आज डिसेम्बर १ तारिख अर्थात विश्व एड्स दिवस । आज विश्वभर रातो रिबन अंकित ब्यानरसहित कार्यक्रमहरु भइरहेका छन् । समाजमा सचेतना अभिबृद्धि गरौं भनेर संक्रमितको बाँच्न पाउने अधिकार सुरक्षित गरौं, समाजमा उनीहरुलाई समायोजन गरौं, एड्स एउटा परिस्थिति हो, यो आफै रोग होइन भनेर विभिन्न कोणबाट कार्यक्रम गरिएता पनि यस पटकको विश्व एड्स दिवस २०२४ को नारा ‘आफ्नो अधिकार लिनुहोस्, मेरो स्वास्थ्य, मेरो अधिकार’ रहेको छ । जसले संक्रमितलाई हौसलासहित जीवन जिउन प्रोत्साहान गर्दैछ ।
एच आई भी र एड्स एउटै हो त ?
एचआईभी एक बिषाणु हो, जसले मानवीय शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँदछ । यदि एचआईभी संक्रमितको समयमै उपचार नगरेमा या भनौं शरीरमा विविध समस्या देखिएको अवस्था भनेको एड्स (AIDS- Acquired Immunodeficiency Syndrome) हो । HIV को संक्रमणपछि यो एक जटिल अवस्थामा परिणत हुन सक्छ । समग्रमा एचआईभी भाइरसले शरीरको रोगसँग लड्ने क्षमता घटाउने गर्दछ भने एचआईभीको अन्तिम अवस्था एड्स हो । जब प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर हुन्छ र विभिन्न गम्भीर रोगहरूको जोखिम हुन्छ ।
यसको विशाणु virus कसरी सर्छ ?
१) रगत सम्पर्कबाट सर्ने गर्दछ ।
यदि संक्रमित व्यक्तिको रगत प्रत्यक्ष रुपमा अर्को व्यक्तिमा Transfusion गरिन्छ भने रगतबाट प्रत्यक्ष सर्ने गर्दछ ।
२) बिना कन्डमको खुल्ला सम्पर्कबाट
संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क भएमा, एक जनाभन्दा बढी व्यक्तिसँग पटक–पटक सम्पर्क, एकभन्दा बढी यौनसाथी बनाउनु Multi partner sexual Activites), यौन व्यवसायमा नै संलग्न हुनु, समलिङ्गिद्वारा अपनाइने विभिन्न अप्राकृतिक र असुरक्षित यौन गतिविधि इत्यादि ।
३) सुई अथवा सिरिञ्जको साझा प्रयोग गर्दा ः संक्रमित व्यक्तिले प्रयोग गरेको सुई वा सिरिञ्ज प्रयोग गर्दा ।
४) ट्रान्सप्लासेन्टल ट्रानस्मिसन
संक्रमित दम्पत्तीले बच्चा जन्माउँछन् भने जन्मिएको बच्चामा एचआईभी संक्रमणको जोखिम हुन्छ ।
एचआईभी के–के गर्दा सर्दैन ?
हामीमाझ अझै पनि एचआईभी संक्रमितको नजिक पुगेमा, बसेमा पनि केही असहज महशुस र केही प्रश्न मनमा गुम्साउने समाज छ । हामीले व्यवहारिक सम्पर्कबाट एचआईभी भाइरस पटक्कै सर्दैन भन्ने बुझ्नु पर्दछ । जस्तैः संक्रमितसँग हात मिलाउँदा, संक्रमितसँग अंगालो मार्दा, एकै ठाउँमा बस्दा, ओछ्यान साझा गर्दा वा सँगै सुत्दा, संक्रमितले खोक्दा हाछ्यु हेर्दा, संक्रमितको जुठो खानेकुरा खाइएमा र लामखुट्टेको टोकाइले सर्दैन ।
रोकथामका उपायहरू (एचआईभी सर्न नदिन)
सुरक्षित यौन सम्पर्क राख्नु सबैभन्दा पहिलो र महत्वपूर्ण उपाय हो । जसका लागि
– जथाभावी यौन सम्पर्क नगर्ने । पुरुषले यौन सम्पर्कका बेला (Condom)को सही र सुरक्षित प्रयोग गर्न प्रतिबद्ध हुने हो र महिलाहरु त्यसमा विशेष सहयोगी बन्नु पर्दछ ।
– एक जना स्थिर पार्टनरसँग मात्रै यौन सम्पर्क राख्ने ।
– Blood Transfusion मा विशेष सुरक्षा अपनाउनु पर्दछ । रगत लिने गर्नु वा दिनुअघि एचआईभी परीक्षण गराउनु गर्दछ । स्वास्थ प्रोटोकल अनुसार गरिने विभिन्न रोगहरुको स्क्रिनिङ वा परिक्षण गरिनु पर्दछ ।
– निर्मलिकरण गरिएको सर्जिकल सामग्रीहरुको मात्र प्रयोग गर्ने वा स्वस्थ्य प्रोस्युडरमा प्रयोगमा आउने सामग्रीहरु Sterilization को सुनिश्चितता गरिनु पर्दछ । प्रत्येक पटक नयाँ र सुरक्षित सुई÷सिरिञ्जको प्रयोग गर्ने ।
– गर्भावस्थाको पहिलो ट्राइमिस्टरमा चिकित्सकको सल्लाह अनुसार हेमोग्लोबिन, रगत समूह र अन्य रगत परिक्षण गर्दैगर्दा एचआईभी परीक्षण अनिवार्य गराउने ।
– शिक्षा र सचेतना फैलाउने गर्नु
– एचआईभी र एड्सबारे स्पष्ट जानकारी दिने ।
– संक्रमितको खुलेर सामाजमा बाच्न पाउने अधिकारको सुनिश्चितता हुनु पर्दछ ।
– संक्रमितको स्वास्थ्य संरक्षण गर्नु विश्व एड्स दिवसको मुल नारा हो ।
– एचआईभी संक्रमित व्यक्तिलाई सहयोग गर्ने जसका लागि उनीहरूप्रति भेदभाव नगर्ने ।
– उनीहरूको स्वास्थ्यमा ध्यान दिने ।
– समयमै उपचार गराउन प्रेरित गर्ने ।
– समुदायिक व्यक्तित्वहरुले जिम्मेवार बनेर एचआईभी दिवस २०२४ का अवसरमा कार्यक्रमहरु गर्दै उनीहरुको स्वास्थ्य संरक्षण, समायोजन र पुनस्र्थापनामा विशेष जोड दिनु पर्दछ । यो अवस्थालाई पहिचान बनाउने अवसर बनाउन प्रोत्साहान गरिनु पर्दछ । जुन संक्रमितको अधिकार पनि हो ।