झापा ।
करूणा फाउन्डेशन नेपालले स्थानीय तहको सहकार्यमा कोशी प्रदेशको झापा, तेह्रथुम र ताप्लेजुङमा सञ्चालित दुई साता लामो वडास्तरीय स्वास्थ्य शिविरबाट १३ हजार ६५ जना अपाङ्गता भएका व्यक्तिको पहिचान भएको जनाएको छ ।
झापासहित तीन जिल्लामा फाउन्डेशनले गत मंसीर १ देखि पुस १७ गतेसम्म दुई सय ३४ वटा वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १८ हजार एक सय ३४ जना अपाङ्गता भएका व्यक्तिहरू सहभागी भएकामध्ये १३ हजार ६५ जनाको अपाङ्गता पहिचान भएको फाउन्डेशनका कोशी प्रदेश व्यवस्थापक कमल कोइरालाले जानकारी दिए ।
उनका अनुसार अपाङ्गता पहिचान भएका व्यक्तिहरूमध्ये बालबालिका दुई हजार एक सय १४ जना र वयस्क १० हजार नौ सय ५१ जना छन् । शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरी कुन प्रकारको अपाङ्गता भएको भन्ने विषयमा तत्कालै पहिचान गरेको बताइएको छ ।
अपाङ्गता पहिचान भएकाहरूलाई शिविरमै स्थानीय तहहरूले अपाङ्गताको परिचयपत्र प्रदान गरेका थिए । तीन जिल्लामा चार हजार आठ सय ३० जनाले शिविरबाटै नयाँ अपाङ्गता परिचयपत्र प्राप्त गरेका थिए । जसमा सबैभन्दा बढी झापाका तीन हजार ३० जनाले परिचयपत्र पाएको कोइरालाले बताए ।
शिविरमा पहिचान भएका चार सय १८ जना व्यक्ति नयाँ अपाङ्गता परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा रहेका छन् । जसमध्ये झापाका दुई सय ९८ जना छन् । कोशी प्रदेशका एक सय सातवटा पालिकामा करूणा फाउन्डेशन नेपालले स्थानीय तहसँग मिलेर अपाङ्गता भएका व्यक्तिहरूका लागि पहिचान, रोकथाम र पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा फाउन्डेशन, स्थानीय पालिका र कोशी प्रदेश सरकारले त्रिपक्षीय समझदारीअनुरूप लागत साझेदारी गरेका छन् । समझदारीअनुसार तीन वर्षसम्म संयुक्त कार्यक्रम सञ्चालन हुने र त्यसपछि पालिकालाई कार्यक्रम हस्तान्तरण गरिने भनिएको छ ।
पहिलो चरणमा पहिचानका लागि स्वास्थ्य शिविर सम्पन्न गरिएको छ भने निकट भविष्यमा घरमा आधारित शिक्षा र विद्यालय भर्ना कार्यक्रम सञ्चालन गरिने बताइएको छ । स्वास्थ्य शिविरबाट अपाङ्गता पहिचान भएकाहरूलाई सहायक सामग्री पनि प्रदान गरिएको थियो ।
आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन, सशक्तीकरण, सिप विकास र सामाजिकीकरणका लागि समूह बनाएर बीऊ पुँजी उपलब्ध गराइने र स्वयंसेविकामार्फत रोकथामका कार्यक्रम अघि बढाइने फाउन्डेशनका कोशी व्यवस्थापक कोइरालाले बताए ।