको बजेटमा अस्पताल भवन निर्माण गरेको छ । २०७४ कात्तिकमा ठेक्का लागेको उक्त भवन काठमाडौंको श्री कन्टेक प्रा. लि. ले निर्माण गरेको हो ।
तर, भवन कमसल बनेपछि अहिलेसम्म अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको छैन । अस्पताल भवन कमसल भएको साथै पानी चुहिएपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए । उक्त विषयमा अस्पताल प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण भएपछि ठेकेदार कम्पनीले पानी चुहिएको ठाउँमा पुनः निर्माण कार्य गरिरहेको छ ।
‘पुरानो भवन जीर्ण छ । जति सरसफाई गरेपनि पुरानैजस्तो देखिन्छ । बेड थप्न मिल्ने अवस्था छैन’– मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले भने– ‘नयाँ भवनमा सर्ने हतारो गरिरहेका छौं । ठेकेदारले निर्माण सकेर जिम्मा दिनासाथ अस्पताल सार्ने कार्यमा लाग्छौं ।’
पर्याप्त र व्यवस्थित भवन अनि जनशक्ति अभावमा अस्पतालले भेन्टिलेटर सहितको आईसीयू सुविधा बढाउन सकेको छैन । ‘बेड थप्ने ठाउँ पनि छैन । सेवा गर्ने पर्याप्त जनशक्ति पनि छैन’– उनले भने– ‘अहिले जेनतेन ३ वटा आईसीयू बेड चलाइरहेका छौं । बेड अभावमा १० वटा भेन्टिलेटर स्टोरमै थन्काएर राख्नु परेको छ ।’
करिब १२ विगाहा क्षेत्रफलमा रहेको मेची तत्कालीन मेची अस्पतालको स्थापना वि.सं. २०१५ सालमा भएको हो । प्रारम्भिक चरणमा २५ शैय्याको अस्पताल रहेकामा २०३४ सालमा स्तरोन्नति गरी स्वीकृत बेड संख्या ५० पुगेको थियो । साविक ‘मेची अञ्चल अस्पताल’ का रुपमा चर्चित यो अस्पतालको नाम फेरिएर ‘प्रादेशिक अस्पताल’ भएको हो । मुलुक संघीय संरचनामा गएपछि यसलाई प्रादेशिक अस्पतालमा रूपान्तरित गरिएको हो ।
अस्पतालमा दैनिक करिब औसत नौ सय बिरामीले ओपीडी सेवा लिने गरेका छन् भने आकस्मिक सेवामा ५० भन्दा बिरामी भर्ना हुने गरेका छन् । अस्पतालमा आएका सेवाग्राहीहरु मध्ये ७० प्रतिशतले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गराउँदै आएका छन् ।
अस्पतालमा २ अक्सिजन प्लान्ट, १३ मिर्गौला डायलासिस मेसिन, ३ आइसीयू बेड र २५ एचडीयू बेड सञ्चालनमा रहेको छ । त्यस्तै सिटीस्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका सेवा अस्पतालमा उपलब्ध छ ।
प्रदेश सरकारमातहत आएपछि अब यसलाई मेडिकल कलेजको अवधारणाका साथ अघि बढाउने कुरा पनि उठेको छ । कोशी प्रदेशका हालका मुख्यमन्त्री हिक्मतकुमार कार्की आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका बेला मेची प्रादेशिक अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाएर मेडिकल कलेज बनाउने बताएका थिए ।






























