झापा । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा झापाका पाँच वटा पालिकाले स्थानीय विदा दिएका छन् । माघ ३० गते वुधवार बिर्तामोड नगरपालिका सहित वाह्रदशी, हल्दिवारी, झापा र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।
आदिवासी जनजातिअन्र्तगत पर्ने सन्थाल समुदायको ‘सोहराय’ पर्व प्रमुख पर्व हो ।
यो पर्व ६ दिनसम्म मनाइने गरिन्छ । यो पर्वमा सांस्कृतिकरुपले पूजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दे सन्थाल समुदायले मनाउँदै आएका हुन् ।
सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन्। ‘गड’ पूजामा मराङ बुरू, गोसाईं ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ ।
पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनालाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजका नाममा चढाइन्छ । तेस्रो दिन ‘खुन्टोव’ हो । यो दिन गाईगोरुसहित अन्य बस्तु भाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गरिन्छ ।
सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका अगुवा मानिसहरू समूह बनाएर पालोपालो घरघरमा गएर मिठोमसिनो र मदिरा खाने चलन रहेको बताइन्छ । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरिएको सन्थाल अगुवाहरू बताउँछन् ।
सोहरायको पाँचौँ दिनलाई ‘हाकुकाट्कोम’ भनिन्छ । स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गँगटो मारेर ल्याउने र खाने गर्छन्। यो पर्वको अन्तिम दिन सिकार गरेर मासु खाने चलन रहेको भएपनि अहिले भने यस्तो हुँदैन । घरमै काटेर वा ल्याएर खाने गरिएको जानकारहरू बताउँछन्।