योगेन्द्र योगी
बिराटनगर,
बुधबार दिनभर सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर सहितको पोष्ट भाइरल जस्तै भयो। पोष्टमा लेखिएको थियो झापा घर भएका लालबहादुर लिम्बु बिरामी भई मलेसियाको अस्पतालमा रहेको र आफन्त तथा उनको परिवारलाई सम्पर्क आउन भनेर। त्यो पोष्ट देखेपछि मात्र मलेसियास्थित नेपाली दूतावास उनको उद्धार पहल थालेको छ।
विगत १५ बर्षदेखि मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका उनी त्यहाँको जोहोरमा एक कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए । उनी केहि दिन अघिमात्र ड्युटी गर्ने क्रममा अचानक उच्च रक्तचाप भैइ छात्ती दुख्यो भन्दै छटपटाइरहेको अवस्थामा केहि साथीहरुले देखेर अस्पताल पुर्याएका थिए।
उनी बिरामी परेर अस्पताल भर्ना गरिएपछि संजालमार्फत आफन्तको खोजि भइरहेको बेला दूतावासले पनि उनी कार्यरत कम्पनीसँग उनको अवस्थाबारे सोधखोज गरेर उद्धार कार्य अगाडी बढाईएको जनाएको छ।
दूतावासको पहलमा कम्पनीले उनको उपचारमा लाग्ने अस्पतालको शुल्क र औसधी बापत्तको २ हजार मलेसियन रिंगेट तिरिदिने र स्वास्थ्यमा सुधार भएपश्चात् कम्पनीकै आर्थिक सहयोग स्वदेश फर्काईदिने समजदारी भएको जनाएको छ।
मलेसियाका कतिपय रोजगारदाता कम्पनीहरूले ड्युटीको समय वा बिदाको दिनमा घुम्न बाहिर निस्किएर कुनै दुर्घटनामा परे उपचार नगर्ने गरेको कारण त्यहाँ कार्यरत धेरै नेपालीहरूले कम्पनीले उपचार नगरेको भन्दै आर्थिक सहयोग माग्ने गरेका छन् ।
मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइँ, व्यवहारजन्य समस्या लगायतका कारण बिरामी हुँदा नेपाली कामदारले सहज रुपमा अस्पतालमा उपचार गराउन पाउदैन्। कुनै पनि कानुनको उलङ्घन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाएको छ ।
मलेसिया जाने नेपालीको संख्या बढेसंगै गैरकानुनी रुपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गर्दै आएको छ। गैरकानुनी रुपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने , सामाजिक सुरक्षा कोष (सोक्सो) ले सहयोग नगर्ने तथा इमिग्रेशनले पक्राउ गरेको अवस्थामा करिव ३ महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गरिदिने गरेको छ ।