झापाका सबै स्थानीय तहमा नीति तथा कार्यक्रम प्रस्तुत , कुन स्थानीय तहको कति बजेट ?

0
47

झापा। झापाका १५ वटा स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट ल्याएका छन् । गौरीगञ्ज गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि १६ गते मात्रै बजेट ल्याउने भएको हो । अन्य १४ वटा पालिकाले बजेटसहितको नीति कार्यक्रम ल्याएका हुन् ।
नगरपालिकातर्फ सबैभन्दा बढी बजेट मेचीनगरको रहेको छ । मेचीनगरले दुई अर्ब पाँच करोडको बजेट सार्वजनिक गरेको छ भने दमकले एक अर्ब ६२ करोडको बजेट सार्वजनिक ग¥यो । यता बिर्तामोड नगरपालिकाले एक अर्ब २९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकातर्फ कमल गाउँपालिकाले ७१ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक ग¥यो ।  हल्दिवारी गाउँपालिकाले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । पालिकाले ४८ करोड ८९ लाख बजेट सार्वजनिक गरेको हो  भने कचनकवलले ६६ करोड ३१ लाखको बजेट सार्वजनिक गरेको छ ।

बाह्रदशी गाउँपालिकाको बजेट ५० करोड

आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्रदशी गाउँपालिकाले ५० करोड ४५ लाख ४४ हजार नौ सय ९९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
१५ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँसभाले स्बीकृत गरेको नीति तथा कार्यक्रमसहित उपाध्यक्ष खरेलले चालू खर्च, पुँजीगत खर्च र वित्तीय ब्यवस्थाको रकम समेतको बजेट प्रस्तुत गरेकी थिइन् । बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले सहजीकरण गरेका थिए भने उपाध्यक्ष खरेलले पालिकाको आयव्ययको विवरण समेत प्रस्तुत गरेकी थिइन् ।
वडा नम्वर –४ का वडाध्यक्ष महताव आलमले स्वागत गरेको कार्यक्रममा जनप्रतिनिधिहरु जय तिम्सिना, गंगाराम धिताल, मिलन संग्रौला, सम्पतलाल गिरी, युवराज ढकाल, डुककुमारी विक, कल्पना श्रेष्ठ र हेमलाल दाहालले बजेटका विषयमा धारणा राखेका थिए । बाह्रदशी गाउँपालिकामा बेरुजु शून्य पार्ने नीति अबलम्बन गर्दै ल्याइएको नीति तथा कार्यक्रम सहितको बजेटमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क, सिकाइ क्रियाकलापलाई समय सापेक्ष बनाउँदै सूचना प्रविधिमैत्री बनाइने, कक्षा १२ सम्म दिवासत्रमा पठनपाठनको ब्यवस्था मिलाउने, विद्यालयको भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै विद्युतीय पुस्ताकालय, कम्प्यूटर तथा विज्ञान प्रयोगशाला स्थापनामा प्रथमिकता दिइने भएको छ ।
त्यस्तै उच्च शिक्षा अध्ययन अध्यापन गर्न बाह्रदशी सामुदायिक क्याम्पसको भवन निर्माण र भौतिक पूर्वाधार विकासमा जोड दिइने भएको छ । साथै शिक्षाशास्त्र संकाय सञ्चालनका लागि आवश्यक पहल गरिने भएको छ । शैक्षिक संस्थाहरुको सम्पतिको संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक कानून निर्माण गरिने र आधारभूत तहस्तरीय स्थानीय पाठ्यक्रम निर्माण भएकोले यसै आर्थिक वर्षबाट पाठ्यपुस्तक निर्माण गरी अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइने भएको छ ।
स्वास्थ्यतर्फ नेपाल सरकारबाट निःशुल्क वितरणका लागि तोकिएको औषधिहरुको सहज उपलब्धताको सुनिश्चिता गरिने भएको छ । नागरिकको पहुँच सुनिश्चित हुनेगरी गाउँपालिका क्षेत्रभित्र एमबीबीएस चिकित्सक र प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा तथा इसीजी सेवासहितको आधारभूत अस्पताल सञ्चालनको कामलाई थप व्यवस्थित गरिने साथै बाह्रदशी अस्पतालबाट स्वास्थ्य विमा कार्यक्रम यसै आर्थिक वर्षबाट सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स–रे सेवा, प्रयोगशाला सेवा, नियमित स्वास्थ्य परीक्षण कार्यलाई निरन्तरता दिइनेछ भने वर्थिङ सेन्टरहरुलाई थप गुणस्तरीय र प्रभावकारी तथा सम्पूर्ण लक्षित वर्गको पहुँच हुनेगरी विस्तार गरिनेछ । त्यस्तै महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फिस्टुला, बाँझोपन जस्ता रोगहरुको प्रारम्भिक स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ भने नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज बनाइने भएको छ ।
आयुर्वेद शाखाबाट गाउँपालिका अध्यक्षसँग वडास्तरीय जेष्ठ नागरिक कार्यकम सबै वडामा सञ्चालन गरिने भएको छ । आयुर्वेद शाखामा भएको प्रयोगशालालाई नियमित सञ्चालन गरिने, योग, आयुर्वेद, स्वास्थ जीवनशैलीको माध्यमबाट प्रवद्र्धनात्मक चिकित्सा सञ्चालन गरिने भएको छ ।
कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले पकेट क्षेत्रको माध्यमबाट कृषि प्रतिको अभिरुचीमा वृद्धि गर्दै जमिन बाझो राख्ने कार्यलाई निरुत्साहित गर्ने भएको छ । मौसमी तथा बेमौसमी तरकारी खेती, उन्नत धान, मकै, तेलहन, आलुखेती लयायतका नगदे बालीहरुको विकासमा जोड दिइने भएको छ । पशु स्वास्थ्य सुधारका कार्यक्रम, नश्ल सुधार सम्बन्धी कार्यक्रम सञ्चालन गरिने कार्यलाई निरन्तरता दिइने भएको छ । कृषक सुचीकरण थप प्रभावकारी बनाउन कृषि पशुपंक्षि तथा मत्स्य सम्बन्धि तथ्याङ्क अध्यावधिक कार्यकम गरिने गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ ।त्यस्तै कृषिमा आधुनिकीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धिको लागि आधुनिक कृषि प्रणली अन्तर्गत आधुनिक प्रविधि तथा यन्त्र उपकरण वितरण कार्यलाई निरन्तरता दिइने भएको छ ।
गाउँपालिकाले न्यून बेरुजु अभियान नै सञ्चालन गर्ने बताइएको छ । हालसम्म देखिएका वेरुजुलाई समेत लागत राख्ने र समयमा बेरुजु फस्र्योट गर्ने कामलाई अघि बढाइने भएको छ । कृषि क्षेत्रको विकासका लागि एक करोड रुपैयाँ बजेट विनियोजना गरेको छ भने पशु विकास कार्यक्रमका लागि ४० लाख विनियोजना गरेको छ । शैक्षिक सुधारका लागि दुई करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बिर्तामोडको एक अर्ब २९ करोड

बिर्तामोड नगरपालिकाले १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नगरपालिकाले नीति तथा कार्यक्रमसहितको बजेट ल्याएको हो । नगरपालिकाको दोस्रो नगरसभाको पाँचौं अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।


बजेटको आयमा संघीय समानीकरणबाट २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँडबाट १३ करोड ९८ लाख, प्रदेश समानीकरणबाट १ करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३४ लाख २० हजार, आन्तरिक स्रोतबाट २० करोड ५० लाख, जग्गा रेजिस्ट्रेसनबाट १२ करोड, संघीय सशर्त चालूबाट २९ करोड ८ लाख ६३ हजार, संघीय सशर्त पुँजीगतबाट ३१ करोड ८० लाख २५ हजार, संघीय विशेष अनुदानबाट ३ करोड, प्रदेश सशर्त चालूबाट ९४ लाख ४६ हजार, प्रदेश पुँजीगत सशर्तबाट १ करोड ४१ लाख, प्रदेश समपूरकबाट १ करोड ३० लाख र जनसहभागिताबाट २ करोड रुपैयाँ प्राप्त हुने नगरको अनुमान रहेको छ ।
बजेट प्रस्तुत गर्नु अघि नगरपालिकाद्वारा आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । नगरप्रमुख पवित्रा महतरा प्रसाईंले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । १८६ बुँदामा समेटिएको नगरको नीति तथा कार्यक्रम नगरप्रमुख प्रसाईंले सोमबार सार्वजनिक गरेकी हुन् । चालू आवमा अवलम्बन गरिएका महत्वपूर्ण नीतिहरुलाई निरन्तरता दिँदै पहिलो ५ वर्षे नगर आवधिक योजनाले लिएको उद्देश्य र लक्ष्य, सहस्राब्दी विकास लक्ष्य, राष्ट्रिय प्राथमिकता प्राप्त कार्यकमहरु र सुखी नेपाली समृद्ध नेपालको भिजन समेतको आधारमा आगामी आवका लागि नीति तथा कार्यकम तय गरी प्रस्तुत गरिएको नगरप्रमुख प्रसाईंले बताइन् ।
नीति तथा कार्यक्रममा शिक्षा, राजश्व परिचालन, स्वास्थ्य विकास कार्यक्रम, कृषि विकास, पशुपंक्षी तथा मत्स्यपालन विकास, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता, लक्षित क्षेत्र, न्यायिक निरुपण, पर्यटन क्षेत्र, बन, वातावरण, विपद व्यवस्थापन, उद्योयोग, व्यवसाय, व्यापार, रोजगार, यातायात तथा पूर्वाधार, युवा, खेलकुद तथा कला साहित्य, सुशासन, विज्ञान, प्रविधि, सूचना तथा सञ्चारलगायत क्षेत्रको विकास समेटिएका छन् ।

अर्जुनधाराको ८५ करोड ५९ लाख

झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८५ करोड ५९ लाख १० हजार बजेट विनियोजन गरेको छ ।
नगरसभाको १५ औं अधिवेशनमा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उक्त बजेट पेश गरेकी हुन् । नगरपालिकाले समपूरक कोषका लागि २ करोड ५० लाख, साझेदारी कार्यक्रमका लागि १ करोड ८० लाख र वडा समितिले छनोट गरेका वडास्तरीय कार्यक्रमहरु सञ्चालनका लागि ९ करोड ९० लाख विनियोजन गरेको छ ।
त्यस्तै, समपूरक कोष, साझेदारी कोष, प्रस्तावनामा आधारित कार्यक्रम, विपद् व्यवस्थापन कोष, संघसंस्था प्रवद्र्धन कार्यक्रम तथा जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालनका लागि २ करोड १५ लाख विनियोजन गरिएको छ ।
नगरसभाले शिक्षा, स्वास्थ्य, आयुर्वेद, सामाजिक विकासका अन्य क्षेत्रहरुमा कार्यक्रम सञ्चालनका लागि ५ करोड ९३ लाख, आर्थिक विकासका क्षेत्रहरु कृषि, पशुपालन तथा पर्यटन क्षेत्रको विकासका लागि लागि २ करोड ५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमका लागि १ करोड ५० लाख, सुशासन तथा संस्थागत विकाससम्बन्धी कार्यक्रमका लागि ७० लाख तथा भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
यसैगरी, नगरपालिकाको आन्तरिक प्रशासनिक खर्च तथा सेवा व्यवस्थापनका लागि १२ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त वार्षिक बजेटका लागि स्रोत व्यवस्थापनतर्फ नेपाल सरकारबाट सशर्त कार्यक्रमवापत ३८ करोड १२ लाख ८० हजार, वित्तीय हस्तान्तरणतर्फ १७ करोड ५ लाख, विशेष अनुदानतर्फ ७० लाख प्राप्त हुने उल्लेख छ ।
यस्तै, समपूरक अनुदानतर्फ १ करोड ४० लाख, राजश्व बाँडफाँडवापत १२ करोड ९५ लाख प्राप्त हुनेछ । त्यस्तै, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणवापत १ करोड ९ लाख १८ हजार, सवारी कर बाँडफाँडवापत १ करोड ६६ लाख ५० हजार, मालपोत रजिष्ट्रेशन बाँडफाँडवापत ४ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी, सशर्त अनुदान २ करोड ३० लाख ६२ हजार, समपूरक अनुदान १ करोड ३० लाख प्राप्त हुनेछ । नगरपालिकाबाट ८ करोड ५० लाख आन्तरिक आय संकलन गरिने लक्ष्य लिइएको छ ।

कनकाईको बजेट ६९ करोड ७७ लाख

झापाको कनकाई नगरपालिकाले नगरको वृहत्तर विकासलाई लक्षित गरी आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार १६ औं नगरसभामा नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरको वृहत्तरहितका लागि आगामी आर्थिक वर्षका लागि १८४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति कार्यक्रमसहित नगरपालिकाले ६९ करोड ७७ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको हो ।


भौतिक पूर्वाधारतर्फ ‘हाम्रो विकास हाम्रो हात, जुटौं सबै एक साथ’ भन्ने नाराका साथ २७ बुँदे नीति तथा कार्यक्रम रहेको छ । नगरको पूर्वाधार विकास गुरुयोजना अनुसार गरिने, लागत साझेदारीका योजनालाई प्राथमिकता दिइने, गुणस्तरीय र मापदण्ड अनुसारको पूर्वाधार विकासका कार्य गर्ने लगायतका कुरा समेटिएको छ ।
त्यस्तै, सामाजिक विकासतर्फ शिक्षा, युवा तथा खेलकुदतर्फ ३४ बुँदे, स्वास्थ्यतर्फ १३ बुँदे, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग तथा लक्षित वर्गतर्फ आठ बँुदे नीति तथा कार्यक्रम बनाइएको छ । नगरका स्वास्थ्य संंस्थाहरुबाट प्रदान गरिने सेवालाई चुस्त दुरुस्त बनाउने, नगर अस्पताललाई सुविधा सम्पन्न बनाइने लगायतका विषयलाई प्राथमिकता दिइएको नगर उप्रमुख शिवाकोटीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, वन, वातावरण विपद् व्यवस्थापन तथा पर्यटनतर्फ खानेपानी तथा सरसफाई अन्तरगत पाँच बुँदे, वन वातावरण तथा पर्यटनतर्फ ११ बुँदे र विपद् व्यवस्थापनतर्फ ११ बुँदे नीति तथा कार्यक्रम तयार गरिएको छ । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोगमा निरुत्साहित, एक घर एक बिरुवा, एकीकृत विपद् व्यवस्थापन केन्द्र निर्माणका लागि सहयोग समन्वय गरिने नीति कार्यक्रममा उल्लेख छ ।
नगरको सार्वजनिक सेवा, सुशासन तथा संस्थागत क्षमता विकासतर्फ पेपरलेस अवधारणा, जनताको घरदैलोमा जनप्रतिनिधि कार्यक्रम अन्तरगत नगरबासीका गुनासो सुन्ने, गरौं मिलाप नगरौं विलाप भन्ने नाराका साथ न्यायिक समितिमा दर्ता हुने सबै विवाद तथा उजुरीको समाधान गर्ने लगायतका २९ बुँदे नीति तथा कार्यक्रम तय गरिएको छ । आर्थिक विकासतर्फ राजश्व परिचालन २३ बुँदे, कृषि तथा पशुपालनमा १६ बुँदे र उद्योग, बाणिज्य, सहकारी तथा वित्तीय क्षेत्रतर्फ ७ बुँदे नीति तथा कार्यक्रम नगरले निर्माण गरेको छ ।
नगरसभामा कनकाई वडा नं. १ का अध्यक्ष सुशील पोखरेल, २ का वडाध्यक्ष बलराम राई (प्रताप) र ८ नं. वडाका वडाध्यक्ष लीलाबहादुर कटुवालले नीति तथा कार्यक्रममा सुझाव दिएका थिए ।
सभाध्यक्ष नगरप्रमुख राजेन्द्र पोखरेलले सभासदहरुले उठाएका सवाल र सुझावहरुलाई नीति तथा कार्यक्रममा समेटिने बताए । आएका सुझावलाई समावेश र संशोधन गरे जान्छौं –उनले भने –म प्रतिबद्धता जनाउँछु ।
सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत सुरज प्रधान, वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्यहरुको लगायतको उपस्थितिले नगरसभाले आगामी वर्षको नीति तथा कार्यक्रमलाई संंशोधनसहित पास गरेको छ ।

बुद्धबान्तिको ६४ करोड ८ लाख

बुद्धशान्ति गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १४ औं गाउँसभा अन्तर्गत बजेट अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेका थिए । गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको सभामा उपाध्यक्ष खतिवडाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।


आर्थिक वर्ष २०८१÷०८२ मा यस गाउँपालिकालाई वित्तीय हस्तान्तरण वापत नेपाल सरकारबाट वित्तीय समानीकरणतर्फ प्राप्त हुने जम्मा १३ करोड ९३ लाख, राजश्व वाँडफाँड १० करोड ३० लाख, सशर्त अनुदानतर्फ २४ करोड ९६ लाख ५ हजार, समपूरक अनुदान १ करोड र विशेष अनुदान ८५ लाख प्राप्त हुने अनुमान रहेको उपाध्यक्ष खतिवडाले बताए । त्यस्तै, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणतर्फ ८८ लाख ६ हजार, राजश्व वाँडफाँड ५५ लाख ७६ हजार, सशर्त अनुदानतर्फ प्राप्त हुने १ करोड ५७ लाख ५१ हजार, समपूरक अनुदान १ करोड प्राप्त हुने अनुमान रहेको उनको भनाइ छ । आन्तरिक श्रोततर्फ ५ करोड ९ लाख, स्थानीय राजश्व बाँडफाँडतर्फ ३ करोड ९३ लाख ९४ हजार गरी आम्दानीतर्फ कूल रु ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

हल्दिवारीको ४८ करोड ८९ लाख

हल्दिवारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ४८ करोड ८९ लाख रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८१–०८२ को वजेट गाउँसभाले सर्वसम्मत स्वीकृत गरेको छ । उपाध्यक्ष लक्ष्मीदेवी मैनालीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा वार्षिक आयव्यय समेटिएको बजेट गाउँसभाले अनुमोदन गरेको हो ।
हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा शुरु भएको १७ औं गाउँसभामा प्रदेशसभा सदस्य छविलाल चुडाल, वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नम्बर ३ का अध्यक्ष बिष्णुप्रसाद ओली र कार्यपालिका सदस्य शान्ता शिवाकोटीले बोलेका थिए ।
आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमका लागि ४८ करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । चालू आर्थिक २०८०÷०८१ मा वर्षमा ४८ करोड ६९ लाख १० हजार ३२३ रुपैयाँ ७४ पैसाको बजेट रहेकोमा आगामी आर्थिक वर्ष २० लाख २९ हजार ६७६ रुपैयाँ २६ पैसा बढाएर अनुमानित बजेट ल्याएको हो ।

झापाको ४९ करोड ९० लाख

झापा गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८१–०८२ को बजेट गाउँ सभाले सर्वसम्मत स्वीकृत गरेको छ । पालिका कावा अध्यक्ष अञ्जुदेवी थपलियाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा वार्षिक आयव्यय समेटिएको बजेट गाउँसभाले अनुमोदन गरेको हो ।
आगामी आर्थिक वर्ष २०८१– ०८२ को नीति तथा कार्यक्रमका लागि ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । १६ औं गाउँसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलियाले चालू आर्थिक वर्षको भन्दा कम बजेट प्रस्तुत गरेकी हुन् ।
चालू आर्थिक २०८० – ०८१ मा वर्षमा ४९ करोड ९० लाख १७ हजार २ सय रुपैयाँ बजेट रहेकोमा आगामी आर्थिक वर्ष ४७ लाख १२ हजार २ सय घटाएर अनुमानित बजेट ल्याएको हो ।
आगामी अनुमानित बजेटमा आर्थिक विकासतर्फ १ करोड ८४ लाख , सामाजिक विकासतर्फ ५ करोड ७४ लाख २० हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २१ लाख, संस्थागत विकास – सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ ५५ लाख र पूर्वाधार विकासतर्फ १० करोड २८ लाख, संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीयता समपूरक अनुदान ७६ लाख, प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार र प्रदेश समपूरक अनुदान १ करोड गरी ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट कार्यवाहक अध्यक्ष थपलियाले प्रस्तुत गरेकी हुन् ।
पालिकाले ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये आन्तरिक आय १ करोड ५० लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १० करोड ३९ लाख, प्रदेशबाट ४४ लाख ७९ हजार, घरजग्गा रजिस्ट्रेशन दस्तुर ५० लाख, संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीय समानीकरण अनुदान ११ करोड ७४ लाख, प्रदेश समानीकरण अनुदान ७३ लाख ७९ हजार , संघीय समपूरक अनुदान ७६ लाख, प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार , र प्रदेश समपूरक अनुदान १ करोड रहेको छ ।

दमकको १ अर्ब ६२ करोड

आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि झापाको दोस्रो पुरानो नगरपालिकाको रुपमा रहेको दमकले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।


नगरपालिकाको १५ औं नगरसभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईँले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेकी हुन् । सो बजेट चालू आर्थिक वर्ष २०८०–०८१ को तुलनामा ८.७२ प्रतिशतले बढी हो । उपप्रमुख प्रसाईँले वार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गरेको कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले नगर सभाको अध्यक्षता गरेका थिए ।
नगर प्रमुख थापाले नेपाल सरकारबाट दमक नगरलाई प्राप्त हुनुपर्ने अनुदान रकममा भएको कटौती, आन्तरिक स्रोतबाट समेत अपेक्षाकृत राजश्व सङ्कलन गर्न नसकिएको स्वीकार गरेका छन् । उनले प्रविधिमैत्रीसहितको सुशासनको नीति अख्तियार गरिने उल्लेख गर्दै पूर्वाधार विकास र गुणस्तरीय शिक्षामा नागरिकको पहुँच अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

कमलको ७१ करोड ८३ लाख ८४ हजार

‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ कमल गाउँपालिकालाई सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प सहित वार्षिक नीति तथा कार्यक्रम पेश गरिएको थियो ।
गाउँपालिकाको विकास र समृद्धिको लागि राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय तथा दिगो विकास सहितको पूर्वाधार निर्माण गर्न स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी तथा दिगो स्थानीय आर्थिक विकासमार्फत समृद्घ गाउँपालिकाको लक्ष्य हासिल गर्ने नीति तथा कार्यक्रम पेश गरिएको छ ।
त्यसैगरी गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधारका विकासमा केन्द्र सरकार, प्रदेश सरकारबाट प्राप्त स्रोतहरु र आन्तरिक स्रोत तथा साधनहरु परिचालन गरी आर्थिक तथा सामाजिक विकासका कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्दै जनतालाई स्थानीय सरकार भएको अनुभूति दिलाउने खालका कार्यक्रम सञ्चालन गरिने समेत अध्यक्ष राईद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले १५ औँ गाउँसभामाको पहिलो बैठकमा आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष न्यौपानेले ७१ करोड ८३ लाख ८४ हजार रुपैयाको अनुमानित आयव्यय प्रस्तुत गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here