अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ३०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
समितिको कार्यालय प्राङ्गणमा अध्यक्ष किरण शिवाकोटीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष शिवाकोटीले संस्थाको गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन र सचिव राकेश ढकालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाले जम्मा दुई हजार एक सय ५३ परिवारलाई खानेपानीको पहुँचमा पु¥याएको, सात लाख ७५ हजार लिटर क्षमताको दुई थान पानी ट्याङकी सञ्चालन, दियालो टेक्नोलोजीद्वारा पानी लोड गर्ने सिस्टम स्वचालित बनाएको, कार्यालय भवनको माथिल्लो तलामा सभाहल निर्माण, उपसमितिमार्फत् विपन्न परिवार छनौट गरि धारा जडानमा २५ प्रतिशत छुट दिनेलगायतका कार्यहरु सम्पन्न गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी एक करोड एक लाख ४७ हजार ९० रुपैयाँ ४४ पैसा, जम्मा खर्च ९२ लाख ६३ हजार सात सय पाँच रुपैयाँ १६ पैसा र चालु आर्थिक वर्ष ०८१/०८२को असोज मसान्तसम्मको जम्मा आम्दानी २१ लाख ६९ हजार आठ सय छ रुपैयाँ २८ पैसा र जम्मा खर्च ४९ लाख २६ हजार तीन सय ६७ रुपैयाँ ७८ पैसा उल्लेख गरिएको छ ।
कार्यक्रममा अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्र, अर्जुनधारा–१०का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, संस्थाका सल्लाहकार पुष्पकुमार प्रसाईं, पूर्व अध्यक्षद्वय छत्रमणि ढकाल र शंकर सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका उपाध्यक्ष किरण वनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव ढकालले गरेका थिए ।