एचपीभी खोप जोखिम कम गर्ने उपाय

0
11

असाध्य रोग क्यान्सर मध्ये नेपालमा पाठेघरको मुखको क्यान्सरबाट प्रति वर्ष दुई हजारभन्दा बढीलाई हुने गरेको छ । पहिचान भएकामध्ये बर्सेनि तेह्र सय जनाभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । विश्वमै भयावह रोगका रुपमा रहेको क्यान्सर रोग सन् २०३० सम्ममा निवारण गर्न विश्व क्यान्सर संगठनले गरेको सिफारिसका आधारमा नेपाल सरकारले दशदेखि चौध वर्षसम्मका किशोरीलाई यसबिरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य संगठनको नीति अनुरुप नेपालमा एकीकृत रुपमा तीन तहको उपाय अवलम्वन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वमा हरेक वर्ष पाँच लाख सत्तरी हजार महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको छ । ती मध्ये बर्सेनि तीन लाख एघार हजार महिलाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । यो रोगको भयावहता बढेसँगै नेपालमा पनि विद्यालय जाने–नजाने सबै किशोरीलाई यसबिरुद्धको एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो । ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये बाह्र वटा पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हो । त्यसकै निवारणका निम्ति सरकारको अभियान अन्तर्गत झापामा करिब साठी हजार किशोरीलाई यो खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

एचपीभी खोप झापाका पन्ध्र वटै पालिकाका विद्यालयभित्र र बाहिरका किशोरीलाई लगाउन सात सय पचपन्न खोप केन्द्र निर्धारण गरिएका छन् । त्यसका लागि सात सय एकासी जना स्वास्थ्यकर्मी र पन्ध्र सय पचपन्न स्वयम्सेविका परिचालन हुने झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिएका छन् । यही माघ २२ गतेदेखि २९ गतेसम्म अभियानका रुपमा सञ्चालन हुने खोप यसअघि आर्थिक वर्ष ०८०–०८१ मा सात वटै प्रदेशका दश हजार किशोरीलाई लगाइएको थियो ।

लामो वैज्ञानिक अनुसन्धानपछि सन् २००६ बाट यो खोप लगाउन शुरु गरिएको थियो । विश्वका चार देशबाट शुरु भएको खोप कार्यक्रम अहिले झण्डै डेड सय देशमा सञ्चालन भइरहेको छ । यसै अनुसार नेपाल सरकारले रोग लाग्नुअघि नै किशोरीहरुलाई सुरक्षित गर्न खोप लगाउन लागिएको बताइएको छ । बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यो खोप सबैभन्दा बढी मधेश र सबैभन्दा कम कर्णाली प्रदेशमा दिन लागिएको जानकारी दिएका छन् । उच्च आय भएका देशहरुमा नियमितको सूचीमा राखेको यो खोप सबै नेपाली किशोरीहरुलाई लगाउन सकिए महिलाको पाठेघरको क्यान्सरबाट हुने मृत्युको डरलाई कम गर्न सकिन्छ । त्यसकारण पनि लक्षित वर्गका किशोरीहरुलाई सम्भावित क्षतिबाट जोगाउन तीनै तहका सरकार, सरोकारवाला निकाय र नागरिक समाज जागरुक हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here