बिर्तामोड ।
भारतबाट खुलेआम रुपमा लागूऔषध नेपाल भित्रिने गरेको पाइएको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै भारतबाट तस्करहरुले लागूऔषध नेपाल ल्याएर विक्री वितरण गर्ने गरेको स्रोतको दाबी छ ।
भारतसँग सीमाना जोडिएका जिल्लाहरुबाट नेपालमा लागूऔषध ब्राउनसुगर, कोकिन, अफिम लगायत भित्रिने गरेको पाइएको छ । पूर्वी नाका कांँकरभिट्टा, भद्रपुर, झापा गाउँपालिका लगायतका विभिन्न स्थानबाट समेत ठूलो परिमाणमा लागूऔषध नेपाल भित्रिने गरेको स्रोतको दाबी छ । झापाबाट भित्रिएको लागूऔषध काठमाण्डौंसम्म पुग्ने गरेको बताइएको छ ।
भारतको पश्चिम बंगाल राज्यका पानीट्याङ्की, नक्सलावारी, शिलगढी, विहार राज्यका विभिन्न शहरहरुबाट नेपालीले सहज रुपमा लागूऔषध खरिद गर्न पाउने गरेका छन् । भारतीय स्रोत भन्छ– भारतीय नागरिकलाई लागूऔषध बेच्न पाइँदैन तर, नेपाली तथा अन्य मुलुकका नागरिकलाई बेचे प्रशासनले केही गर्दैन ।
भारतीयहरु भन्छन्– बिहार राज्यमा मदिरा निषेध छ तर, हाम्रा नागरिकलाई उनीहरुले रक्सी बेच्छन् भने हामी पनि लागूऔषध खुल्ला गरिदिन्छौं । भारतीय पक्षले खुल्ला रुपमा नेपालीलाई लागूऔषध बेच्ने गरेपनि प्रशासनस्तरको बैठकमा भने भारतीयहरु यो विषय स्वीकार गर्दैनन् । उनीहरुले नेपालीलाई लाागूऔषध बेच्ने गरेको विषय सत्य नभएको भन्ने गरेका छन् भने नेपाली पक्षले पनि यो विषय उठान नगर्ने गरेको स्रोतको दाबी छ । तर जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले भने दुई पक्षीय बैठकमा लागूऔषधको विषय उठाउने गरेको दावी गरे ।
भारतको पानीट्याङ्कीका विभिन्न गल्लीमा लागूऔषध कारोबाारीहरुले घर नै भाडामा लिएर नेपालीलाई लागूऔषध बेच्ने गरेको बताइएको छ । धेरै नेपाली लागूऔषध प्रयोगकर्ता पानीट्याङ्की तथा भारतका विभिन्न स्थानमा पुगेर लागूऔषध सेवन गरेर आउने गरेको जनाइएको छ ।
नेपालका विभिन्न जिल्लाबाट समेत लागूऔषध कारोबारीहरु भारतसम्म पुगेर लागूऔषध किन्ने गरेको स्रोतले जनाएको छ । भारतीय पक्षले लागूऔषध विक्री वितरणमा कडाइ नगर्दा नेपालका तराई तथा पहाड र हिमाली जिल्लामा समेत लागूऔषधको प्रयोग बढेको प्रहरी स्रोतको दाबी छ ।