बिर्तामोडमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विविध कार्यक्रम

0
38

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित बिर्तामोडमा मनाइएको छ। बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्था, नेत्रहीन संघ झापा, मेची बहिरा संघको संयुक्त आयोजनामा विविध कार्यक्रमको गरी अपाङ्गता भएका व्यक्तिहरुको ३३अौं अन्तर्राष्ट्रिय दिवस मनाइएको हो।

बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाका अध्यक्ष दीपक थापाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेची बहिरा संघकी अध्यक्ष देवी निरौलाले स्वागत गरेकी थिइन्।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुमा पनि विभिन्न क्षेत्रमा सिर्जनात्मक काम गर्ने भिन्न क्षमता हुने भएकाले गरीखाने अवस्थाको सिर्जना गर्नमा नगरपालिकाको तर्फबाट आफूले ध्यान पुर्‍याउँदै आएको बताउँदै यसमा सबैले सहयोग गर्नुपर्ने बताए।

आयोजक संस्थाका अध्यक्ष दीपक थापा, होमनाथ राजबंशीले राज्यबाट आफूहरु उपेक्षित बन्ने गरेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई दयाभन्दा पनि सरकारले स्ववलम्बन बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीले कार्यक्रमको अौचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बिर्ता लेडिजका अध्यक्ष मेनुका ओली , इनर ह्वील क्लब अफ बिर्तामोड मीडटाउनकी अध्यक्ष जुनु बिमली उप्रेती, स्ववलम्बन संस्थाका सल्लाहकार डा. रुपक खनाल, झापा लेखाजोखा केन्द्रका संयोजक भुवन पौडेल, बिर्तामोड अपाङ्गता स्ववलम्बन संस्थाका कोषाध्यक्ष पदम अधिकारी, समाजसेवी अञ्जनी शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई इनर क्लब, अञ्जनी शर्मा लगायत दाताबाट प्राप्त न्यानो कपडा तथा अपाङ्गतासम्बन्धी सामाग्री वितरण गरिएको थियो। यस अघि विभिन्न नारासहित रयालीको आयोजना गरिएको थियो।

दुर्गा मावि गरामनी, विराट आधारभूत विद्यालय बिराटपोखरमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थी, देवी माविका स्काउट विद्यार्थी, आयोजक संस्थामा आबद्ध अपाङ्गता भएका व्यक्तिलगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेत्रहीन संघ झापाकी सहसचिव मुना भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here