नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले आफूहरुको लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन हो आज । वि.सं. २०३३ साल पुस १६ गते कोइरालासँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूमाथि लगाइएको मृत्युदण्डको फैसलाका वाबजुद राष्ट्रियताको मर्मलाई आत्मसात गरी स्वदेश फर्किएका थिए । राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्न जनताकै बीच रहनुपर्छ भन्ने दृढताका साथ नेपाल फर्किएका वीपीको राजनीतिक दल र राजसंस्था एक ठाउँमा उभिनु पर्दछ भन्ने धारणा थियो । त्यही धारणा, मान्यता र दृढताको सम्मान गर्दै नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले आजको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउने गरेका हुन् ।
दक्षिण एसियामा विद्यमान तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई मुक्त गर्न अफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गरी प्रजातन्त्रको संरक्षणमा आजीवन संघर्ष गरेका वीपीको देशप्रेम अनुपम छ । राजनीतिक सँगै साहित्यिक क्षेत्रमा समेत स्थापित वीपी बहुमुखी प्रतिभाका धनी थिए । साहित्यमा नवीन प्रयोक्ताका रुपमा सुपरिचित उनी विश्व मञ्चमा समेत विचारकसँगै राजनेताका रुपमा प्रतिष्ठित छन् । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका वीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि प्रस्तुत गरेको समाजवादको दृष्टिकोण अहिले पनि सान्दर्भिक छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक उन्नति राष्ट्रिय मेलमिलापबाट मात्रै सुनिश्चित हुन्छ भन्ने उनको मान्यता र विश्वास अझै सान्दर्भिक छ ।
नेपाली राजनीतिका शिखर पुरुष वीपी दूरदर्शी तथा कार्यदिशा निर्माण गर्ने राजनीतिज्ञ हुन् । राजनीति र साहित्यलाई एकसाथ अघि बढाउन सक्ने उनको क्षमता आज पनि उदाहरणीय छ । राजनीतिका शिखर पुरुष वीपी अध्ययनशील थिए । उनले विश्वस्तरका पुस्तक र दर्शनहरुको सूक्ष्म अध्ययन गरेका थिए । जसको प्रमाण नेपाली साहित्यमा मनोविज्ञानको प्रवेश गराएको उदाहरणबाट पाइन्छ । उनका कृतिहरुले पनि उनको असाधारण परिचय दिएको समीक्षकहरुले उल्लेख गरेका छन् । एउटै व्यक्तिमा रहेको दुई फरक–फरक क्षमताका धनी वीपीका विचार, दर्शन र मान्यता आज कति प्रयोगमा छन् त्यसको मूल्याङ्कन गर्दै वीपीलाई आत्मसात गर्न कांग्रेसजनले अब ढिला गर्नुहुँदैन ।
प्रजातन्त्र स्थापना भएपछि नेपाली कांग्रेस धेरै समय सत्तामा बसेको छ । अहिले पनि कांग्रेस सत्तामै छ, तर न उसले वीपीको दर्शनको अनुशरण गरेको छ, न त उनका आदर्श र सिद्धान्तको पालना । केबल स्मृति दिवस वा मेलमिलाप दिवसमा भाषण गरेर वीपीका विचार र नीति लागू हुन सक्दैन । वीपीको सिद्धान्तलाई अंगिकार नगरेसम्म उनले भने जस्तै पार्टीभित्र सुकिलामुकिलाहरु हावी भइरहने छन् । त्यतिञ्जेलसम्म सिद्धान्तनिष्ठ र इमान्दार कार्यकर्ता पाखा लागिरहने छन् । त्यसैले वीपीका अनुयायीहरुलाई यस दिनको स्मरणले लोकतन्त्रलाई संस्थागत गर्न, नागरिक अधिकार सुरक्षित राख्न सक्षम बनाउनुपर्छ । वीपीको अनुयायी हुन अध्ययनशील बन्न र स्वार्थ त्याग गर्न उत्प्रेरणा प्राप्त गरोस् शुभकामना ।