आजकै दिन ४९ वर्षअघि (२०३३ पुष १६ गते) आठ वर्ष लामो भारत निर्वासनबाट मृत्युदण्ड समेतको पर्वाह नगरी आफ्ना सहकर्मीसहित राष्ट्रिय मेल मिलापको नीति लिएर वीपी कोइराला स्वदेश फर्किएको दिन । यस दिन (पुस १६)लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा देश बिदेशमा मनाउने गरेको छ ।
यही दिन वीपीलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरी सिँधै सुन्दरीजल जेल लगियो, जहाँ वीपीलाई १६ वर्षअघि थुनामा राखिएको थियो । २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले दुईतिहाइ बहुमतसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्री परिषद् र संसद विघटन गरी शाही सेनाको बलमा प्रजातन्त्रको हत्या काम भयो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन् वीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरु माथि देशद्रोहको मुद्दा समेत लगाएर जेल हाल्नु भयो ।
वीपीलाई जेल हालिएको आठ वर्षपछि २०२५ कात्तिक १४ गते वीपी कोइराला लगायतका नेताहरु जेलमुक्त हुनुभयो । त्यसपछि उहाँहरु भारतमा निर्वासन जीवन बिताउन थाल्नुभयो । त्यसको आठ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूहरु माथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किनुभयो ।
नेपाल तरुण दलको महाधिवेशन उद्घाटनमा सरिक भइरहेकोे अवस्थामा २०१७ साल पुस १ गत नेपाली कांग्रेसका सभापति समेत रहनुभएका वीपीलाई पक्राउ गरी सुन्दरीजल जेल लगियो र प्रजातन्त्रलाई कू गरियो । भागेर, देश छोडेर हिँडेका राजाहरुलाई स्वदेश फर्काएर राजगद्दीमा राख्ने कांग्रेस र नेपाली जनताको अधिकारकाप्रति राजाहरुको बारम्बारको आक्रमणकै कारण ज्ञानेन्द्र शाहको पालामा आइपुग्दा नेपालबाट २४० वर्षे इतिहासको बिरासत खण्डित गर्दै राजतन्त्र÷राजसंस्था समाप्त भयो । विश्वको राजनीतिक इतिहासमा अत्याचार गर्नेहरुको अन्त्य यसरी नै हुँदै आएको छ, हुन्छ ! र गणतन्त्रको बिऊ त राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र खोसेर कांग्रेसलाई दमन गर्दै कांग्रसको कउण्टरमा दरबारिया दानापानीमा रोयल कम्युनिष्ट उत्पादन गरेर रोपेका थिए । यस्तो दरबारिया षडयन्त्रको चक्रब्यूहमा परेको नेपाली कनंग्रेसले त्यही राजतन्त्रसँग देश बचाउन मेलमिलापको हात अघि बढायो ।
कांग्रेस इतिहासदेखि नै मेलमिलापको पक्षमा
नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै क्रान्ति र शान्तिको मार्ग पहिल्याएको पाइन्छ । मध्ययुगिन दाशतापूर्ण जहानीयाँ राणा शासनकालको अन्धकार युगमा जनतामा चेतना भर्ने र समानताका लागि संघर्ष गर्ने कांग्रेसीहरुको त्यो परिवेशको राजनीतिक चेतलाई क्रान्तिकारीहरुको उत्साहपूर्ण बलिदानको रुपमा लिइन्छ । नेपालीलाई रैतीबाट नागरिक बनाउन हतियारबन्द क्रान्ति गरेको नेपाली कांग्रेसले भागेर नेपालस्थित भारतीय दुतावासको शरण हुँदै दिल्ली पुगेका राजा त्रिभुवनको राजगद्दी पुनस्र्थापना र राणाहरुलाई पनि देश छोड्न नपर्ने बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरे स्वदेशमै बस्न दिने नीति अंगिकार ग¥यो । यही नीतिका कारण भारतको दिल्लीमा नेपाली कांग्रेस, तत्कालिन राजा श्री ५ त्रिभुवन र राणाहरुका बीचमा त्रिपक्षीय सम्झता भएपछि नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा गरियो । नेपालमा प्रजातन्त्र आएपछि राजाको समेत प्रतिनिधि रहने गरी तत्कालिन श्री ३ माहराज मोहन शम्शेरको नेतृत्वमा वीपी कोइराला गृहमन्त्री रहेको मन्त्री मण्डल पनि गठन भयो । राणहरुको श्री ३ पदवी खोसियो, राजाले मात्र श्री ५ लेख्न पायाृ अधिकार रह्यो । यो घटना पनि क्रान्तिका बीचमै पनि शान्ति र बढी रक्तपात नहोस् भन्नका खातिर एउटा मेलमिलापको नीति थियो । प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने एउटा बलियो उदाहरण हो, २००७ सालको त्रिपक्षीय सम्झौता पनि ।
वि.सं. २०३१ साल बैशाख १३ (सन् १९७५ अप्रिल २६) मा भारतले सिक्किमलाई आफ्नो मुलुकमा बिलय गराएपछि वीपी कोइरालालाई नेपालको अस्तित्व पनि संकटमा पर्न लागेको आशंका भयो । जसरी सिक्किममा त्यहाँका राजा र जनताका बीचमा फाटो पैदा गराएर भारतमा बिलय गराइयो, नेपाललाई पनि राजा र आफ्नाबीचमा फाटो गराएर नेपालको राष्ट्रिय अस्मितालाई धरापमा पर्ने षडयन्त्र भइरहेको वीपीले पूर्वानुमान लगाउनुभयो । यही परिवेशमा अनेक अफ्ठ्यारोका बीच पनि मतृभूमि र नेपाली जनताको मायाले गर्दा आफ्नो ज्यानको बाजी लगाएर वीपी नेपाल फर्किनु भएको थियो । मुलुक नै नरहे के का लागि र कसका लागि राजनीति गर्नु ? पहिला मुलुक बचाउँ, अनि राजासँग, पञ्चसँग जो, जोसँग लड्नु परे पनि लडौंला भनेर स्वदेश फर्किनुभएका वीपीले देश बचाउन राष्ट्रियताका सवालमा राजाको घाँटीभन्दा पहिला मेरो घाँटी छ, मलाई नछिनाई राजालाई सक्दैनौं । अर्थात् देश बचाउन राजा र म सँगै छौं । देश जोगाएपछि राजा र पञ्चसँग प्रजातन्त्रका लागि लड्ने लडाइँ त फेरि पनि छँदैछ भनेर मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ वीपीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किनुभएको थियो । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किनुभएका महामानव वीपीले पत्रकारहरुले राखेको जिज्ञासामा मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो । निरंकुश राजतन्त्रलाई वीपीले कहिल्यै स्वीकार गर्नुभएन । तर, वीपीले राजासँग मिल्नुपर्छ भन्नुभएको थियो, कांग्रेसले कम्युनिष्टसँग मिलेर राजा फाल्यो भनेर गलत भाष्य निर्माण गर्न खोजिँदैछ । वीपीले राजासँग मिल्ने कुरा कुन सन्दर्भ र प्रसंगमा गर्नुभएको थियो भनेर बिश्लेषण नगरी एकोहोरो राजाको कुरामात्र गर्दा मेलमिलाप नीतिको उद्देश्य, औचित्य र सान्दर्भिकता माथि अन्याय हुन जान्छ ।
आजभन्दा ५० वर्षअघि सिक्किममा सिक्किम नेशनल कांग्रेस र सिक्किम जनता कांग्रेससँग राजा छोग्यालको द्वन्द्व बढेर जाँदा राजतन्त्र मात्र समाप्त भएन, देशको स्वतन्त्र अस्तित्व नै सकियो, विश्वमानचित्रबाट सिक्किम हरायो, बिलय भयो । भारतीय गुप्तचर संस्था रअ र प्रधानमन्त्री इन्दिरा गान्धीको गुप्त योजना अनुसार नै सिक्किमलाई भारतले निलेपछि वीपीले देश जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिनुभयो । यही नीतिपछि सशस्त्र विद्रोशको तयारी गर्दै गरेको कांग्रेसले हतियारको राजनीति छोड्दै शान्तिपूर्ण राजनीतिमा आउने सोचाइ बनाएकोे पाइन्छ । वीपीको स्वदेश आगमन र त्यसको प्रभावले देशमा प्रजातान्त्रिक आन्दोलनका पक्षमा राजनीतिक तरंग सिर्जना ग¥यो, सर्वसाधारण जनता समेतलाई प्रभावित ग¥यो । त्यसैको परिणाम २०३५ को विद्यार्थी आन्दोलन, २०३६ को जनमत संग्रह हँुदै राजनीति केही खुकुलो भयो । त्यही मेलमिलापको नीतिमा टेकेर कांग्रेसले राणा, राजा र कम्युनिष्टहरुलाई प्रजातन्त्र र जनतामा निहित सार्वभौम सत्ता (अर्थात् जनताको सर्वोच्चता)लाई स्वीकार गराउन नेपाली कांग्रेसले समय–समयमा कठोर संघर्ष गर्नुपरेको इतिहास साक्षी छ । कांग्रेसले २०४२ सालमा सत्याग्रह आन्दोलन ग¥यो । त्यसले पार्टीलाई थप संगठित गर्न मद्दत पुग्यो र कांग्रेस पार्टीकै नेतृत्वमा २०४६ सालको राष्ट्रिय जनआन्दोलन सम्पन्न भई प्रजातन्त्र पुनःस्थापना भएको थियो ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र पछि यसको व्याख्या गर्दा राष्ट्रियताको विषयमा वीपीले भन्नुभएको थियो– राजामा जुन राष्ट्रियताको तत्व छ, त्यसकारणले राजाले प्रजातन्त्रलाई पनि स्वीकार गर्छन् भने राजा पनि चाहिन्छ । यसोभन्दा निरंकुश राजा चाहिन्छ भनेको होइन । वीपीले कम्युनिष्ट पार्टीहरूसँग कहिले पनि सहकार्य गर्नुभएन र गर्ने पक्षमा पनि हुनुहुन्नथ्यो । किनकि कम्युनिष्टहरु सर्वहारा वर्गको एकदलीय अधिनायवादी शासनको वकालत गर्दथे । उनीहरु प्रजातन्त्रलाई मान्दैनथे, अधिकार सार्वभौम जनतामा होइन, कम्युनिष्ट पार्टीको पोलिट ब्यूरोमा हुनुपर्छ भन्ने कम्युनिष्टहरुको नीतिको वीपी खरो बिरोधी हुनुहुन्थ्यो । कम्युनिष्टले बहुदलीय व्यवस्था, मानव अधिकार, प्रेस स्वतन्त्रता र जनताको सर्वोच्चतालाई स्वीकार गरेको भए २०३६ सालको जनतमत संग्रहमा बहुदलको निलो रंङको मतपत्रमा छाप लगाउँथे र त्यसैबेला निरंकुश पञ्चायत व्यवस्था समाप्त हुन्थ्यो । जनमत संग्रहमा केही कम्युनिष्टले पञ्चको पहेँलो रंङमा भोट हाले भने केहीले यो बहुदल भनेको कांग्रेसले ल्याउन चाहेको व्यवस्था हो, हाम्रो होइन भनेर जनमत संग्रहमा तटस्थ बसे । मनमोहन अधिकारीको माक्सवादी समूहले पञ्चायतभन्दा कांग्रेसले चाहेको बहुदल उचित छ भनेर बहुदलको पक्षमा भोट हालेका थिए । यिनै कारणहरुले वीपीले नेपालका कम्युनिष्टहरुका प्रति विश्वास र भरोसा गर्न सक्न्भएन । तर, जब कम्युनिष्टहरुले पूर्वी युरोपमा कम्युनिष्टसत्ताको पतनको श्रृंखला देखे तब उनीहरुमा प्रजातन्त्रलाई स्वीकार गरेर अघि नबढेमा नेपालबाट पनि आफ्नो अस्तित्व समाप्त हुने कुरा बुझे । त्यसपछि उनीहरुले प्रतिष्पर्धात्मक बहुदलीय ब्यवस्था र जनताबाट निर्वाचित प्रतिनिधिले बनाएको संविधान र कानून अनुसार शासनसत्ता सञ्चालन हुने कुरालाई स्वीकार गरे । तब सर्वोच्च नेत गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्राद कोइरालाले २०४६ सालको संयुक्त जनआन्दोलनमा बाम मोर्चाको रुपमा सँगै प्रजातन्त्र प्रप्तिको आन्दोलनमा कम्युष्टिहरुलाई सहभागी बनाउनुभएको थियो ।
कतिपय मानिसहरुले वीपीको जीवनपछि वीपीले प्रतिपादन गर्नु भएको मेलमिलापको नीति कांग्रेसले परित्याग ग¥यो भनेर त्यसको अपव्याख्या पनि गर्दै आएका छन् । मूलतः प्रजातन्त्र र जानतामा निहित सार्वभौमसत्ता नस्वीकार्नेसँग सहकार्य नगर्ने वीपीको नीति थियो । जब कम्युनिष्टहरु जनताको सर्वोच्चतालाई स्वीकार गर्ने र बहुदलीय प्रजातन्त्रलाई मान्ने सवालमा सँगै आन्दोलन र सहकार्य गर्न राजी भए, तब मात्र नेपाली कांग्रेसले नेपालका कम्युनिष्ट घटकहरुसँग सहकार्य र मेलमिलापको नीति अंगिकार गरेको पाइन्छ । हाम्रा नेताहरूले २०४६ सालमा वाममोर्चालाई साथ लिएर गरेको जनआन्दोलन, कांग्रेसको नेतृत्वमा तत्कालीन सात दलले माओवादीसँग गरेको १२ बुँदे समझदारी र त्यसमा टेकेर गरिएको २०६२÷०६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौत र २०७२ मा संविधान निर्माण पनि निश्चय नै मेलमिलापको नीतिमा आधारित नै थियो भन्न सकिन्छ । किनकि कुनै पनि अधिनायकवादी शासक चाहे राजा, महाराजा होस् वा कम्युनिष्ट वा सैनिक तानाशाह उसले प्रजातन्त्र र जनताको सर्वोच्चतालाई स्वीकार ग¥यो र राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा आफूलाई उभ्याउने प्रयास ग¥यो भने नेपाली कांग्रेसले ऊ सँग मेलमिलाप गरेर देश विकासको माहायात्रमा सहभागी गराउनुको सट्टा अनावश्यक द्वन्द्व सिर्जना गरेर मुलुकमा झमेला बढाउनु वीपीको नीतिभित्र पर्दैन । राजा त्रिभुवनले प्रजातन्त्रको पक्षमा धित्रीरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदा भागेर दिल्ली गए पनि कांग्रेसले नै स्वदेश फिर्ता गराएर राजगद्दीमा राखेकै हो । राजा महेन्द्रले प्रजातन्त्र खोस्दा महेन्द्र चढेको जीपमा जनकपुरमा कांगे्रसका दुर्गानन्द झाँहरुले बम हानेकै हुन् र बाबुकै पथमा लागेर प्रजातन्त्र मास्ने निरंकुश राजा ज्ञानेन्द्रलाई राजद्दीबाट कांग्रेसकै अगुवाइमा हटाइएकै हो । त्यसैले जब नेपालका कम्युनिष्टहरुले प्रजातन्त्र र जनताको अधिकारलाई स्वीकार गरे तब कांग्रेसले उनीहरुलाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा सँगै साथ लिएर द्वन्द्व मेटाएको पाइन्छ ।
इतिहासमा नेपाली कांग्रेस र नेपाली जनताको बिरुद्ध जो जो उभिए ती समाप्त भएर गएका छन् । यसका प्रसस्त उदाहरणहरु छन् । १०४ वर्षे जहाँनीया राण शासन, ३० वर्षे पञ्चायती शासन, २४० वर्षे शाही शासन सबै नेपाली कांग्रेस र नेपाली जनतासँग निहँु खोज्दा, दमन गर्न खोज्दा समाप्त भएका हुन् । यो सब देखेका नेपालका कम्युनिष्टहरुले कांग्रेसलाई बुर्जुवा आदि इत्यादी भने पनि नेपाली कांग्रेससँगको सहकार्य र सहयात्रा बिना आफ्नो अस्तित्व जोगिन नसक्ने ठानेर नै मेलमिलापको नीतिमा उनीहरु पनि आएकै हुन् र सहकार्य गरेका हुन् ।
राष्ट्रियताका सन्दर्भमा वीपीले राजसंस्था वा राजासँग गर्नुभएको मेलमिलापको प्रस्तावलाई राजा वीरेन्द्रद्वारा स्वीकार गरिएन, तर जनमत संग्रह मार्फत केही सुधारका प्रयास भने भए । वीपीको मेलमिलापको त्या नीति स्वीकार नगर्नाको परिणाम हो अन्ततः देशबाट राजसंस्था नै पतन भयो । २०६२÷०६३ को परिवर्तनपछि नेपाली कांग्रेस स्वयम्को नेतृत्वमा देशमा गणतन्त्र स्थापना भयो । वीपीले मेलमिलाप नीति प्रतिपादन गर्दाको विश्व राजनीतिक परिवेश र घरेलु परिस्थितिमा अहिले परिवर्तन आएको छ । तर, हाम्रो राष्ट्रियता र प्रजातन्त्रमाथि देखिएको चुनौती र खतरा भने अझै टरेको छैन । अहिले हाम्रा छिमेकी एवम् मित्र राष्ट्रहरू र विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको नेपालप्रतिको चासो झन् बढेको छ । त्यो चासो कतिपय अवस्थामा दबाब र हस्तक्षेपकै तहमा देखिने गरेको छ । यस अवस्थामा राष्ट्रियता माथिको चुनौती विगतमा भन्दा अझ बढ्दो छ । अब राष्ट्रियताको जगेर्ना गर्न र जनताको स्वाभिमानलाई अझ उच्च बनाउन वीपीको नीति, विचार सिद्धान्तलाई शब्दमा भन्दा व्यवहारमा अवलम्वन गरिनुपर्छ । यसलाई वर्तमान राजनीतिक परिवेशमा थप परिभाषित एवम् समृद्ध बनाउँदै राष्ट्रवादी एवम् प्रजातन्त्रवादी शक्तिबीच व्यापक एकता र मेलमिलाप स्थापित गर्न जरूरी छ । अझ जनतामा भ्रष्टाचार र बेथितिले गर्दा चरम निरासा बढेर गएको छ ।
यो लोतन्त्र र राष्ट्रियताका लागि झन खतरा हो । अरु सबैसँग मेलमिलाप गरेपनि नेपाली कांग्रेसले भ्रष्टाचारी, दलाल, कमिशनखोरहरुका बिरुद्ध कठोर संघर्ष गरेर वीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादी यात्रालाई द्रूतगतिमा अघि बढाउन ढिला गर्नुहुँदैन । गरीबी, पछौटेपन, रोग, भोक, शोक, अभाव र अनावश्यक प्रभावले ग्रस्त भएर मुलुले समाजवादी मार्ग पहिल्याउन सक्दैन । गरीबलाई धनी नबनाई देशले समृद्धिको यात्रा पनि तय गर्नै सक्दैन, गरीबलाई धनी बनाउने यही हो वीपीको समाजवादी नीति । त्यसैले अबको लडाइँ कांग्रेसले यसैतर्फ केन्द्रित गर्नुपर्दछ । यही नीतिले हामीलाई प्रजातान्त्रिक समाजवादको लक्ष्यमा पु¥याउँदछ । त्यही भएर वीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीति वर्तमानमा झन् सान्दर्भिक भएर गएको छ । जय नेपाल ।
-लेखक नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति तथा हाल नेपाली कांग्रेस झापाको जिल्ला सचिव हुनुहुन्छ ।