सार :
संस्कृति मानव जीवनको सम्पूर्ण पक्षहरूको अभिव्यक्ति हो । यो भौतिक र अभौतिक रुपमा रहेको हुन्छ । उत्पादन, वस्तु र प्रविधि भौतिक संस्कृति हुन् भने मूल्यमान्यता र परम्परा अभौतिक संस्कृति हुन् । यी सम्पूर्ण संस्कृतिहरू आफैमा राम्रो, नराम्रो हुँदैनन् । यसलाई उपयोग र प्रयोग गर्ने दृष्टिकोणमा एउटा पक्षलाई फाइदा र त्यही संस्कृति अर्को पक्षलाई प्रतिकुल भइरहेको हुन्छ । मानिसमा भएको मस्तिष्क र भाषाका कारण निर्माण हुने संस्कृतिलाई मनुष्य कल्याणको लागि सुधार र परिवर्तन गर्न सकिन्छ । संस्कृतिलाई सुधार र परिवर्तन गर्न नसक्दा संस्कृतिप्रति सामन्त सोचको विकास हुन्छ । अनि एकले अर्कोलाई फरक गर्ने व्यवहार हुन थाल्छ ।
मानव समाजको विकासको क्रममा आजसम्म आइपुगेको सन्दर्भमा विभिन्न मूल्यमान्यता, विश्वास, धारणा, रहनसहन, परम्परा, कला, भेषभूषा, भाषा, संस्कार, बसोबास ढाँचा, उत्पादन, रोजगार, स्वास्थ्य, शिक्षा तथा सञ्चार क्षेत्रमा नयाँ–नयाँ प्रविधिको विकास भएको पाइन्छ । यी सबै संस्कृतिका पक्षहरू हुन् । यसकारण संस्कृतिको निर्माणकर्ता स्वयम् मानिस नै हो । संस्कृतिमा भूगोल, जाति, प्रजाति वा अनेकौं समूहहरूले निर्माणका क्रममा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । संस्कृतिले मानव समुदायलाई फरकपन दिने क्षमता राख्दछ । यो भिन्नता चाहिँ विभेद होइन । अनेकौं भिन्नता बोकेको संस्कृतिलाई सम्मान र समान रुपमा उपयोग र प्रयोग गर्नु आजको सामाजिक विकासको लागि आवश्यक छ ।
परिचय :
मानव शास्त्रीहरूका संस्कृति सम्बन्धी अनेकौं परिभाषाहरू छन् । संस्कृति जीवनको क्रियाकलाप हो । मानिसको आ–आफ्नो दृष्टिकोणले क्रियाकलापहरूको उत्पन्न हुन्छ । यही क्रियाकलापहरू नै संस्कृति हुन जान्छ । संस्कृतिले मानव जीवनको सम्पूर्ण पक्षलाई समेटेको हुन्छ । मानव जीवनको सम्पूर्ण उपलब्धिलाई संस्कृति भन्न सकिन्छ । संस्कृतिलाई हरेक दृष्टिकोण र वर्गीकरणमा हेर्न सकिन्छ । कुनै समुदाय वा व्यक्तिले आफ्नो जीवनमा वा समयमा विकास गरेको प्रविधि, उत्पादन, वस्तुलाई देखिने रुपमा र अनुभव गर्ने रुपमा मूल्यमान्यता, परम्परा सबैलाई नदेखिने संस्कृतिको रुपमा बुझ्न सकिन्छ । मानिसमा भएको दिमाग र भाषाका कारणले उत्पन्न क्रियाकलापहरू नै संस्कृति हुन् । यो निरन्तर चलिरहन्छ ।
मानिसको अनुकूल हुने गरी विकास गरिएको प्रणालीबाट नयाँ–नयाँ संस्कृतिको जन्म हुने गर्दछ । यसलाई रोक्न सकिँदैन । तर, सुधार र परिवर्तन गर्न सकिन्छ । यसैक्रममा कतिपय संस्कृतिहरू लोप भएको पनि देखिन्छ । यसरी नै संस्कृतिको विकासक्रम निरन्तर अगाडि बढिरहेको देखिन्छ । संस्कृति मानव समुदायको सम्बन्धित आस्था वा सम्पर्क बिन्दुका आधारमा विकास हुन्छ । यसकारण संसारमा विभिन्न प्रकारका संस्कृतिको विकास भएको पाइन्छ । संस्कृति सिंगो मानव समुदायको कार्य प्रणालीको तरिका हो । मानिसको आफ्नो जीवनशैली, पद्धति र संस्कृतिसँग घनिष्ट सम्बन्ध रहेको हुन्छ । यसैले संस्कृति मानिसको परिचय हो ।
संस्कृत भाषामा संस्कृतिलाई ‘परिस्कृत’ भन्ने अर्थमा बुझ्न सकिन्छ । यो परिस्कृत शब्दले धेरै कुराको संकेत गर्दछ । सुधार ल्याउनु, अझ विकास हुँदै अगाडि बढ्नु भन्ने कुराको संकेत गर्दछ । संस्कृतिलाई अंग्रेजीमा ‘कल्चर’ भनिन्छ । एग्रीकल्चर खेती गर्ने क्रियाकलाप जस्तै मानवले गर्ने विभिन्न क्रियाकलापलाई कल्चर (संस्कृति)ले समेटेको हुन्छ । संस्कृतिलाई बुझ्नका लागि सुक्ष्म ब्याख्या र वर्णनहरू छन् । तिनको अध्ययन गरिएमा मात्र विस्तृतरुपमा अनुभव गर्न सकिन्छ । अधिकांश मानव शास्त्रीहरूले संस्कृतिलाई सिकिने व्यवहारको रुपमा लिएका छन् । सारमा भन्न सकिन्छ कि संस्कृति मानवीय जीवनको समग्रता हो । संस्कृति व्यवहार मात्र नभई स्वयम् समाज विकासको क्रममा यसको निर्माण हुन्छ । यसमा भौतिक र अभौतिक सांस्कृतिक तत्वहरू समावेश भएका हुन्छन् । वास्तवमा मानिसको सिंगो जीवन पद्धतिको शैली नै संस्कृति हो । यसलाई जटिल स्वरुपको रुपमा लिन सकिन्छ ।
संस्कृतिको वर्गीकरण :
संस्कृतिलाई अनेकौं किसिमबाट वर्गीकरण गरेको पाइन्छ । संस्कृतिको स्वरुपलाई हेर्दा मूलरुपमा यसलाई दुई भागमा बुझ्न सकिन्छ । जुन यसप्रकार छन् : भौतिक संस्कृति, अभौतिक संस्कृति ।
भौतिक रुपमा सिर्जना भएका वा गरिएका सांस्कृतिक तत्वलाई जनाउँछ । यसलाई देखेर, छुएर बुझ्न सकिन्छ । जस्तैः खाने, लगाउने वस्तु, मेशिन, उपकरण, हातहतियार, घर, मन्दिर, मूर्ति, गाडी लगायतका मानिसलाई चाहिने सम्पूर्ण देखिने वस्तुहरू भौतिक संस्कृतिमा पर्दछन् । यी सांस्कृतिक तत्वले मानवको आवश्यकताको परिपूर्ति गर्दछ ।
अभौतिक संस्कृतिलाई भावनात्मक, आदर्शात्मक तथा अमुर्त सांस्कृतिक तत्वहरूको समग्रताको रुपमा लिन सकिन्छ । यस्ता संस्कृतिलाई देख्न र छुन सकिन्न । जस्तैः मूल्यमान्यता, परम्परा, रीतिरिवाज, नाता, सम्बन्ध, धर्म, विचार, दर्शन, ज्ञान, साहित्य, भाषा यी कुराहरूलाई अभौतिक सांस्कृतिक रुपमा बुझ्न सकिन्छ । समाजको व्यवस्थामा यी कुराहरूको निकै महŒव रहेको हुन्छ । समाजमा के गर्न हुने र के गर्न नहुने भन्ने कुराको मान्यताको विकास र निरन्तरता अभौतिक संस्कृतिको भूमिकामा रहेको हुन्छ । यसरी यी दुबै प्रकारका संस्कृतिबाट परिस्कृत समय र समाज बन्दछ । संस्कृतिको विशेषताहरूलाई पनि यस प्रकार उल्लेख गर्न सकिन्छ :
संस्कृति अनुकूल हुन्छ :
अनुकूलतामा नै संस्कृतिको निर्माण हुन्छ । हामीले देखेका स्वरुपहरू ती सबै अनुकुलका परिणामहरू हुन् ।
संस्कृति आर्जित हुन्छ :
सामाजिक सांस्कृतिक अन्तरक्रिया पछि संस्कृतिमा नयाँ आयाम, अथवा ढाँचा वा तरिका विकसित हुने गर्दछन् । मानिसमा रहेको बुद्धि र विवेकले आफ्नो भाषाका कारण स्वयम्लाई अनुकूल हुनेगरी संस्कृतिलाई अंगाल्दछ । त्यसैले यो आर्जित हुन्छ ।
संस्कृति सिकेर आउँछ :
एक समूहले अर्को समूहलाई वा एक व्यक्तिले अर्को व्यक्तिलाई अनुशरण गर्ने वा सामाजीकरणका माध्यमबाट सिक्ने गरिन्छ । त्यसैले संस्कृति सिकेर गरिने व्यवहार हो भन्न सकिन्छ ।
संस्कृति प्रतिकात्मक हुन्छ :
भिन्न–भिन्न संस्कृतिमा भिन्न–भिन्न पहिचान हुन्छ । जस्तै हिन्दू महिलाले सिन्दुर लगाउनु, हिन्दू पुरुषले जनै लगाउनु र टुप्पी पाल्नु, मुस्लिमले दाह्री पाल्नु, बौद्ध भिक्षुले कपाल काट्नु (मुण्डन गर्नु), जैनिजले खाली खुट्टा हिँड्नु । यस्तै भिन्न धर्म, व्यवहार केही न केही फरक प्रतिकहरू हुन्छन् । यसरी फरक पहिचानले फरक संस्कृतिको परिचय दिएको हुन्छ । यसकारण संस्कृति प्रतिकात्मक हुन्छ भन्न सकिन्छ ।
संस्कृति गतिशील हुन्छ :
मानिसको आवश्यकताको लागि विभिन्न व्यवहारहरू गरिन्छन् । आदिमकालदेखि अहिलेसम्म आइपुग्दा धेरै परिवर्तनहरू भएका छन् । नेपाली समाजमा जात व्यवस्था, कट्टर धार्मिक मान्यता, सति प्रथा, नातागोता, सम्बन्ध, विवाह जस्ता कुराहरूमा परिवर्तन भएको छ । यो गतिशीलको कारण नै हो ।
संस्कृति बहु दृष्टिकोणको हुन्छ :
संस्कृति निश्चित हुन्न । यो बहुरुपमा हुन्छ । त्यसैले यो एकभन्दा बढी हुन्छ । फरक–फरक मानवको आवश्यकता, फरक–फरक स्वभाव, क्षमता र रचनात्मकताका कारण बहुसंस्कृतिको निर्माण हुन्छ ।
संस्कृतिले व्यक्तित्वको निर्माण गर्दछ :
व्यक्ति जब परिवारमा आउँछ, तब परिवार वा समुदायबाट सिंगो जीवनका लागि गर्न हुने र गर्न नहुने कुराहरूको व्यक्तिमा सिकाइ हुन्छ । संस्कृतिमा रहेका गुणहरू व्यक्तिमा अन्तर्निहित भएकोले संस्कृतिलाई व्यक्तित्व निर्माणको महत्वपूर्ण कडीको रुपमा लिन सकिन्छ ।
संस्कृतिलाई भाषा चाहिन्छ :
सांस्कृतिक गुणहरूलाई सिक्न, अनुकरण गर्न र अभिव्यक्त गर्न भाषाको जरुरी पर्दछ । विचारको विनिमय भाषा हो । एउटा संस्कृति अर्को संस्कृतिमा हस्तान्तरण हुन पनि भाषा नै चाहिन्छ । भाषा बिना संस्कृतिको निर्माण वा हस्तान्तरण हुन असम्भव छ । त्यसैले भाषा संस्कृतिको लागि महत्वपूर्ण छ र आवश्यकता पनि छ ।
संस्कृतिमा आदर्श छ :
मानिसमा विवेक, अनुशासन र मर्यादा हुन्छ । यी कुराहरू मानिसमा सांस्कृतिक गुणले नियन्त्रण र निर्देशन गरिरहेको हुन्छ । संस्कृतिलाई आदर्श मानेर व्यक्तिका हरेक अभ्यास र व्यवहारहरू अगाडि बढिरहेको हुन्छ ।
संस्कृतिले मानवीय आवश्यकतालाई पूरा गर्छ :
संस्कृति मानवीय जीवन प्रणालीको शैली भएकोले भौतिक वा अध्यात्मिक आवश्यकताहरूको पूर्ति गर्ने कार्य गर्दछ । यही आवश्यकताहरूलाई पूरा गर्नका लागि संस्कृतिको उत्पत्ति र विकास भएको देखिन्छ ।
संस्कृतिमा निरन्तरता हुन्छ :
संस्कृतिमा निश्चित मान्यता र दृष्टिकोणहरूले गर्दा हरेक व्यक्तिले यसलाई आत्मसाथ गरेको हुन्छ । अघोषित रुपमा एकले अर्कोलाई सिकाउने, देखाउने वा अर्कोबाट अनुशरण गर्ने कार्यले निरन्तरता पाइरहेको हुन्छ ।
आधुनिक युगमा संस्कृतिको उपयोग :
संस्कृति आदिमकालदेखि अहिलेसम्म जसरी विकास हँुदै आएको छ, त्यसरी नै यसलाई सही रुपमा प्रयोग गर्नुपर्छ । संस्कृतिको विशेषतालाई विचार र मनन नगर्दा मानिसमा एकअर्काप्रति राग, द्वेषले पीडित भई संस्कृतिलाई आलोचना गर्ने र विभेद गर्ने मनोवृत्तिको विकास हुने गरेको हुन्छ । संस्कृति सबैका लागि बराबर महŒवपूर्ण हुन्छन् । त्यसैले हरेकले हरेक समुदायको संस्कृतिप्रति सम्मान गर्नु आवश्यक छ । संस्कृति आफैंमा खराब वा असल हुँदैन । यो त केबल व्यक्तिको दृष्टिकोण फरक हो । त्यसैले आ–आफ्नो दृष्टिकोणलाई घृणा र विभेदबाट अलग राख्ने हो भने हरेक संस्कृति अशल नै असल हुन जान्छ ।
हिन्दू महिलाले सिन्दुर लगाउनुमा आफ्नै मूल्यमान्यता छ । यसलाई अनेकौं दृष्टिकोणले विरोध गर्नु कुनै अर्थ नै छैन । त्यस्तै मुस्लिम महिलाहरूले कुर्ता–सरवाल र बुर्का लगाउनु शुरुदेखि चलिआएको मान्यता हो । बुर्काको सट्टा घुम्टो नै ओढ्नुपर्छ भन्ने दबाव वा विरोधको आवश्यकता नै छैन । मन पर्दै जाँदा वा अनुकूल हँुदै जाँदा कुर्ता–सरवाल हिन्दू महिलाहरूमा समेत व्यापक अनुशरण र प्रयोग भएकै देखिन्छ । त्यसैले संस्कृतिको विरोध र विभेद गर्नु कुनै तुक नै छैन । त्यसैगरी जाति विशेषको अभ्यासलाई पनि आरिश गर्नु वा खिशिटिउरी गर्नु पनि बेकारका कुरा मात्र हुन् । संस्कृति सबैका लागि सम्मान र समान हुन्छन् । संस्कृति सबैका लागि इज्जत हो । एक समुदायले अर्को समुदायको संस्कृतिको इज्जत र सम्मान गर्न सकिएमा समाजको विकास हुन्छ । एकअर्काको संस्कृतिको सम्मान गर्न नसक्ने कारणले धार्मिक द्वन्द्व गर्ने, विभेद गर्ने, अहंकार देखाउने जस्ता कमजोर विचारहरूबाट समुदाय वा व्यक्तिहरू स्वयम् पीडित भएका हुन्छन् ।
हिन्दूले बौद्धको विरोध गर्नु, बौद्धले हिन्दूको विरोध गर्नु, क्रिश्चियनले मुस्लिमको विरोध र मुस्लिमले क्रिश्चियन लगायत अन्यको विरोध गर्नु कमजोर बुद्धिमता मात्र हो । मानव समाजले सृजना गरेका यी संस्कृतिहरू एकअर्काका लागि अनुशरण गर्ने नभए पनि आ–आफ्ना मानवीय मूल्यमान्यता भने हुन् । त्यसैले हरेकले यसलाई सम्मान र इज्जत समानरुपमा दिन सक्ने क्षमताको विकास गर्नु जरुरी छ । संस्कृतिलाई सम्मान र इज्जत गर्न नसक्नु भनेको मानिसमा गाडिएर रहेको अन्धविश्वास हो । संस्कृतिको विशेषतालाई वास्ता नगर्ने व्यक्ति शिक्षित भएर पनि अशिक्षित भए जतिकै मूर्ख हो ।
धार्मिक संस्कृतिको सन्दर्भमा कुरा गर्दा संसारमा जति पनि धर्महरू छन् ती संस्कृतिको रुपमा विकास भएको पाइन्छ । धर्म मूर्ख व्यक्तिबाट शुरु भएको हुँदैन । धर्म धेरै विद्वान वा ज्ञानी व्यक्तिबाट शुरुवात भएको पाइन्छ । धार्मिक संस्कृतिले सबैलाई ज्ञानी बनाउने उद्देश्य बोकेको हुन्छ । त्यसैले एकले अर्को धर्मको खैरो खन्नु निरर्थक हो । संस्कृति विभेदकारी हुँदैन, तर अभ्यास गर्ने व्यक्ति विभेदी हुन सक्छ । त्यसकारण संस्कृतिलाई बुझ्ने गरेका व्यक्तिहरू बीच कहिले विवाद र द्वन्द्व हँुदैन । पृथ्वीमा बस्ने मनुष्यहरूबाट निर्माण भएको सम्पूर्ण संस्कृतिहरू मनुष्यका लागि हितकारी दृष्टिकोणबाट मनुष्यहरूले नै हेर्नु आवश्यक छ । यसमा नै सम्पूर्ण मानवको भलो छ ।
संस्कृतिहरू मनुष्यद्वारा दुई प्रकारमा निर्माण भएको देखिन्छ । एउटा सकारात्मक संस्कृति जुन मानवको लागि हितकारी हुन्छ । अर्को नकारात्मक संस्कृति हुन्छ, जुन मानवको लागि हानिकारक हुन्छ । असल र कल्याणकारी सोच र अभ्यासहरू सकारात्मक संस्कृति हुन् भने लोभ, मोह, अहंकार, राग र द्वेष जस्ता अभ्यासहरू नकारात्मक संस्कृति हुन् । संस्कृतिमा सुधार र परिवर्तन गर्न सकिन्छ भन्ने स्वभावले गर्दा नकारात्मक संस्कृतिलाई सुधार गरेर सकारात्मक संस्कृतिको निर्माण गर्न सकिन्छ । त्यसकारण हरेक मनुष्यले सुधार र परिवर्तन गर्न चाहनु पनि पर्छ । अहिलेको आधुनिक समाजिक विकासका लागि सुधार गरिएको संस्कृतिको महत्वपूर्ण आवश्यकता रहेको छ ।