डेंगु नियन्त्रणका लागि सचेतना

0
12

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

नगरपालिकाको सभाहलमा शुक्रबार स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताइन् । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंँगको समन्वयमा जनचेतनामूलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताइन् ।

बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ । यसमध्ये वडा नम्बर –४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दीपक सापकोटाले जानकारी दिए । स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालले डेंगुको महामारी अघिल्लो वर्षको तुलनामा यस वर्ष कमी आएको बताए । उनका अनुसार झापामा एक सय ४७ जनामा संक्रमण देखिएको छ भने बिर्तामोड र दमकमा बढी देखिएको छ ।

कार्यक्रममा इन्सेफ्लाइटिसको जोखिमका विषयमा पनि जानकारी गराइएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकका अनुसार झापामा ४ जनामा इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । जसमध्ये मेचीनगरका एक जनाको मृत्यु भइसकेको छ । डेंगु परीक्षणमा ६ सय रुपैयाँ भन्दाबढी शुल्क लिन नपाइने भएकोले नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरुलाई सचेतसमेत गराएको छ ।

अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, उपसचिब तिलचन भण्डारी, नगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुनिल अधिकारी, सञ्जीवनी हार्ट हस्पिटलका डा. सीपी यादब, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत बिर्तामोड उद्योग वाणिज्य संघ, बिर्तामोडका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here