झापा ।
भद्रपुर नगरपालिकाले महिनामा दुई दिन वृहत् नगर सरसफाई अभियानको थालनी गरेको छ ।यही फागुन ७ गते हुने भद्रपुर झापा गोल्डकपलाई लक्षित गरी नगरपालिकाले शुक्रबार जिल्लाको सदरमुकाम क्षेत्र र मेची रंगशालामा सरसफाई गरेको हो ।
भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहितको नेतृत्वमा ट्रेड युनियन चोकदेखि एसपी कार्यालय, मेची रंगशालाहुँदै सरकारी कार्यालय प्रवेश गर्ने सडकबाट जिल्ला प्रशासन कार्यालयसम्म करिब एक घण्टा सरसफाई गरिएको थियो ।सरसफाई कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरसफाई कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नगरपालिकाले शुक्रवारको दिन तोकेर प्रत्येक १५/१५ दिनमा सबैको उपस्थितिमा नगर सरसफाई गर्ने भनी निर्णय गरेबमोजिम यस अभियान कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख पोखरेलको भनाई छ । विशेषगरी भद्रपुर झापा गोल्डकपलाई लक्षित गरी आज सरसफाई गरिएको बताउँदै नगर प्रमुख पोखरेलले भने, ‘नगरलाई सफा र स्वच्छ राख्न तथा जथाभाबी फोहोरमैला नगर्न वा नगराउन नगरवासीलाई सन्देश दिने उद्देश्य यो अभियानको हो ।’ यसअघिको शुक्रबार सगरमाथा चोकमा वृहत् सरसफाई गरिएको उनको भनाई छ ।
त्यस्तै उपप्रमुख राधा कार्कीले वातावरणलाई स्वच्छ र सफा राख्ने दायित्व हामी सबैको हो, यो अभियानमा नगरबासीले पनि साथ र सहयोग दिनुपर्ने बताइन् । यो सांकेतिक सरसफाई अभियान भएको बताउँदै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘यो अभियानले जिल्लावासीलाई सरसफाईको सन्देश दिन खोजिएको हो र यसले उपलब्धि हासिल हुनेमा विश्वास लिएको छु ।’