कालो सुनको उपमा पाएको अलैंची पूर्वी नेपालका किसानको आम्दानीको मुख्य स्रोत हो । पूर्वाञ्चलका केही पहाडी जिल्लाबाट उत्पादन शुरु भएको अलैंची पछिल्लो समय देशका चालीस जिल्लामा विस्तार भइसकेको छ । खेतीयोग्य जग्गाको चौध हजार दुई सय छ हेक्टर क्षेत्रफलमा रहेको अलैंची खेतीमध्ये एघार हजार छ सय हेक्टर क्षेत्र अहिले उत्पादनशील रहेको अनुमान गरिएको छ । अलैंचीलाई नगदी बाली पनि भनिन्छ र यसको मुख्य बजार भारत हो । राम्रो मूल्य पाइने भएका कारण किसानको आकर्षण रहेको अलैंचीमा समय–समयमा रोग लाग्ने कारणले किसानले अपेक्षित लाभ लिन सकेका छैनन् ।
पूर्वी नेपालको प्रमुख नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयले आर्थिक वर्ष ०८१–०८२ मा तीन अर्ब पैंतालीस करोड त्रिसठ्ठी लाख सड्चालीस हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको जनाएको छ । नेपालमा उत्पादित करिब पौने एक्काइस लाख किलो अलैंची निर्यात हुँदा उक्त कारोबार भएको भन्सारले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ । तर, मूल्यमा भइरहने अस्थिरता, रोगको प्रकोप, जलवायु परिवर्तनको असर जस्ता कारणले किसानहरु त्यति उत्साहित छैनन् । बजार स्थिर नभएकै कारण अलैंची खेतीप्रति आकर्षित किसान निराश हुन थालेका छन् त कतिले खेती गर्नै छाडेका छन् । यस बाहेक अलैंची खेतीमा लाग्ने रोगका बारेमा किसानलाई पर्याप्त ज्ञान नहुँदा र सरकारले पनि त्यस अनुसारका प्राविधिकको व्यवस्था गर्न नसक्दा यसको व्यवसायिकतामा असर गरिरहेको छ । त्यसैगरी भारतमाथिको बजारको निर्भरताको विकल्प नखोजिनु, यसका बारेमा आवश्यक अध्ययन–अनुसन्धान नहुनुको पनि अलैंची खेती क्रमशः घट्दै गएको किसानको भनाइ छ ।
अलैंचीको प्रमुख बजार भारतले आफ्नो उत्पादन घटेको अवस्थामा मात्र नेपाली अलैंचीको मूल्य बढ्ने गरेको छ । बजार स्थिर नभएकै कारण उत्पादन घट्दै गएको छ । त्यसमाथि कीराको प्रकोप, प्राविधिक सेवाको न्यूनता, कमसल बीऊ, वित्तीय पहुँचमा कठिनाइ जस्ता चुनौती किसानका लागि बाधक बनिरहेको छ । परम्परागत खेती प्रणाली, भट्टीले पनि अलैंचीको गुणस्तरमा प्रभाव पारेको छ । त्यसैले अलैंचीलाई किसान र देशको आम्दानीको मुख्य माध्यम बनाउने हो भने उत्पादन वृद्धि, गुणस्तर र आवश्यक प्रविधि सहज बनाउनु पर्दछ । यसका लागि सरकारकै भूमिका अनिवार्य हुन्छ र तेस्रो मुलुकमा निर्यात गर्ने पहल पनि उसैले गर्नुपर्छ । इलामका किसानको जस्तै पीडा भोगिरहेका समग्र अलैंची किसानका समस्यामा सरकारले उदासीन हुन पाउँदैन । त्यसका लागि विद्यमान समस्या र चुनौतीको समाधान गर्ने पक्षमा ध्यान दिनुपर्छ । त्यसो भएमात्र कालो सुनबाट देशले पनि राम्रो लाभ लिन सक्छ ।