कृतिम बौद्धिकता मानव मस्तिष्कभन्दा अघि जान्छ ?

0
45

एक पटक म चर्चित कपिल शर्माको सोमा भिक्षु गौरगोपाल दासको कुरा सुनिरहेको थिएँ । त्यसमा उहाँ उपवासको कुरा गरिरहनुभएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो कि खाली पेटको उपवास अब पुरानो भइसक्यो र यो अहिलेको समयको माग होइन । अहिलेको २१औं शताब्दीको माग भनेको त विद्युतीय उपकरण र सामाजिक सञ्जालको उपवास हो । यसको अर्थ यदि हामी मनोवैज्ञानिक र मानसिक शान्ति चाहन्छौँ भने हामीले महिना वा हप्तामा एक दिन भए पनि मोबाइल, ल्यापटप, इन्टरनेट, फेसबुक, ट्वीटर जस्ता डिजिटल ग्याजेट तथा सञ्जालबाट टाढा बस्ने आँट गर्न सक्नुपर्छ ।

यो सुन्दा अपाच्य लाग्न सक्छ । किनकि अहिलेको जमानामा यस्ता डिजिटल ग्याजेट, इन्टरनेट र सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न अंग जस्तै बनिसकेको छ । यस भनाइको उद्देश्य एआइमैत्री टेक्नोलोजिले हाम्रो जीवनमा गरिरहेको नियन्त्रणलाई न्यूनीकरण गर्ने भन्ने हो यसको फलस्वरुप हामीलाई मानसिक शान्ती मिल्छ । यदि यस्ता प्रकारका ग्याजेट र टेक्नोलोजीले हामीलाई शासन गर्न थाले भने त्यो दिन धेरै टाढा छैन जुन दिन एआइ उपकरणले हामीमाथि राज गर्न थाल्छ र हामीभन्दा अगाडि बढेर जान सक्छ । किनभने हामीले जति धेरै एआई प्रयोग गर्छौँ त्यो त्यति नै बढी शक्तिशाली र स्मार्ट हुँदै जान्छ । एलोन मस्कले एक पटक भनेका थिए– ‘एआई मानव सभ्यताको लागि आधारभूत खतरा हो ।’

नयाँ एआई भनेको एउटा अबोध शिशु जस्तै हो, जसको मष्तिष्क पुरै खाली हुन्छ । यसको अधिकतम् प्रयोगले हाम्रो सबै तथ्यांक निल्छ र हामीले चाल्ने नयाँ कदमको भविष्यवाणी गर्दछ । एआईको बढ्दो प्रयोग मानवको लागी घातक हुन सक्छ । यसले हाम्रो भूतकालको तथ्यांकको आधारमा हाम्रो भविष्य एक्ट्रापोलेट गर्छ । उदाहरणका लागि हामीले फेसबुक, टिकटक केही क्षण चलाएपछि यसले हामी कस्तो कन्टेन्ट हेर्न खोजेको हो भन्ने बुझेर त्यस्तै भिडियोहरु देखाउन थाल्दछ । जति धेरै यसको प्रयोग गरिन्छ त्यति नै यसले हामीले नजिकैबाट चिन्न थाल्दछ ।

एआई भने त्यस्तो कम्प्युटराइज्ड मेसिनको विकास हो । जसले जैविक मष्तिष्क जस्तै सोचेर कार्य गर्न सक्छ, उदाहरणका लागि निर्णय निर्माण, वस्तु चिन्ने र जटिल समस्याहरुको समाधान गर्ने गर्न सक्छ । एआई तीन प्रकारको हुन्छ–आर्टिफिसियल न्यारो इन्टेलिजेन्स (ANI), आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (AGI) र आर्टिफिसियल सुपर इन्टेलिजेन्स (ASI) ।

यदि यस्तो एआईलाई आतंकवाद जस्तो विनासको लागि तालिम दिइयो भने यसले ठूलो प्रलय गराउन सक्छ, जुन मानव सभ्यताको लागि घाटक सिद्घ हुन सक्छ । अर्कोतर्फ यदि एआईलाई राम्रो कामका लागि तालिम दिइयो भने भविष्यमा यसले मानिसभन्दा राम्रो, डिलिजेन्ट र मसिनोसँग नथाकिकन काम गरेर यसले मानिसलाई विस्थापित गर्न सक्छ । यसले पनि भयानक अवस्था निम्त्याउन सक्छ । एआईलाई जसरी प्रयोग गरे पनि यसले निकट भविष्यमा मानवको जीवनमा समस्या निम्त्याउने प्रायः निश्चिित छ । एआईलाई जैविक मष्तिष्कलाई जित्न सक्ने क्षमता दिनु हुँदैन । यसलाई मानव मष्तिष्कको सहयोगीको रुपमा मात्रै सीमित राख्नु उचित हुन्छ ।

यहाँ म एक वर्ष अघिको एउटा चाखलाग्दो कथा राख्न चाहन्छ । एकदिन म मैले काम गर्ने विद्यालयको करिडरबाट हिँडिरहेको बेला दुईजना विद्यार्थीहरु गफ गर्दै गरको सुने । त्यहाँ एउटा विद्यार्थीले अर्काेलाई सोध्दै थियो– ‘तिमीले आजको टपिक बुझेऊ ? मलाई त एकदमै गाह्रो लाग्यो ।’ अर्काले मुस्कुरायो र जवाफ दियो– ‘मैले त झन् केही पनि बुझिनँ ।’ पहिलो विद्यार्थी छक्क प¥यो र सोध्यो– ‘त्यसो भए तिमीले नबुझेको कुरा किन शिक्षकसँग छलफल नगरेको छ ?’ यसको जवाफमा अर्काले भन्यो– ‘शिक्षकलाई सोध्नुको कुनै औचित्य नै छैन किनभने म यो टपिक पछि युट्युवमा हेर्छु । युट्युवले शिक्षकले भन्दा मज्जाले बुझाउँछ ।’

म पनि शिक्षक भएकाले यो कुराले मेरो मुटुमा छोयो तर सँगसँगै यसले मलाई मानव जीवनका हरेक पक्षमा प्रविधिले पारेको असरबारे मज्जाले जानकारी दियो । यो त एआई र हाम्रो जीवनको बलियो कनेक्सन छ भन्ने एउटा सामान्य उदाहरण मात्र हो । यसरी नै मानिसले इन्टरनेटलाई स्वास्थ्य समस्याका सल्लाह, औषधि उपचार, कपडाहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरुका लागि यसका एक्पर्टभन्दा धेरै विश्वास गरेको पाइन्छ । इन्टरनेटबाट प्राप्त उत्तरहरु चाहिँ पर्फेक्ट र त्रुटिरहित हुन्छ भन्ने भ्रम आजको मानिसहरुलाई छ । यस घडीमा मानिसले गुगल, जिमेल, सामाजिक सञ्जाल, इन्टरनेट र अहिले च्याटजिपिटि मानिसकै क्रिएसन हो भन्ने बिर्सिसकेको भान हुन्छ । अहिले मानिसहरु एआईमैत्री सर्च इञ्जिन च्याटजिपिटिका बारेमा एकदमै धेरै चर्चा भइरहेको छ ।

जे भए पनि, मुख्य प्रश्न भनेको एआईले जैविक मष्तिष्कलाई जितेर अगाडि जान सक्छ कि सक्दैन ? यसैगरी के एआइले जैविक मष्तिष्क जस्तै खुला सोच्न सक्छ ? खासमा भन्नुपर्दा एआई गर्भ भनेको पनि जैविक मष्तिष्क नै हो । त्यसो भए मानिसले जन्माएको एआईलाई भगवानले दिएको जैविक मष्तिष्कलाई कसरी जितेर जान सक्छ त ? एआईको आफ्नै लिमिटेसन छ । एआईको संसार भनेको यसको रचना गर्ने जैवीक मष्तिष्कले परिभाषित गरेको सीमाभित्र सीमित रहन्छ । तसर्थ, एआइले विश्वलाई शासन गर्छ भन्नु एउटा कल्पना मात्र हुन जान्छ । एआई आफैँमा सार्वभौम हुँदैन । यसको जैविक मष्तिष्कको जस्तो छुट्टै संसार हुँदैन । यो त केवल जैविक मष्तिष्कको एउटा सहायक साधन मात्र हो । एआईले मानव जीवनलाई सहज बनाउने किसिमले तयार गर्नु पर्दछ । तर, एआईले नै शासन गर्ने संसार हुँदैन र हुनु पनि हुँदैन ।

टक्निकल शब्दमा भन्नुपर्दा यो एआई भन्ने शब्द कम्प्युटर वैज्ञानिक जोन म्याकर्थिले सन् १९५६ मा प्रयोग गरेका थिए । यो बायो चिप्समा आधारित एक सेमिकन्डक्टरबाट बनेको जटिल विद्युतीय सर्किट हो । यो पनि मानव मष्तिष्ककै क्रिएसन हो । एआईले दिने उत्तर पनि यसको रचना गर्ने जैविक मष्तिष्कले परिभाषित गरेको सीमारेखाभित्र नै हुन्छ । यस आधारमा भन्नुपर्दा एआईको बेग्लै अस्तित्व सम्भव नै छैन । सँगसँगै एउटा एआईले अर्को एआईलाई जन्म दिने कुरा कल्पनामै सीमित हुन्छ ।

धेरै साइन्स फिक्सन फिल्ममा एआई मैत्री रोबोटहरुले आफ्नो संख्या आफैँ बढाएको, एक रोबोटले अर्कालाई काम अह्राएको देखाइएको छ । तर, एउटा मसिनले अर्को मसिनलाई काम लगाउने क्रिया काल्पनिक मात्र हो ।

जैविक मष्तिष्क करोडौँ नर्भ कोष, रक्तसञ्चार प्रणाली, मांशपेसीय प्रणालीको जटिल संयोजन हो । यसको मेमोरी भण्डारण क्षमता कृतिम बौद्घिकताको जसरी अंकमा लेख्न सकिँदैन । यसको मेमोरी दिनानुदिन बढ्दै जान्छ । हामीले जति धेरै जैविक मष्तिष्कको उपयोग गर्छौँ त्यति नै यसको क्षमता बढ्दै जान्छ ।

एउटा भनाइ छ– ‘मानिस कहिले पनि भगवान बन्न सक्दैन ।’ यो भनाइलाई सापटी लिँदा के भन्न सकिन्छ भने मानव भगवानको सृष्टि हो र यदि मानवले नै आफू जस्तै मानव कृत्रिम तरिकाले उत्पादन गर्न थाल्यो भने ऊ पनि भगवानभन्दा कम भएन जसले माथिको भनाइलाई गलत सावित गर्छ । यसको अर्थ मानिसले आफू जस्तै क्षमताको कृत्रिम मष्तिष्कहरु उत्पादन गर्न सक्दैन । जसरी एआईमैत्री मेसिनले अरु मेसिन जन्माउन सक्दैन त्यसरी नै मानिसले कृत्रिम तरिकाले आफू जस्तै अर्को मानिस वा मानिस जस्तै इन्टेलिजेन्ट र जैविक मष्तिष्क जस्तै सोच्ने र काम गर्ने मेसिन उत्पादन गर्न सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here