झापा ।
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ ।
२०७९ सालमा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपलाई दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत बनाउने योजनाका साथ आयोजक समितिका पदाधिकारीहरू जुटिसकेका छन् । आगामी फागुन ७ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि मेची रङ्गशालाको खेल मैदान सम्याएर घाँस रोप्ने कार्य भइरहेको छ ।
रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट पनि निर्माण भइरहेको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । गोल्डकपको मिति नजिकिएसँगै रंगशाला सिंगारिने काम भइरहेको बताउँदै अध्यक्ष ढकालले भने– ‘प्रथम संस्करणबाट धेरै कुरा जान्ने अवसर मिलेकोले दोस्रो संस्करण गर्न सहज भएको छ ।’
आर्थिक संकलनको पाटोमा प्रथम वर्ष भन्दा यो वर्ष समस्या देखिएको छ । अहिलेसम्म रकम संकलन भएको छैन । ‘गोल्डकपलाई आर्थिक सहयोग गरिदिनुहुन सबै समक्ष अपिल गर्न चाहन्छु’– उनले थपे । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, भर्खरै भारतको सिक्किममा सम्पन्न अल इण्डिया चिफ मिनिस्टर्स गोल्डकप बिजेता झापा ११सहित विभागीय टोलीहरू नेपाल पुलिस, एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज युनाइटेड, एनआरटीले सहभागिता जनाउने पक्का भइसकेको छ ।
आयोजकका अनुसार त्रिभुवन आर्मीबाट आधिकारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन । भुटान र बंगलादेशका टिमले पनि सहभागिता जनाउने आउने ढकालको भनाइ छ । उद्योगपति चण्डीराज ढकाल, नवराज ढकाल, टीकाराज ढकाल र हेमराज ढकालले आफ्ना माता रामरेखा तथा पिता लक्ष्मण ढकालको स्मृतिमा १३ लाख रुपैयाँको पहिलो पुरस्कार दिने घोषणा गरिसकेका छन् । दोस्रो पुरस्कार सात लाख रुपैयाँका लागि दाताको खोजी भइरहेको जनाइएको छ ।
त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक भद्रपुरका उद्योगपति दीपक पोखरेलको सौर्य एयरलाइन्स र ओमसाई पाथीभरा हस्पिटल रहेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्तालाई पनि पुरस्कृत गरिने महासचिव श्रेष्ठले बताए । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको थियो । मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको थियो ।