जागरण अभियान सफल होस्

0
18

युवा पुस्तामा राजनीतिक दल र राजनीतिप्रति चासो र रुचि हराउँदै गएको छ । भविष्यको कर्णधार भन्दै आइएको यो पुस्ता देशको विद्यमान अवस्थाकै कारण विदेश पलायन हुने दौडमा छन् । अध्ययन र रोजगारीका नाममा विदेश जानेहरुको लर्कोले उनीहरुकै परिवार चिन्तामा छन् भने युवा शक्तिको पलायनले देशको भविष्य नै अन्यौलग्रस्त हुन थालेको अनुभूत हुन्छ । यस्तोमा सबैभन्दा लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले युवाहरुमा बढ्दै गएको निराशा र राजनीतिक दलप्रतिको अरुचि हटाउनुपर्ने जिम्मेवारी छ । स्थानीय चुनावबाट सबैभन्दा ठूलो बनिएको कांग्रेस संघीय निर्वाचनमा पनि ठूलो दलकै रुपमा जनताबाट अनुमोदित छ । तर, पछिल्लो निर्वाचनपछि भने संघीय सरकारको नेतृत्व गर्न असफल भइरहेको छ ।

नेपाली कांग्रेस अहिले संघदेखि प्रदेश सरकारमा सत्ताको प्रमुख साझेदार छ । आगामी आमनिर्वाचनमा उसका अघि पूर्ण बहुमतको सरकार बनाउने चुनौती छ । त्यसबाहेक सत्तामा रहँदा जनभावनालाई समेटेर उनीहरुको मन जित्दै पार्टीको इतिहासको रक्षा गर्नु पनि ठूलो चुनौतीको रुपमा रहेको छ । त्यसका लागि कांग्रेसले अहिलेको समयको सदुपयोग गर्दै जनमैत्री तथा दीर्घकालीन महŒवका योजना र कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसले जनतामा दलप्रतिको खस्किएको आशालाई जोगाउन, कांग्रेसप्रति विश्वास र भरोसा टिकाउन र संगठनलाई चलायमान अनि सशक्त बनाउन मद्दत गर्छ । त्यसका लागि कांग्रेस पार्टीको सिद्धान्त, विचार, इतिहास, दर्शन तथा यसको मूल्यमान्यताका विषयमा युवापुस्तालाई प्रशिक्षित गर्नुपर्छ । त्यसका लागि तल्लो तहसम्म संगठनलाई गतिशील बनाउनुपर्छ । पार्टीका आन्तरिक गतिविधिहरु युवापुस्तासम्म पु¥याउने गरी कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।

आजको पुस्ता तत्काल परिणाम खोज्न आतुर हुन्छन् । परिणाम तत्काल नपाइने विषय उनीहरुको लागि पाच्य हुँदैन । त्यसैले राजनीतिप्रतिको उनीहरुको वितृष्णा हटाउन देशव्यापी प्रशिक्षण तथा सचेतनाका कार्यक्रम सञ्चालन गरिरहनु पर्दछ । नेपाली कांग्रेस कोशी प्रदेशले बुधबार कचनकबल–सगरमाथा जागरण अभियानको शुभारम्भ गरेको छ । नेपालकै होचो भू–भाग केचनाकबलबाट शुरु भएको अभियान आगामी असार महिनामा सगरमाथा पुगेर समापन हुनेछ । संगठन सुदृढिकरण, ऐतिहासिक खोज, समृद्धिको आधार र जलवायु परिवर्तनको प्रभाव, पहिचान मुख्य उद्देश्यका साथ प्रारम्भ भएको अभियानको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले औपचारिक रुपमा उद्घाटन गरेका थिए । अभियानको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै पूर्व मुख्यमन्त्री उद्धव थापाले पार्टी एकता र जनभावनाको सम्मान गर्दै वैश्विक चिन्ताको विषय जलवायु परिवर्तनका प्रभावको पहिचान गर्दै पार्टीलाई प्रतिवेदन बुझाउने बताए । आफ्ना शुभचिन्तक, शुभेच्छुक तथा कार्यकर्तादेखि नयाँ पुस्तासम्मलाई सू–सुचित, संगठीत र सशक्त बनाउन अभियान सफल होस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here