पथरिशनिश्चरे ।
मोरङ जिल्लामा अबदेखि नेपाली नागरिकताको प्रमाणपत्र अनलाइन प्रक्रियामार्फत वितरण गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले डिजिटल प्रणालीलाई अपनाउँदै आइतबारदेखि जिल्लाभर अनलाइन प्रक्रियाबाट नागरिकता वितरण सुरु गर्ने निर्णय गरेको हो।
यस प्रणालीको पहिलो चरणमा उर्लाबारी, रंगेली र विराटनगरका इलाका प्रशासन कार्यालयहरूमा सेवा सुरु भइसकेको छ। इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख महेशराज तिम्सिनाले आइतबारदेखि मोरङ जिल्लाका सबै स्थानीय तहमा यो प्रणाली लागू हुने जानकारी दिएका छन्।
उनका अनुसार अब प्रत्येक स्थानीय तहका वडाहरूबाट नागरिकता सिफारिस अनलाइनमार्फत पठाइनेछ। यसले नागरिकता लिन लामो समयसम्म प्रशासन कार्यालय धाउनु पर्ने झन्झट हटाउने र प्रक्रियालाई छिटो तथा पारदर्शी बनाउने उनले बताएका छन्।यसबाट सेवाग्राहीले वडाबाटै अनलाइन सिफारिस गराएपछि प्रशासन कार्यालयमा कागज बोकेर धाउनुपर्ने झन्झट कम हुने, प्रक्रियामा हुने ढिलाइ तथा अनियमितता रोक्न मद्दत गर्ने, नागरिकहरूले प्रशासन कार्यालयमा लामो समय कुर्नुपर्ने अवस्था हट्ने बताईएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अनलाइन प्रणालीले नागरिकता वितरणमा हुने ढिलाइ, अनियमितता तथा त्रुटिहरू कम गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ। प्रमुख तिम्सिनाले प्रविधिको प्रयोगमार्फत नागरिकता वितरणलाई व्यवस्थित बनाउने उद्देश्य रहेको बताएका छन् ।
नागरिकता सम्बन्धी सेवा सहज बनाउन ल्याइएको यो डिजिटल प्रणालीले मोरङ जिल्लाका नागरिकहरूलाई थप सरल, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्ने उनको भनाइ छ।