मानिस प्राकृतिक रूपमा परिवर्तन हुन चाहने वा हुने प्राणी हो । हरदिन विचार, भावना, कार्यशैली, आचरणमा आफूलाई परिवर्तन गरिरहेको हुन्छ । बोलीचालीमा, व्यवहारमा, शैलीमा, पहिरनमा, परिवर्तन भइरहेको हुन्छ । आधुनिकता, विश्वव्यापीकरण, परसंस्कृतिकरण, बसाइँसराइ, रोजगारी, व्यापार–व्यवसाय, पर्यटन जस्ता कारणहरूले मानिसहरूको एक क्षेत्रवाट अर्काे क्षेत्रमा आवतजावतले परिवर्तनलाई मलजल गरिरहेको देखिन्छ ।
मानवीय व्यवहारमा आएको परिवर्तनहरू :
– नेपाली, अंग्रेजी, हिन्दी वा मातृभाषा मिश्रण गरेर बोल्नेक्रम बढेकाले बोलीचालीमा आएको परिवर्तन
– मौलिक पहिरनभन्दा विदेशी पहिरनमा आकर्षणले आएको परिवर्तन
– इशाराको प्रयोग गरी हाउभाउ प्रकट गर्ने, यौन सम्बन्धी खुलेर कुरा गर्ने क्रम बढेसँगै शारीरिक हाउभाउमा आएको परिवर्तन
– हिँड्ने, व्यवहार गर्ने, जीवन जिउने तरिकामा देखिएको फरकपनले रहनसहनमा आएको परिवर्तन
– आफूलाई मन परेको विचार वा सिद्धान्तको पक्षमा तर्क राख्नेक्रम बढ्दै गएकाले विचार वा सिद्धान्तमा आएको परिवर्तन
– प्राविधिक शिक्षा तथा व्यवसायीक सीपमा ध्यान दिनेक्रम बढेकाले कोचिङ लिने तरिकामा देखिएको परिवर्तनले
शिक्षा आर्जन गर्ने तरिकामा हुँदै गएको परिवर्तन
– आफ्नो भविष्य, लक्ष्य, कर्तव्य, राजनीतिक आस्था, सामाजिक, सांस्कृतिक, आर्थिक, स्वास्थ्य आदिमा चासो राख्नेक्रम बढेर मानिसको चेतनास्तरमा आएको परिवर्तन
– धामीझाँक्री, बोक्सी, छुवाछुत, जातीय अवस्थामा, सचेतनामा वृद्धि हुँदै गएकोले अन्धविश्वासमा आएको परिवर्तन
– आफ्नो मौलिकता संस्कार र सांस्कृतिक कठोर अभ्यासलाई सरल र खुला ढंगले अभ्यास गर्दै संस्कार र संस्कृतिको अभ्यासमा आएको परिवर्तन
– आफ्नो मौलिक, पुरातन धार्मिक आस्थामा र आस्थाजन्य क्रियाकलापमा परिवर्तन भइरहेको अवस्था
– माया प्रेम प्रकट गर्ने र माया प्रेमको त्याग गर्ने, बलिदान दिनेमा भन्दा स्वार्थीपना बढ्दै गएको
– कुनै विषयलाई फरक ढंगले हेर्ने, सोच्ने, व्यवहार प्रस्तुत गरी सोचाईमा फरकपन विकास हुँदै गएको
– खाने, बस्ने तौर तरिकामा, जीवनयापनमा, रहनसहनमा आएको परिवर्तन
– आत्मीय सम्बन्धमा भन्दा व्यवसायिक तथा व्यवहारिक सम्बन्ध कायम गर्ने प्रचलन बढ्दै गएको
– पेशा, व्यापार, व्यवसायजन्य क्रियाकलापमा आएको परिवर्तन
– सम्पत्ति, व्यापार, निर्णय प्रक्रियामा, समाजमा सहभागिता, आय–आर्जनका स्रोतमा महिलाको पहुँचमा वृद्धिसँगै पुरूष प्रधानतामा आएको परिवर्तन
बदलिँदो मानव सम्बन्ध
– मानसिक भावनामा सिर्जना भएका विचारबाट मानवीय सम्बन्ध उत्प्रेरित हुँदै भावनात्मक सम्बन्धमा आएको परिवर्तन
– रगत, वंशज, गुण, विशेषता, सम्प्रदाय, समुदायका मानिससँग, विचार मिल्नेसँग, पेशा मिल्नेसँग, उमेर मिल्नेसँग, नाता सम्बन्ध जोड्ने र सम्बन्ध गाँस्ने क्रम बढेसँगै नाता संबन्धमा आएको परिवर्तन
– महिला वा पुरूषलाई शारीरिक बनावटको आधारमा हुने विभेद र हेर्ने दृष्टिकोणमा आएको परिवर्तन
– छोरा र छोरीलाई समान रूपले हेर्ने, मर्दा–पर्दा वा अर्को जुनीको खुशी र पितृ उद्वार गर्ने सोचाईमा र व्यवहारमा आएको परिवर्तन
– श्रीमान र श्रीमती एक–आपसमा साथी–साथी हुने, मालिक र दास हुने भन्ने मानसिकतामा आएको परिवर्तन
– संयुक्त परिवारमा रहनेभन्दा एकल परिवारमा रहने र गाउँ घरभन्दा शहर बजारमा बस्नेक्रम बढ्दै गएको
– आफै खोज्ने, आफै जोडी रोज्ने, परम्परागत विवाहभन्दा आधुनिक विवाहप्रति मोह बढ्दै गएको
– हराउँदै, बिर्सिदै गएको पारिवारिक सम्बन्ध, नाता सम्बन्ध, आपसमा आत्मीय भावमा कमी हँुदै गएको
– पारिवारिक साइनो, सम्बन्धमा आएको परिवर्तन र लोप हुँदै गएको पारिवारिक साइनोहरु जेठो, जेठी, माइलो, माइली, साइलो, साइली, काइँलो, काइली, अन्तरे, अन्तरी, जन्तरे, जन्तरी, काका–काकी, बढीबा–बढीआमा, फूपू–फुपाजु, सानीमा–सानोबुवा, ठूलीआमा–ठूलोबुवा जस्ता सम्बन्धलाई अंग्रेजी शब्दले सम्बोधन गर्ने क्रम बढेको छ ।
मानवीय व्यवहारमा र सम्बन्धमा आएको परिवर्तनले चलिरहेका सामाजिक चलन र सांस्कृतिक मूल्यमान्यता, अभ्यासमा परम्परागत सोच तथा बुझाईमा मेल खाएको देखिँदैन । सामाजिक, सांस्कृतिक, धार्मिक प्रचलनमा भइरहेको अभ्यासले मानवीय सम्बन्धमा तथा व्यवहारमा व्यापक फेरबदल भइरहेको देखिन्छ । यसबाट आउन सक्ने परिवर्तनको अनुभव र असरको लेखाजोखा गर्ने तराजुको निर्माण हुन आवश्यक देखिन्छ ।