नौ वर्षपछि शिक्षाकर्मी लक्ष्मण सुवेदीलाई सम्झँदा

0
2

२०७२ सालको असार १९ गते भारत चेन्नईको ग्लोबल हस्पिटलमा क्यान्सरले कनकाई नगर क्षेत्रका एक अब्बल शिक्षाकर्मी लक्ष्मण सुवेदीको जीवनलीला समाप्त पा¥यो । तिथिले केही दिनअघि उनको स्मृति दिवस भए पनि आम शुभचिन्तकका लागि असार १९ नै स्मृति दिवस हो । हुन त अमर र अजम्मरी संसारमा कोही छैन । हाम्रो शरीर अविनाशी छैन । यो सबैले स्वीकार गरेको यथार्थ भए पनि हाम्रा आफ्ना आफन्त र नातेदारले यो धरती छोड्दा हामी भावविव्हल हुन्छौं, शोकाकुल हुन्छौं र निराश हुन्छौं । यो नश्वर चोला माटोमा मिल्छ वा खरानी भई फुङ्ग उड्छ भन्ने सच्चाइलाई केही क्षणका लागि भए पनि भुल्छौं हामी । मानिस यस धरामा आउने र यहाँबाट बिदा भएर जाने क्रममा कनकाई नगर क्षेत्रका शिक्षाका ज्योति लक्ष्मण सुबेदीको हकमा पनि यही कुरा लागू भइसकेको छ । जन्म र मृत्युु वीचको समयावधि मात्र जीवन हो । मृत्युलाई न सम्राटले रोक्न सक्छन्, न कुनै तानाशाहले ।

असार १९ गते स्वर्गीय लक्ष्मण सुवेदीले धराधाम त्यागी दैहिक स्वरुप र सांसारिक मायाजालबाट मुक्त भएको नौ वर्ष पुगेको छ । हामीसामुु भौतिक रूपमा उनी छैनन् । तर, उनीसँगका सहकार्यका दिनहरू स्मरणमा छन् । लक्ष्मण सरसँग बिताएका हर क्षण सिनेमाको रिलझैं आइरहेका छन् यतिबेला । सफलतामा हौस्सिँदै सँगै रमाएका र विफलतामा हस्रक्क परेर दुःखी भएका स्मृतिका छालहरू उर्लिरहेका छन् मनमस्तिष्कभरि । पृथ्वीमा अजर र अमर कुनै प्राणी र वनस्पति छैन, चीरस्थायी कुनै भौतिक वस्तु छैन, तर के गर्नु जीवन रहेसम्म सम्झनाहरु रहिरहने रहेछन्, यादहरु सल्बलाइरहने रहेछन् । भनिन्छ– स्मृति ताजा रहेसम्म सम्बन्धित मानिसका लागि कुनै आफन्त मर्दैनन् ।

लक्ष्मण सरसँग मैले कुनै विद्यालय वा कलेजका औपचारिक कक्षाहरू लिइन, तर उनी मेरा लागि एक आदरणीय सर थिए, एक आदरणीय दाजु थिए, अग्रज र पथप्रदर्शक थिए । धर्मशास्त्रको मान्यतामा विश्वास वा अविश्वास जे गरे पनि शरीर त्यागी इहलोक छोड्नेले मायाररूपी मोहजालबाट छुट्कारा पाउँदा हुन्, तर बाँच्नेका लागि स्मृतिले काम गरेसम्म रेलका डिब्बा झैं एकपछि अर्का सम्झनाका लहरहरु ताँतीका ताँती उपस्थित हुन्छन् मस्तिष्कभरि । हृदयका पानामा कहिले स्पष्ट त कहिले घुर्मैला अक्षरहरु कोर्दै स्मरणका लहरहरु लहरिन्छन् । स्मृति हृदयमा हुन्छ कि मस्तिष्कमा ? यो त धर्मवेत्ता, तर्कवेत्ता र मनोवैज्ञानिकहरु नै जानून् । तर, लक्ष्मण सर यतिबेला मेरो हृदयमा पनि छन्, मस्तिष्कमा पनि छन् ।

लक्ष्मण सरसँग पुगनपुग दुई वर्ष पशुपति अंग्रेजी माध्यमिक विद्यालय सुरुङ्गामा र २०५९ सालदेखि २०७२ सालसम्म कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा सहकर्मीको रुपमा काम गर्ने अवसर मिल्यो । सँगसँगै काम गर्दा केही तलमाथि हुन सक्छ, सोच र दृष्टिकोणमा समानता भए पनि कार्यशैलीको फरकले फरक मत हुन सक्छन्, तर उनीसँग काम गर्दाका तीता, टर्रा र तम्तमाइला कुनै सम्झनाहरु छैनन् । उनीसँगका बिझाउने कुनै घटना कहिल्यै भएनन् । उनी सदैव हौसला र मेहेनतका साथ काममा लाग्थे र सोचेको कुरा पूरा गरेरै छोड्ने उनको बानी थियो । वास्तवमा उनी सफल योजनाकार थिए, समन्वयकर्ता थिए र सदैव उत्साह तथा उमँगका पर्याय थिए । उनले राजनीतिक आस्थाका आधारमा कहिल्यै कसैसँग पक्षपाती व्यवहार गरेको मलाई सम्झना छैन । काम गर्ने सिलसिलामा कतिपय सबालमा विमति भए पनि विशेषतः क्याम्पसको वृहत्तर हित र समयको माग अनुरुप शिक्षा क्षेत्रमा आएका परिवर्तनलाई आत्मसात गरेर अघि बढ्ने कुरामा मतैक्य रहने गथ्र्याे हामीबीचमा । उनी शिक्षामा युगको माग अनुरुप परिवर्तनलाई ग्रहण गरेर अघि बढ्नुपर्छ भन्ने मत राख्थे ।

कनकाई क्याम्पस सुरुङ्गामा प्राविधिक शिक्षा शुरु गर्नुपर्छ र बदलिँदो परिवेश अनुरुप नयाँ विषयहरु ल्याउनुपर्छ भन्ने उनको स्पष्ट धारणा थियो । उनको भावना अनुरुप प्रतिवेदन तथा दस्तावेज लेखनमा मैले क्याम्पसमा कम्प्युटर, पत्रकारिता लगायतका प्राविधिक विषयको पठनपाठन शुरु गर्नुपर्छ भनेर समावेश गरेको पनि छु । प्रमाणका लागि क्याम्पसका अघिल्ला वर्षहरुका प्रतिवेदनहरुलाई हेर्न सकिन्छ । क्याम्पसका औपचारिक सभामा ती प्रतिवेदनहरु वाचन पनि गरिए, तर व्यवहारमा आजपर्यन्त लागू हुन सकेन । आर्थिक, शैक्षिक, राजनीतिक वा अन्य कुनै प्रतिष्ठान वा संस्थाले समयको स्पन्दनलाई बुझेर मूलधारमा हिँड्न नसके समयको छालले हुत्याइदिन्छ किनारातिर । यतिबेला लक्ष्मण सरको अबको युग प्राविधिक युग हो भनेको आज जस्तो लाग्छ मलाई ।

दुःख र अभावका संघर्षमय दिनहरुमा समेत उनीसँग लामो समयदेखि सहकार्य गर्ने अंग्रेजी भाषाका प्रशिक्षक टीकाप्रसाद लामिछानेको विचारमा स्व. सुबेदी अभावहरुका बीचबाट व्यक्तित्व निर्माण गर्न सफल शिक्षाकर्मी थिए । स्व. सुबेदी पारिवारिक कठिनाइका बाबजुद पनि उच्च शिक्षाका लागि समर्पित हुँदै चुनौतिहरुसँग खेल्दै अवसरको खोजी गर्ने, समयको माग र अभिभावकको चाहनालाई बुझ्ने सक्षम शिक्षक र सञ्चालक भएको लामिछानेको भनाइ छ । कन्काई माध्यमिक विद्यालय सुरुङ्गाकी सेवानिवृत्त शिक्षक एवम् स्व. सुबेदीकी धर्मपत्नी चम्पा खनाल (सुबेदी)ले लक्ष्मण सरलाई प्रष्टवक्ता, द्रूत निर्णय क्षमता भएका, तार्किक, सबैलाई समेट्न चाहने, पारिवारिक एकता चाहने, परिवार तथा गाउँ समाजका सबैले असल गोरेटोमा हिँड्न् भन्ने चाहने एक शिक्षाप्रेमी, विकासप्रेमी व्यक्तित्वको रुपमा स्मरण गरेकी छन् । असल कर्ममा विश्वास गर्ने, उदार दिल भएका र धर्मप्रति अगाध आस्था भएका एक असल, सहयोगी र जस्तासुकै दुःख र कठिन परिस्थितिमा पनि नहड्बडाउने संघर्षशील मानिसको रुपमा स्व.सुबेदी रहेको चम्पा मेडमको भनाइ छ ।

२०१९ साल बैशाख २७ गते झापाको पूर्वोत्तर गाविस बाहुनडाँगीको निन्दासिरानमा पण्डित त्रिलोचन सुबेदी र मेनका सुबेदीका सात भाइ छोरा र एक बहिनी छोरीमध्ये तेस्रो सन्तानका रूपमा जन्मेका स्व. सुबेदीले २०३८ सालमा कनकाई माध्यमिक विद्यालय सुरुङ्गाबाट तेस्रो ब्याचको विद्यार्थी भई एसएलसी गरेका थिए भने धनकुटा बहुमुखी क्याम्पसबाट आई.एड.र बी.एड्. तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट अंग्रेजी मुख्य विषय लिई एम.एड्. गरेका थिए । इलामको चिसापानीमा केही वर्षको शिक्षण अनुभव सँगाली झापा डाँगीबारीको लाफादीस्थित पशुपति प्रा.वि.मा २०४३ सालको शिक्षा आयोगबाट स्थायी भई शिक्षण शुरु गरेका थिए । उनको उच्च शिक्षाप्रतिको मोह अति नै थियो । इलामबाट सुरुङ्गाकै मित्र भानुभक्त कटुवाललाई आफ्नो दरबन्दीमा सरुवाको व्यवस्था मिलाई उच्च अध्ययनका लागि उनी हानिएका थिए कीर्तिपुर काठमाडौंतिर । उनी मृदुभाषी, मिलनसार, दूरदृष्टि भएका र परिवर्तनलाई सदैव आत्मसात गर्न तत्पर शिक्षाकर्मी थिए । उनी शिक्षा क्षेत्रमा शिक्षक र प्राध्यापक मात्र होइन, कुशल व्यवस्थापक र जिम्मेवार सञ्चालक पनि थिए । कनकाई नगर क्षेत्रकै सबभन्दा ठूलो र पुरानो अंग्रेजी माध्यमिक विद्यालयमा उनले सञ्चालक र प्रिन्सिपल भएर काम गरेका थिए ।

पछि २०६४ सालमा उनले एकल लगानीमा सुरुङ्गामै माध्यमिक तहसम्म अध्यापन हुने प्यारागन एकाडेमी सञ्चालनमा ल्याए । अंग्रेजी शिक्षाप्रतिको नगरवासीको मोहलाई आत्मसात गर्दै युग अनुरुप गुणस्तरीय शिक्षा दिनुपर्नेमा उनी कटिबद्ध थिए । उनी प्याब्सन झापाका उपाध्यक्ष र पछि सल्लाहकारको रुपमा सक्रिय थिए । विश्वव्यापी सञ्जाल रहेको लायन्स क्लव इन्टरनेशनलको स्थानीय शाखा लायन्स क्लव अफ कनकाई सुरुङ्गाको डाइरेक्टरको रूपमा उनी निधन हुनु अघिसम्म पनि क्रियाशील थिए । अंग्रेजी भाषापछिको संसारका धेरै मुलुकमा प्रयोग गरिने अन्तर्राष्ट्रिय भाषाको रुपमा प्रतिष्ठित एस्पेरान्तो भाषाको विस्तार र व्यवस्थित पठनपाठन शुरु गर्न स्थापना गरिएको मेची एस्पेरान्तो सोसाइतोका उनी संस्थापक उपाध्यक्ष थिए । नवीनतम् चिन्तन र प्रविधिलाई आत्मसात गर्न उनी सदैव अग्र पंक्तिमा हुन्थे । उनलाई म एक समन्वयकारी व्यक्तित्वको रुपमा सम्झन्छु ।

कनकाई बहुमुखी क्याम्पसमा समयक्रममा भएका अप्ठ्यारा परिस्थितिमा पनि प्राध्यापक संघको सभापतिको हैसियतले सन्तुलनकारी भूमिका खेल्दै क्याम्पसलाई आफ्नो गोरेटोमा हिँडाउन उनको ठूलो योगदान थियो । अंग्रेजी विभागको प्रमुख र अभ्यास शिक्षण समितिको अध्यक्षको भूमिकामा रही क्याम्पसमा उनले दिएको देनलाई बिर्सन सकिन्न । पब्लिक क्याम्पस प्राध्यापक संघ झापा जिल्ला कार्यसमितिको अध्यक्ष समेत रहेका स्व. सुबेदीको नेतृत्वदायी कार्यक्षमताका कारण प्राध्यापक संघ झापाको कार्यसमिति उनलाई आदरका साथ स्मरण गरिरहेको छ । दीर्घकालीन सोच भएका, शैक्षिक तथा सामाजिक काममा अत्यन्तै चासो राख्ने, हँसिलो मुस्कानपछि मात्र केही कुराको तर्कपूर्ण उत्तर दिने आदरणीय व्यक्तिको रुपमा सम्झँदै स्व. सुबेदीका देनलाई नभुल्न र उनका योगदानलाई चीरस्थायी बनाउन सबै लाग्नुपर्ने विचार छ युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक प्राध्यापक गुरुप्रसाद पौडयालकोे । उनको विचारमा स्व. सुवेदी एक अभिभावक र प्रेरणाको स्रोत रहेका थिए उनका लागि । अहिले उनको अभाव खड्किरहेको छ सबैका लागि । शिक्षा क्षेत्रमा उनले रोपेका बिरुवाहरु जुगजुगसम्म नयाँ पालुवा हाल्दै हुर्किरहनेछन् र सन्तानदरसन्तानका लागि शीतलता प्रदान गरिरहनेछन् ।

स्व. सुबेदीसँग लामो समयसम्म एउटै विद्यालयमा सहकर्मीका रुपमा काम गरेका प्याब्सन केन्द्रीय सदस्य एवम् पशुपति अंग्रेजी माविका प्रिन्सिपल एलपी उप्रेतीको विचारमा लक्ष्मण सर मिलनसार मित्र, कर्तव्यनिष्ठ शिक्षाकर्मी र संगठनको ध्येय र उद्देश्यप्रति प्रतिबद्ध व्यक्ति रहेका थिए । निधन हुनु ठीक अघिसम्म पनि जिल्ला सल्लाहकारको रूपमा प्याब्सनमा क्रियाशील रहेको र उनको निधनले संगठनले ठूलो क्षति आजसम्म पनि महशुस गरिरहेको उप्रेतीले बताए । कसैले कहिल्यै जित्न नसक्ने मृत्युले पनि शिक्षा क्षेत्रमा उनले गरेका योगदानलाई हल्लाउन सकेको छैन । सयौं हजारौं विद्यार्थी, अभिभावक, शुभचिन्तक र आत्मीय मित्रहरुका मुटुभरि र कनकाई नगरवासीका हृदयमा उनी जिवित छन् । कनकाई बहुमुखी क्याम्पसका बैठक पुस्तिकाका पानाहरूमा रहेका उनका हस्ताक्षरहरू रहिरहने छन् सदैव । उनी वाकपटुता र मौकामा तत्काल युक्तिसंगत उत्तर दिनसक्ने खुबी प्रत्युत्पन्नमतिमा अब्बल थिए । नजिकिँदै गरेको नवौं वार्षिक स्मृति दिवसको यो क्षणमा लक्ष्मण सरलाई हार्दिक सम्मान एवम् श्रद्धाञ्जली !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here